सेनापतिले विशाल हृदय देखाउनु भो : पूर्वप्रहरी महानिरीक्षक अर्याल

डिसी नेपाल
२६ असार २०७७ २३:०९

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा नेपाल प्रहरीको मुख्यालय नक्सालको गेटबाट भित्र छिर्नासाथ प्रहरी मुख्यालयमा एकखालको खैलाबैला नै मच्यियो ।

मर्यादाक्रममा निकै माथि रहेका सेनापति त्यो पनि आकस्मिकरुपमा प्रहरी मुख्यालयमा आउनु प्रहरी अधिकृतहरुका लागि नसोचेको कुरा थियो । विहीबारमात्र प्रहरी महानिरीक्षकको फुली लगाएका शैलेश थापा क्षेत्रीका लागि पनि आफूमाथि सेनापतिले गरेको सम्मानको अप्रत्यासित कदम थियो नै, नेपालका सुरक्षा फौजहरुको इतिहासमै यो पहिलो घटना पनि थियो ।

प्रहरी महानिरीक्षक क्षेत्री कमाण्डर्स कन्फरेन्सका क्रममा थिए । गेटबाटै खवर आएपछि हस्याङ्ग फस्याङ्ग गर्दै सेनापतिको स्वागतको चांजो पांजो मिलाइयो । आइजीपीमा नियुक्त भएपछि सामान्यतया प्रहरी प्रमुख सैनिक मूख्यालय जाने परम्परा रहेको छ । तर यसपटक प्रधानसेनापति आफै वधाइ तथा शुभकामना दिन प्रहरी प्रधानकार्यालय पुगे ।

सेनापतिले बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिए । उनले नेपाली सेनाको तर्फबाट गर्नुपर्ने सहयोग पूर्णरुपमा हुनेमा महानिरीक्षक थापालाई विश्वास पनि दिलाए । उनले देशको सुरक्षालाई मजबुत बनाउन प्रहरीसंग सहकार्य गर्न तयार रहेको जानकारी पनि दिए । प्रहरी महानिरीक्षक थापाले सेनापति थापाको हार्दिकताको लागि धन्यावाद दिए र सहकार्यका लागि तयार रहेको जानकारी पनि ।

सेनापतिले दिएको सन्देश के हो ?

सेनापतिले राष्ट्रिय सुरक्षाका प्रमुख निकायहरुबीच सुमधुर सम्बन्ध रहनुपर्छ, पद र हैसियतमा ठूलो सानो भन्दा पनि मुलुकको राष्ट्रिय सुरक्षाका विषय ठूलो हो भन्ने सन्देश यो भ्रमणसंगै दिएका छन् ।

प्रहरीभन्दा सेना ठूलो हो भन्ने मानसिकता दुबै संगठनमा व्याप्त छ तलदेखि माथिसम्मै । तर, राष्ट्रिय सुरक्षाका सन्दर्भमा ठूलो सानो होइन सहकार्य मुख्य कुरा हो । नेपाल प्रहरीका पूर्व डिआईजी हेमन्त मल्ल ठकुरी भन्छन्, ‘प्रोटोकल अनुसार नेपाली सेना दाइ हो, प्रहरी भाइ दाजुलाई मान्न जानुपर्ने नेपाली परम्परामा भाइलाई माया गर्ने चलन पनि हुन्छ आजको शुभकामना र बधाईलाई मैले यो रुपमा लिए’, पूर्व डिआइजी हेमन्त मल्ल ठकुरीले भने । उनका अनुसार यसले नयाँ परम्पराको थालनी भएको छ ।

महानिरीक्षकमा नियुक्त भएपछि थापा क्षत्रीले नेपाल प्रहरीको बर्दीमा दाग लाग्न दिन्न भन्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनको यो प्रतिबद्धता आगामी दिनमा दृढताका साथ पूरा होस् भन्ने चाहाना पनि प्रधानसेनापति थापाको हुनसक्छ । किनकि राष्ट्रिय सुरक्षाका सबै अंग शुद्धिकरण गर्न सकिएमात्र राष्ट्रिय सुरक्षालाई मजबुत बनाउनेतिर योजनाबद्ध काम हुनसक्छ ।

सेनापतिले नेपाली सेनामा भ्रष्टाचारविरोधी अभियान नै चलाएका छन् र थुप्रै उच्चपदस्थहरुलाई कारवाही गरिसकेका छन् । जिम्मेवारी दिने तर बद्मासी गरे जो कोही भएपनि नछोड्ने सेनापति थापाको दृढता राष्ट्रिय सुरक्षकाको अर्को अंग प्रहरीमा पनि लागू गराउन बल पुगोस भन्ने चाहनाले पनि यो आकस्मिक भ्रमण तय भएको हो।

नेपालमा सुरक्षा निकायहरुबीच वास्तविक सहकार्य र हार्दिकता नहुंदा सूचना इन्टेलिजेन्स सेयरिंगमा समस्या रहंदै आएको छ । गोप्य सूचनाहरुको आदान प्रदानमा मात्र पनि सहकार्य हुन सके थुप्रै प्रकारका अपराध र भ्रष्टाचार नियन्त्रणमा ठूलो मद्धत पुग्छ । सेनापतिको यो भ्रमणले त्यस्को ढोका पनि खोलेको विश्वास प्रहरीहरुले नै गर्न थालेका छन् । त्यसैगरी भीड नियन्त्रण तालिम र अन्य तालिमहरुमा सेनाको सहयोग प्राप्त हुन सक्यो भने प्रहरीले अझ व्यवसायिक हिसावले काम गर्न सक्छ । यी सबैभन्दा पनि ठूलो कुरा प्रहरीको मनोबलको हो ।

राजनीतिले थिलथिलो पारेको प्रहरी संगठनलाई अव सेनापतिको पनि गहिरो साथ र सम्मान छ है भन्ने सन्देशले माथिदेखि तलैसम्मका प्रहरीको मनोबल उच्च बनाउने छ ।

यो अकास्मिक भ्रमणबारे पूर्वप्रहरी महानिरीक्षक उपेन्द्रकान्त आर्यालले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस नै लेखेर सेनापति थापाको सो कार्यको मुक्त कण्ठले प्रसंसा गरे । उनले लेखेका छन्,‘ राष्टिय सुरक्षाका दुई स्तम्भ नेपाली सेना र नेपाल प्रहरीबीचको आपसी भाइचाराको लामो इतिहास छ । प्रधान सेनापति स्वयम् नवनियुक्त प्रहरी महानिरीक्षकलाई बधाइ दिन प्रहरी प्रधान कार्यालय पुग्नुले प्रधान सेनापतिज्यूको विशाल हृदयको परिचय दिनुका साथै नेपाल प्रहरीप्रतिको आत्मियता पनि प्रदर्शन गरेको छ । स्नेह, प्रेम र भाइचाराको शक्ति नै सबैभन्दा ठूलो शक्ति हो ।’

करिब तीन वर्षअघि उपेन्द्रकान्त अर्याल आइजीपी हुँदा प्रजातन्त्र दिवसको दिन प्रधान सेनापति सहित रथि, उपरथिहरु प्रहरी प्रधान कार्यालयमामा पुगेर निरीक्षण गरेका थिए । त्यसअघि पनि प्रधान सेनापतिहरु प्रहरी प्रधानकार्यालय जाने गरेका थिए । तर उनीहरु औपचारिक रुपमा भने गएका थिएनन । झन शुभकामना र बधाई दिन भने कुनै पनि प्रधानसेनापति प्रहरी प्रधानकार्यालय पुगेका छैनन ।

‘मलाई याद भएसम्म अहिलेसम्म प्रधानसेनापतिहरु आइजीपीलाई बधाई र शुभकामना दिन आएको याद छैन’, डिआइजी ठकुरीले भने । प्रधान सेनापति थापाको यस्तो परम्परा थालनीलाई पूर्व डिआइजी मल्लले दुवै सुरक्षा संगठनमा हार्दिकता र समन्वय बढ्ने दावी गरे । दुवै सुरक्षा संगठनका प्रमुखको स्वाभाव पनि मिल्ने पनि पूर्व डिआइजी मल्लले बताए ।

‘उहाँहरु दुवै जनाको स्वाभाव मिल्छ , दुवै जना नम्र र विनयीशील हुनुहुन्छ आफूले चाहेको काम गराउन सक्ने तथा नीतिगत तहमा राम्रो दख्खल राख्न सक्न साथै सेनाकै स्टाप कलेजमा तालिम लिएका पनि हुन त्यही कारणले अलि बढी नै हार्दिकता भएको हुनुपर्छ’, उनले भने । प्रधानसेनापति थापा र आईजीपी थापा नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीका पूर्वविद्यार्थी हुन् ।

बहुचर्चित टीकापुर काण्डमा कथित आन्दोलनकारीहरुबाट झुक्याएर निर्ममतापूर्वक मारिएका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेको अन्तिम संस्कारका बेला पनि तत्कालीन सैनिक नेतृत्वले प्रहरीको हौसला बढाउने प्रयत्न गरेको थियो ।

तत्कालीन कामु प्रधानसेनापति राजेन्द्र क्षेत्री आफैं नै अन्तिम श्रद्धाञ्जलिका लागि पशुपति पुगेका थिए । र, पछि न्यौपानेको परिवारलाई भेट्न पनि गएका थिए । जसले गर्दा प्रहरीका उच्च पदाधिकारीहरुको मनोबल बढ्नुका साथै हार्दिकता पनि बढेको देखियो र यसको प्रमाण सेनापतिको पदभार ग्रहण गरेकै भोलिपल्ट प्रहरीका आईजीसहित उच्चपदस्थहरु बधाइ दिन हार्दिकताका साथ सैनिक मुख्यालय पुगेका थिए ।

सैनिक जनसम्पर्क निर्दैशनालयका प्रमुख सहायक रथि एवं सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले प्रधानसेनापति आइजीपीलाई बधाई दिन जानु स्वाभाविक भएको बताउछन् । यस्ता कार्यले दुई संगठनप्रतिको विश्वास र समन्वयलाई अघि बढाउन मद्दत पुग्ने उनको भनाइ छ । बधाई तथा शुभकामना भेटमा प्रधानसेनापति थापाले आइजीपी थापालाई मायाको चिनो स्वरुप आफ्नो कार्यकालका अनुभवको संगालो पुस्तक पनि दिएका थिए । प्रधानसेनापति थापा करिब ४५ मिनेट बसेर सैनिक मूख्यालय फर्केका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *