अमेरिकाले ठूलो संख्यामा विदेशी विद्यार्थीलाई देशबाट निकाल्दै, नेपाली विद्यार्थी पनि निकालिने
काठमाडौं। अमेरिकाले ठूलो संख्यामा विदेशी विद्यार्थीहरुलाई देशबाट निकाल्ने भएको छ । यसरी निकालिनेमा नेपाली विद्यार्थीहरु पनि छन् । अमेरिकामा अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरुको कक्षा विश्वविद्यालयले पूर्ण रुपमा अनलाइन बनाएको भए ती विद्यार्थीहरुले अमेरिका छाड्नुपर्नेछ । उनीहरुले आफैं उपस्थित भएर कक्षा लिनुपर्ने ‘इन पर्सन ट्युसन’ कक्षा अध्ययन गर्न थालेको अवस्थामा भने मेरिकाको भिसा पाउनेछन् ।
बीबीसीका अनुसार अमेरिकाको इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट एजेन्सीले ठूलो संख्यामा विद्यार्थीहरु डिपोर्ट हुन सक्ने जनाएको छ । अहिले अमेरिकाका कैयौं विश्वविद्यालयले कोरोनाभाइरसका कारण सबै कक्षाहरु अनलाइन संचालन गरिरहेका छन् । कति संख्यामा विद्यार्थीहरु प्रभावित हुन्छन् भन्ने अहिलेसम्म स्पष्ट भएको छैन । अमेरिकामा ठूलो संख्यामा विदेशी विद्यार्थीहरु अध्ययनका लागि जाने गर्छन् ।
हार्वर्ड विश्वविद्यालयले विश्वविद्यालयमै बस्नेसहित सबै विद्यार्थीहरुको कक्षा अनलाइनमार्फत हुने घोषणा गरिसकेको छ । जसको अर्थ हार्वर्डका विदेशी विद्यार्थीको भिसा अब रद्द हुनेछ । सोमबारको घोषणासँगै अब अनलाइनबाट मात्र कक्षा लिने र अर्को कुनै इन पर्सन कोर्समा भर्ना हुन नसक्ने विद्यार्थीहरुलाई डिपोर्ट गर्न सकिनेछ । यो नियम एफ वन र एम वन भिसाधारकहरुलाई लागू हुनेछ ।
Facebook Comment