एउटा विदेशी आउँदा अर्कोले गर्ने जासुसी र नेपालको कुटनीतिक भद्रगोल

डिसी नेपाल
२५ असार २०७७ ११:५५

म स्वयंले राष्ट्र सेवामा रहँदा विदेशी कुटनीतिज्ञलाई एस्कर्ट गरेर धेरैपटक राष्ट्राध्यक्ष र सरकार प्रमुुखकोमा कुटनीतिक भेटघाट गर्न पुर्याएँ। एकदिन एउटा देशको कुटनीतिज्ञ बालुवाटार पुर्याउँदा अर्को देशको सुराकी चप्पल लगाएर कफीको सीप लिँदै प्रतिक्षारत देखेँ नजिकको अर्को कक्षमा।

धेरै सतर्क र सावधानीका साथ मैले त्यो मान्छेलाई त्यहाँबाट हटाउन लगाएँ। सुरक्षाकर्मीहरुले इ्शारा बुझे र त्यो सुराकीलाई हटाए। पंक्तिकारले त्यो सुराकीलाई मूलगेट कटाएरमात्र प्रधानमन्त्रीलाई ल्याउन आग्रह गरें। किनभने पंक्तिकारले लगेको डेलिगेसन आफैं ज्यादै संबेदनशील व्यक्तित्व र ईण्टेलिजेन्सका प्रमुख हुनुहुन्थ्यो।

यो एउटा विदेशी हस्तक्षेपको चरम लापरवाहीको उदाहरण मात्र पेश गरेको हुँ। यो भन्दा बढी पाण्डुराको बक्स खोल्न चाहन्न। तर, किन राजदूत हाम्रा भिभिआईपि.का चुल्हा चौकामा पुग्दछन्। नाईट् ड्रेस र चप्पलमा सरकार प्रमुखको सयन कक्षमा पुग्दछन्। त्यो सुबिधा र छुट दिने हाम्रा प्रजातन्त्रका धरोहरहरुलाई स्याबासी दिने कि दुत्कार्ने?

नेपाली सेनाको कडा नियम कानून र आचारसंहिताले सैनिक व्यक्तिलाई राजनीतिज्ञसंग भेटघाट गर्न, परामर्श गर्न, कानेखुशी गर्न, उठबस गर्र्न पाइँदैन। बिदेशीसँग भेटघाट र उठबस गर्न पाइँदैन। बिना अनुमति दशगजा काटेर जोगमनी, रुपैडिया जान मिल्दैन। अनुमतिबिना शुभ बिबाह गर्न पाइँदैन। नपाउने सुबिधा पाएपछि सैनिकको बिवाह गर्दा भुईँमा खुट्टा हुँदैन प्रायः सैनिकका श्रीमती औधी मायाँ पाउने भाग्यमानी हुन्छन्।

शान्तिसेना, तालिम, अभ्यास, खेलकूदमा बिदेश जाँदा सैनिक सबैभन्दा धेरै हर्षित्, हंसमुहार, जाँगरिलो, मिलनसार र मायालु भएर प्रस्तुत हुन्छन्। बाँधेर राखेको मन फुकुवा हुँदाको मनोविज्ञान हो त्यो। सैनिक ऐनले र आचारसंहिताले नबाँधेको भए नेपाली सेना अहिले पूर्णतः राजनीतिकरण भइसक्ने थियो । एनजिओ भइसक्ने थियो।

प्रसंग चीनको राजदूतको हालैको दौडधुपको हो। त्यो रमाइलो दौडधुपले बताउँदथ्यो– ‘चीन सुतेको बाघ होइन। चीन पहिला जस्तो निन्द्रामा छैन।’ विश्व शक्तिको दाबेदार चीनको भिजन, अध्ययन, अनुसन्धान, ईण्टेलिजेन्स, मार इलाका सबै व्यापक बढेको सबुत् प्रमाण हो राजदूतको हिजो आजको सक्रियता।

उहिलेदेखि आजसम्म भारतका राजदूतको हुकुमी आदेश मुल्तबी गर्दै आएका हुन् हाम्रा पूर्वजहरुले। तर अहिले राजदूतहरुको गरिमा बढेको छ। हाम्रो कद घटेको छ। हामी आफै भुँईफुट्टा हुँदा उनीहरुको उचाई अग्लो देखिएको हो। रितिथिति बिगार्ने हामी। परम्परा तोड्ने हामी। ‘मंगले आफ्नै ढंगले’ कहावत् सिद्ध भएको छ नेपालको कुटनीतिमा।

त्यति छिटो त्यति धेरै खुलेयाम राजदूत दौडिने र राष्ट्रिय नेताहरुले रेड कार्पेट ओछ्याएर ‘नि हाउ मा’ भन्दै राजकीय सम्मान दिएर ‘त्वम शरणम्’ भनी कुटनैतिक मर्यादाविपरीत लम्पसार परेको देख्दा पूर्व प्रधानमन्त्रीहरु, परराष्ट्र मन्त्रीहरु, सचिवहरु, अरु देशका लागि नेपालका पूर्व राजदूतहरुलाई कति लाज लाग्यो लागेन वहाँहरुले जान्नुहोला। तर पंक्तिकारलाई कुरिकुरि लाज लाग्यो। शिर निहुरियो।

किनकि, देशका प्रधानमन्त्री भइसकेका वा मन्त्री भइसकेका नेताले विदेशीलाई भेट्दा निश्चित कुटनैतिक मर्यादाको पालना गर्नुपर्ने हुन्छ, परराष्ट्र मन्त्रालयका प्रतिनिधि त्यस्ता भेटमा अनिवार्य मानिन्छन्। यदि ती भेटमा विदेशीको कुत्सित स्वार्थ सिद्ध गर्ने गरी नियोजित गोप्त गर्न खोजिएको भए बेग्लै कुरा नत्र यस्तो भेट मुलुकको संस्थागत मेमोरीमा रहनुपर्छ।

राजदूत सक्रियता अध्ययनको अर्को पाटो पनि छ। भारत तिलमिलायो। अमेरिकाले चक्मा खायो । युरोपियनहरु अचम्मित भए। चीनको चुपचाप राजदूतको एक्कासी दौडधुप र ‘फु मन्तर बाचा’ शक्ति देखेर। तर चुँइक्क कोही बोलेन। किनभने हिजो अमेरिकाका राजदूत सक्रिय थिए।

उहिलेदेखि आजसम्म भारतका राजदूतको हुकुमी आदेश मुल्तबी गर्दै आएका हुन् हाम्रा पूर्वजहरुले। तर अहिले राजदूतहरुको गरिमा बढेको छ। हाम्रो कद घटेको छ। हामी आफै भुँईफुट्टा हुँदा उनीहरुको उचाई अग्लो देखिएको हो। रितिथिति बिगार्ने हामी। परम्परा तोड्ने हामी। ‘मंगले आफ्नै ढंगले’ कहावत् सिद्ध भएको छ नेपालको कुटनीतिमा।

सायद् चिनियाँ राजदूत हाम्रो घर झगडा मिलाउन दौडिएकी थिइन्। सायद् दुई तिहाईको सरकारको के गति हो यो भनेर दुखेसो पोखिरहेकी थिइन्। ‘नाम कम्युनिष्ट काम किच्चक’ भयो भनेर चीनको बदनाम भएको कुरा दोहोर्याइरहेकी थिइन्।

आफूलाई होइन पीडित जनतालाई हेर्न सुझाइरहेकी थिइन्। कुर्सी र पैसाभन्दा जनता र मातृभूमि ठूलो हो भनेर पाठ पढाइरहेकी थिइन्। के लाईभन्दा देख्नेलाई लाज भयो भनेर जग नहसाउन भन्दै थिइन् सायद। स्थिरता, स्थायित्व र शान्तिको लागि पुकारिरहेकी थिइन् होला शायद। के भनिन् उनले त्यो कसैले मुख खोलेनन् सकेसम्म सबैले गोप्य नै राखेका छन्।

अर्कोतिर भारतीय एजेण्टहरुको राजधानीमा विगविगी भएको सार्वजानिक भएको छ। ती यो सत्ता हटाउन आएका भनिएका छन् भने चिनियाँ राजदूत यो सत्ता जोगाइदिन दौडेको भनिएकी छिन्।

कतिपय राजदूतहरु दौडिन छाडे। टाउको दुखाउन छाडे। भालुलाई पुराण सुनाउन छाडे। नाइट ड्रेसमा बेडरुम अथवा सयनकक्ष र मसाजरुमबाट फोनले झट्टु दिन र आदेश गिराउन सहज मान्दछन् यो बिचित्रको प्रजातन्त्रमा। अहिले त बिचौलिया र दलालहरुको तँछाड् मछाड् छ खबर ल्याउने पुर्याउने कामको लागि।

कुटनीतिक आचारसंहिता नभएको अनौठो अनुपम् स्वतन्त्र देश नेपाल। बहादुर स्वाभिमानी नेपाली जनतालाई असीम माया“, सद्भाव, सहयोग दर्शाउने तर भुँईफुट्टा शासकवर्ग, नेतृत्ववर्ग, प्रशासनिक संयन्त्रसँग हैरान व्यहोरेका राजदूतहरु।

नेपाली सेनाबाट सिक्ने कि सिकाउने
प्रजातन्त्र आउँदाको उत्साह, खुशी, आश्वासन र आशा रहरलाग्दो थियो। प्रजातन्त्रका दुहाई दिने मास्टरसाबहरुको लर्को लाग्यो जंगी अड्डामा। उनीहरु भन्दथे–‘सेना लोकतान्त्रिकरण हुनुपर्यो। समाबेशीकरण हुनुपर्यो। निजामति प्रशासनको कमाण्डमा चल्नुपर्यो।’

पंक्तिकारको जोडदार अनुरोध छ, ‘नेपाली सेनाबाट ती मास्टरसाहेबहरुले केहि कुरा सिक्ने हो कि । ‘सिक्न लाज नमान्नु’ भन्ने बृद्धहरुको कहावत् मनन् गर्ने हो कि।’

हरेक राजदूतहरुको जंगी अड्डामा औपचारिक भ्रमण भइरहन्छ। त्यसको जानकारी जंगी अड्डाको चेन अफ कमाण्डलाई हुन्छ। जंगी अड्डाको चेन अफ कमाण्ड पहिला राजदरबार थियो। अहिले तीन वटा हाँगामा फैलिएर जटिल र कठिन भएको छ, रक्षा मन्त्रालय, बालुवाटार र शितलनिवास।

जंगी अड्डाको भ्रमण कति अनुशासित, मर्यादित, गर्विलो र शिष्टाचारयुक्त हुन्छ एकपटक सम्बन्धितहरु सबैले सिकिदिए राज्य लाभान्वित हुने थियो।

कोही बहकिएर, सन्केर, हौसिएर, रौसिएर, हतारिएर राजदूत जंगी अड्डा आउन पाउँदैनन्। दूरदराजको ब्यारेकमा पानी प्यास मेटाउन जान पाउँदैनन्। पोष्टमा पसेर सौच गर्न पाउँदैनन्।

पूर्व समन्वय र अनुमति नहुँदा रक्षा मन्त्रीलाई पंक्तिकारले शौचालय प्रयोगको निमित्त ब्यारेक प्रबेश गराउन सकिन। गुहार गुहार भनेर रुँदा कराउँदा समेत ब्यारेकले मूलगेटको ताला खोलेन। त्यही कठिनाइ दोहो¥याइ भयो बिकट हिमालको पत्र भित्र भएको राजदूतको भ्रमणमा।

नेपाली सेनाले सैनिक ऐन, परम्परा र आदेशको कडा पालना गरेर जोगाएको हो त्यो गौरबमय संस्था। अन्यथा नेपाली सेनालाई उत्ताउलो राजनीति र बिकृत कुरुपे प्रजातन्त्रको खहरेले बगाइसकेको हुने थियो उहिले। एकपटक ४६–५६ को दशकमा र अर्को पटक २०६३ को गणतान्त्रिक भेलबाढीमा।

राजदूत ह्याण्डेलिङ, अनुगमन र नियन्त्रणको महत्वपूर्ण र सम्बेदनशील जिम्मेवारी निर्वाह गर्न राज्यको जिम्मेवार संयन्त्रले भाँती पुर्याउँदैन, जान्दैन र सक्दैन भने बेलैमा नेपाली सेनालाई जिम्मा लगाए थप राष्ट्रिय अपमान बेइज्जती र बदनाम हुने छैन।

शीघ्र ड्यामेज कन्ट्रोल हुने छ र राष्ट्रिय कुटनीतिक महिमा बढ्नेछ। स्वास्थ्य सामग्री खरिद र आपूर्तिको कपटपूर्ण तथा षड्यन्त्रपूर्ण जिम्मेबारी दिन हुने कुटनीतिक संचालन जस्तो गौरवशाली र पारदर्शी काम दिन किन नहुने ?

छिनमा दरिद्रता र छिनमा गौरब बोध

दरिद्रता यो अर्थमा राजदूतसंग स्कूल, छात्रबृत्ति, एनजिओ, आर्थिक चन्दा, राहत र खुद्रा माग राखेको देख्दा पंक्तिकारलाई सुन्दर र धनी मुलुकका दरिद्र शासकहरु देखेर भोक निन्द्रा हराउँदथ्यो। राजदूतले उल्लेखनीय ठूलो जनहितको र दीर्घकालीन प्रोजेक्ट प्रश्ताब गर्दा शासकहरुले आफू र आफूनो परिवार हितको संकिर्ण माग तेर्साएको देख्दा झनै लाजले अत्तालिन्थें। आजपनि यथार्थ त्यहि हो –‘दरिद्रताको पराकाष्ठा’

राजदूत सक्रियता अध्ययनको अर्को पाटो पनि छ। भारत तिलमिलायो। अमेरिकाले चक्मा खायो । युरोपियनहरु अचम्मित भए। चीनको चुपचाप राजदूतको एक्कासी दौडधुप र ‘फु मन्तर बाचा’ शक्ति देखेर। तर चुँइक्क कोही बोलेन। किनभने हिजो अमेरिकाका राजदूत सक्रिय थिए।

तर जंगी अड्डा पुगेर राजदूतहरु प्रधानसेनापतिलाई सगौरव अफर गर्दथे–‘नेपाली सेनालाई हिरा, मोती, सुन, जहाज, ट्याङ्क, हतियार, क्षेप्यास्त्र के चाहियो? हाम्रो देश सेवाको लागि तयार छ । सबै प्रधानसेनापतिको एउटै जवाफ हुन्थ्यो-

‘महामहिम् ज्यू,
अफर र सदासयताको लागि धन्यबाद छ । नेपाली सेनालाई केही चाहिँदैन। महामहिमज्यूलाई बरु के चाहिन्छ? सगरमाथा, लुम्बिनी, पोखरा, जनकपुरधाम जानुहोला। एक सिंगे गैंडा र पाटेबाघ हेर्न नछुटाउनुहोला । अरु केही सेवा चाहिए हामी तयार छौं।’

बल्ल पंक्तिकारलाई गर्व बोध हुन्थ्यो। त्यसैले हामी पहिलो भिजिट राष्ट्रपति र प्रधानमन्त्रीकोमा होस् र अन्तिममा जंगी अड्डाको भ्रमण होस् भन्ने चाहन्थ्यौं। किनभने जंगी अड्डाको भ्रमणले कुटनीतिज्ञको तनाब हटाएर उहाँहरुलाई खुशी सुखी र गौरबशाली राख्न मद्धत गर्दथ्यो।

खोई बराबरीको हैसियत

चीनमा नेपालका राजदूतका गड्फादर एकजना डाईरेक्टर जनरल हुन्छन् र उनैले च्याम्पुटी घुमाउँदछन् । नेपाली राजदूतको हरेक हर्कत, क्रियाकलाप, बोली नियन्त्रित हुन्छ। करिब सैनिक अनुशासनमा झैं रहन्छन् राजदूत।

अर्को छिमेकी देश भारतमा जोईण्ट सेक्रेटरीसंग ‘त्वम शरणम्’ गरेर कामको गुजारा गर्ने हो हाम्रा राजदूतले। परराष्ट्र सचिव देख्दा एकजना मित्र राजदूत डर र पसिनाले निथ्रुक्क भिजेको देख्दा पंक्तिकारलाई लाग्यो बराबरी हैसियत कागजमा मात्र रहेछ। नेपाल आउने राजदूतहरु वनका बाघ जस्ता र स्वर्गीय आनन्द लिएर सगौरव मुलुक फिर्ता हुने।

अन्य मुलुकमा जाने नेपाली राजदूतहरु बाघ होइन घर बिरालो भएर बाकसमा थुनिएर बस्ने र १÷२ रुपैयाँले खुत्रुके भरेर मुसोजस्तो स्वदेश फर्किने। अझ आधुनिक राजदूतहरुले मौका पाए २ नम्बरी धन्दा समेत संचालन गरेर मुलुकको स्वाभिमान र अस्मिता बेचेर बदनाम भई फर्कने डर छ मातृभूमिलाई।

सुझाव

प्रथमतः चिनियाँ राष्ट्रपतिको सक्रियतासँग संसारले टाउको दुखाउन जरुरी छैन। किनभने, चीनले कहिल्यै भारत बिरोधी सल्लाह दिदैन। न अमेरिका र अरु बिरोधी ह्विस्परिङ नै गर्दछ। चीनले सदैब नेपाललाई भारतसँग असल सुमधुर सम्बन्ध र समन्वय राख भनेर खुल्लमखुल्ला सुझाव दिँदै आएको छ। अर्को प्रशंसनीय कुरा नेपालमा ज्यादै अनुशासन र कुटनीतिक मर्यादाको पालना गर्ने मध्ये चीनका राजदूत पनि एक हुन्।

बरु नेपालले किन बिआरआई स्वीकार र कार्यान्वयन गर्न ढिलाई गरिरहेको छ? लेण्डुपेहरुको त्यो गुह्य योजना रहस्यमय छ। ‘ब्याड् डेब्ट’ लाई ‘गुड डेब्ट वा फ्रि डेब्ट’ मा परिणत गर्ने कुटनीतिक कला कौशल प्रदर्शन गरेर बिआरआई शीघ्र स्वीकार र सदुपयोग गर्नु राष्ट्रिय हितमा हुने छ। लिपुलेकको धोकामा चीन एकदिन सच्चिनुपर्दछ।

दोश्रो, कुटनीतिक आचारसंहिता तर्जुमा गरेर लागू गर्न बिलम्ब नगरौं। कुटनीतिक मामलाको ह्याण्डेलिङ सिधै प्रधानमन्त्रीले गर्ने हो। अरुले जीउ जनङ्गे होइन। २/३ वर्षको लागि सैनिक सहयोगको बिकल्प बारे सोच्न र सेवा लिन परराष्ट्र मन्त्रालयमा अतिथि सेवा सेल खडा गरेर मर्यादा र संस्कारको थिति बसाउन र त्यसपछि फिर्ता पठाउन पनि सकिन्छ।

तेश्रो, बिदेशस्थित कुटनीतिक नियोग खाली राख्नु हुँदैन। राजनीतिक र भागबण्डाको नियुक्ति प्रचलन तुरुन्त रोकेर राष्ट्रिय हित र राष्ट्रिय सुरक्षालाई सर्वोपरी महत्व दिएर निस्वार्थ सेवा, योगदान र त्याग गर्ने योग्य सक्षम र बिद्वान कुटनीतिज्ञहरु चयन गर्नु पर्दछ।

पहिलेका राजदूतहरु गौरवशाली र गर्वयोग्य व्यक्तित्व थिए। राम्रा होइन हाम्रा र दलाल, बिचौलियाहरुले राजदूत पड्काएर मातृभूमिको बदनाम र धज्जी उडाउने बर्तमान प्रबृत्तिलाई तत्काल सुधार गर्नुपर्दछ।

चौथो, सरकार र नेतृत्वबर्ग मगन्ते भएर आफ्नो कद र वजन घटाउनु हुँदैन। कुटनीतिक मर्यादा उल्लङ्घन गर्ने र धर्म प्रचारप्रसार अथवा स्पाई गरेर अर्को मित्रराष्ट्रको खोइरो खन्ने र अहित गर्ने कुटनीतिज्ञहरुलाई १२ घण्टे नोटिस दिएर देश निकाला गर्न सक्ने शक्तिशाली पोजिसनमा सरकारको स्वाभिमानी अडान रहनुपर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *