विकास दुबे नेपालमा लुकेको दाबी, शिवसेनाले भन्यो – ‘नेपालको दाउद इब्राहिम नबनुन्’
काठमाडौं। भारतको राजनैतिक दल शिवसेनाले ८ जना प्रहरीको हत्या गरेर फरार अभियुक्त विकास दुबे नेपालमा लुकेको दावी गरेको छ । उसले उत्तर प्रदेश सरकारको तीन वर्ष पुरानो इन्काउन्टर लिस्टमा विकास दुबेको नाम नभएको भन्दै दुबे नेपालमा लुकेर नेपालको दाउद इब्राहिम बन्न लागेको बताएको छ । शिवसेनाको मुखपत्र सामनाले आफ्नो सम्पादकीयमा यस्तै गुण्डा र उनीहरुको अपराधको कारण उत्तर प्रदेशजस्ता राज्य दशकौंदेखि बदनाम भएको आरोप लगाएको छ ।
सामनाका संस्थापक सम्पादक बाल ठाकरे र सम्पादक उद्धव ठाकरेकी पत्नी रश्मी हुन् । सामनाले अहिलेका मुख्यमन्त्री योगी आदित्यनाथले उत्तर प्रदेशमा गुण्डागर्दी अन्त्य गरेको दावी कैयौं पटक गरेको भए पनि कानपुर पुलिस हत्याकाण्डले यी दावीमा गम्भीर प्रश्न उठाएको बताएको छ । उत्तर प्रदेश पुलिसले विकासका एक साथीलाई पक्राउ गरेको छ तर विकास फरार छन् । २ जुलाइमा विकासको ग्याङले ८ पुलिसकर्मीको हत्या गरेको थियो । यो घटनामा पुलिसबाटै विकासलाई सूचना दिइएको पनि आशंका गरिएको छ ।
विकास दुबे नेपाल फरार भएको आशंकापछि त्यहाँको पुलिसले नेपालसँगको सीमा सील गरेको डिएनए इण्डियाले जनाएको छ । सामनाले भनेको छ ‘अहिले नेपालसँग हाम्रो सम्बन्ध सुमधुर पनि छैन । यस्तो परिप्रेक्ष्यमा विकास हाम्रो लागि नेपालको दाउद नबनोस् ।’ दाउद इब्राहिम भारतमा मोस्ट वान्टेडको सूचीमा छन् । उनी पाकिस्तानमा रहेको भारतले दावी गर्छ तर पाकिस्तानले अस्वीकार गर्दै आएको छ । यही पृष्ठभूमिमा शिवसेनाले विकास दुवेले पनि दाउदले जस्तै नेपालमा बसेर भारतमा अपराध गर्न सक्ने आशंका व्यक्त गरेको हो ।
Facebook Comment