महोत्तरीको नदीमा बाढी : २४ गाउँ जोखिममा

डिसी नेपाल
२६ असार २०७७ २१:२४

महोत्तरी । बुधबार साँझदेखि नै महोत्तरी जिल्लामा मुसलेधार पानी परेपछि जिल्लाको आधा दर्जनभन्दा बढी नदी खोलामा बाढी आएको छ।

लगातारको भीषण वर्षासँगै जिल्लाको रातो, विग्ही, जंघा, अंकुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन र मरहालगायतका नदीमा बाढी आएको स्थानीयवासीले बताएका छन् । बाढीका कारण जिल्लाका अधिकाँश गाउँमा बाढीको पानी पस्ने जोखिम बढेको छ ।

बाढीका कारण नदी छेउछाउका २४ भन्दा बढी गाउँका बासिन्दाहरु त्रसित भएका छन् भने उनीहरु बाढीको बेला हुनसक्ने क्षति विरुद्ध सतर्कता अपनाउनमा जुटेका छन् । वर्षायाममा महोत्तरीको धेरै जसो भाग डुबानमा पर्ने गरेको तथा बाढीले सयौँलाई विस्थापित बनाउँदै आएको कुरालाई मध्य नजर गर्दै स्थानीयवासीले नदीहरुमा आएको बाढीलाई देखेर सुरक्षा व्यवस्थाको जोहो गर्न थालेका छन् ।

बाढीबाट हुने जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र जिल्ला दैवी प्रकोप उद्धार समितिलगायत सम्बन्धित निकाय तयारी अवस्था रहेको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *