सिन्धुपाल्चोकमा सडक अवरुद्ध, उद्धारमा कठिनाइ

डिसी नेपाल
२६ असार २०७७ १३:२१

चौतारा । अविरल वर्षासँगै आज बिहान आएको बाढी र पहिरोले भोटेकोशी गाउँपालिका– २ लार्चामा एक जना बेपत्ता र आठ घरमा क्षति पुगेको छ । भैरवकुण्ड खोलामा आएको बाढी र पहिरोले एक जना बेपत्ता भएको, तीन घर बगाएको र तातोपानी बजारका पाँचघर पहिरोले पुरिएको गाउँपालिकाका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिए ।

बाह्रबीसे–तातोपानी सडक खण्डको विभिन्न ठाउँमा गएको पहिरो तथा नदी कटानले सडक अवरुद्ध भएपछि उद्धारमा कठिनाइ उत्पन्न समेत भएको छ । विद्युत् पोल ढलेकाले गाउँपालिकाका सबै क्षेत्रमा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको र प्रतिकूल मौसमका कारण सञ्चार सम्पर्कसमेत हुन नसकेको उनले बताए ।

दश किलो भन्ने स्थानमा ठाडोखोलाको बाढीले कल्भर्ट (पुलेसा) समेत बगाएको र एउटा कन्टेनर भ्यानलाई बाढीले सडकको छेउमा पु¥याएकोले भोटेकोशी नदीमा खस्ने अवस्थामा रहेको वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

यसैगरी अविरल वर्षाले स्थानीय चौकीडाँडा भासिने अवस्थामा पुगेकाले सीमा प्रहरी कार्यालयसमेत जोखिममा परेको छ । सो स्थानका ३० घरपरिवारलाई कोदारी माथि भवनमा राख्ने व्यवस्था मिलाइएको र उनीहरुको खानपानको व्यवस्था गाउँपालिकाले मिलाएको गाउँपालिकाको अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *