कोरोनाभाइरसले मरेका भारतीयलाई सरकारको पशुवत व्यवहार, भिडियो बन्यो भाइरल

डिसी नेपाल
२३ असार २०७७ ९:१८

काठमाडौं। कोरोनाभाइरसका कारण मृत्यु भएका भारतीय नागरिकको शवमाथि पशुवत व्यवहार भएको खुलासा भएको छ । कर्नाटक राज्यको एउटा भिडियो भाइरल भएपछि यसको खुलासा भएको हो । सामाजिक संजालमा भाइरल भएको भिडियोमा पीपीइ किट लगाएका केही व्यक्तिहरुले शवलाई फोहर राख्ने प्लास्टिकमा पोको पारेर घिसार्दै गहिलो खाल्डोमा फ्याँकेको देख्न सकिन्छ । भाइरल भइरहेको भिडियो चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आफ्नो पेजमा शेयर गरेको छ ।

यो भिडियो सही भएको पुष्टि भएपछि कर्नाटक सरकारले ती मृतकका आफन्तसँग माफी मागेको बीबीसीले जनाएको छ । राज्यको बलेरी जिल्लाका अधिकारीहरुले यो भिडियो वास्तविक भएको पुष्टि गर्दै परिवारसँग माफी मागेका हुन् । यी शवहरु केही दिनअघि कोरोनाभाइरसका कारण मृत्यु भएका ८ जना बिरामीको भएको बताइएको छ । कर्नाटकमा मात्र कोभिड–१९ का कारण २४६ जनाको मृत्यु भएको छ ।

‘हामीले मृतकका परिवारलाई माफीनामा पत्र पठाएका छौं । यो घटनाले हामी मर्माहत भएका छौं र हामी माफी चाहन्छौं । यसरी शव गाडिएकोप्रति हाम्रो आपत्ति छ । ती शवसँग मानवीय व्यवहार गरिनुपर्थ्यो’ बरिष्ठ जिल्ला अधिकारी एसएस नकुलले बीबीसी हिन्दीका इमरान कुरेशीसँग भने । नकुलका अनुसार भिडियोमा देखिएका व्यक्तिहरु जिम्मेवारबिाट हटाइएका छन् । उनीहरुको ठाउँमा नयाँ टिमलाई जिम्मेवारी दिइएको छ जसले मानवीय तवरले शव व्यवस्थापन गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *