असार मसान्तभित्रै मौद्रिक नीति नआए मुलुक आर्थिक संकटमा फस्छ : महासंघ

डिसी नेपाल
२४ असार २०७७ १८:०८

काठमाडौं। नेपाल उद्योग बाणिज्य महासंघले मौद्रिक नीति असार मसान्तभित्र नै नआए मुलुक आर्थिक संकटमा फस्ने बताएको छ। नेपाल राष्ट्र बैंकले दिएको समयसीमा असार मसान्तमा सकिने भएकोले सो अगावै मौद्रिक नीति मार्फत निजी क्षेत्रको समस्या समाधान गरिनुपर्ने आग्रह गरेका हुन्।

महासंघले बुधबार प्रेस विज्ञप्ति जारी गरी समयमा नै मौद्रिक नीति ल्याएर उद्योगी व्यवसायीहरुलाई जोगाउनुपर्ने भन्दै यदी असार मसान्तभित्र मौद्रिक नीति नआएमा व्यापारीहरुले बैंकको किस्ता र सावाँ तिर्न नसकी बैंकको खराव कर्जा बढ्ने र यसले समग्र अर्थतन्त्रमा नै नकारात्मक प्रभाव पार्ने जनाएको छ।

महासंघले मौद्रिक नीति असार मसान्त भित्रमा आएको खण्डमा उद्योगी व्यवसायीको ऋणको बारेमा ट्ंगो लाग्ने र व्यवसायीहरुले आफ्नो हिसावले काम गर्न पाउने भन्दै महासंघले असार मसान्तभित्र नै मौद्रिक नीति ल्याउन माग गरेको हो ।

असार मसान्तभित्र सावाँ र व्याजको भुक्तानी गर्नुपर्ने अवधि सकिने र बैंकहरुले सावा र व्याज भुक्तानीको लागि दवाव दिन सुरु गरेकोले अर्थतन्त्र पुर्णरुपमा चलायमान नहुन्जेल सावाँ र व्याजको भुक्तानीको समयावधि बढाउने व्यवस्था मौद्रिक नीति मार्फत गर्न महासंघले माग गरेको हो। त्यस्तै, महासंघले राष्ट्र बैंकसँग ब्याजलाई पूँजीकरण गरी कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण गर्न माग गरेको छ।

महासंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आजको जटिल परिस्थितिलाई मनन गरी उद्योग व्यवसाय बचाउने तर्फ नेपाल सरकार र राष्ट्र बैंकबाट उचित पहल नहुने हो भने कुनै पनि समय अर्थतन्त्र गम्भीर संकटमा फस्ने छ।’

महासंघले चेतावनीपूर्ण भाषामा भनेको छ, ‘यदी राष्ट्र बैंकले समयमा नै उचित सम्बोधन नगर्ने हो भने मुलुक थप भयावहको स्थितितर्फ जान सक्छ।’

सरकारले गत असार १ गतेबाट लकडाउन केही खुकुलो बनाएपनि पुर्ण रुपमा लकडाउन खुलेको छैन जसका कारण उद्योग व्यवसाय पुर्ण रुपमा सन्चानमा आउन सकेका छैनन् भने सार्वजनिक यातायात चल्न सकेका छैनन् भने हजारौं ऋणीहरु असार मसान्तसम्ममा ऋण कसरी तिर्ने भनेर चिन्तित छन्।

महासंघका अनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिई उद्योग व्यवसाय संचालन गरीरहेका साना ठूला सबै तहका उद्योगी व्यवसायीहरू गम्भीर संकटमा रहेको छ। अर्थतन्त्र चलायमान हुन नसक्दा साना ठूला सबै तहका उद्योगी व्यवसायी, काम गरेर खाने श्रमिक कामदारहरू लगायत आम जनताको दैनिक जीवनयापन समेत अत्यन्त कठिन बन्दै गएको छ।

‘बैंकहरुले बारम्बार कर्जाको सावाँ व्याज तिर्न दिएको दवावबाट अर्थतन्त्रलाई बलियो बनाउन अहोरात्र खट्ने उद्योग व्यवसाय क्षेत्र थप प्रताडित भएको छ, साथै पेशा व्यवसायबाटै पलायन हुने डरलाग्दो परिस्थिति निर्माण भैरहेको छ।’ महासंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *