फेरि नेपाल आयो सलहको झुण्ड, थप झुण्ड पनि आउने चेतावनी

डिसी नेपाल
२८ असार २०७७ १८:२०

काठमाडौं। खेतीबालीमा क्षति गर्ने विनाशक किरा सलह फेरि नेपाल प्रवेश गरेको छ। आइतबार भारतको उत्तरप्रदेशबाट नेपालको दाङमा सलह प्रवेश गरेको कृषि विकास तथा पशुपंक्षी मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टिन एण्ड पेस्टिसाइड म्यानेजम्यान्ट सेन्टरले जनाएको छ।

सेन्टरका अनुसार आइतबार विहान ९ बजेपछि भारतको उत्तर प्रदेशका सितापुर तथा बहराइच क्षेत्रमा रहेका सलहका झुण्डहरुमध्ये एउटा झूण्ड दाङ जिल्लाको गढवा गाउँपालिकाको २ र ३ नं वडा प्रवेश गरेको थियो। त्यसपछि फेरि दिउँसो १ बजेतिर राप्ति नगरपालिकाको लालमटिया क्षेत्रमा सलह देखिएको सेन्टरले जनाएको छ। त्यहाँ किसानले विभिन्न अवरोधहरु सिर्जना गरि बस्न नदिए पछि सलहको झुण्ड उत्तर पूर्वतर्फ लागेको सेन्टरले जनाएको छ।

उक्त सलहले प्यूठान, अर्घाखाँची लगायतका अन्य छिमेकी जिल्लाहरुमा प्रवेश गरि नोक्सान गर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन सेन्टरले अपील गरेको छ।

सेन्टरले नेपालमा थप सलहका झुण्ड आउन सक्ने भन्दै तयारी गर्न अपीलसमेत गरेको छ। प्रदेश नं ५, २ तथा १ का तराइ र मध्य पहाडी क्षेत्रहरुमा फेरि सलहले क्षति गर्न सक्ने सेन्टरले बताएको छ। सेन्टरका प्रवक्ता रामकृष्ण सुबेदीले पूर्वानुमान अनुसार नेपालमा थप सलहका झुण्ड सक्रिए भएको जानकारी दिए। क्षतिबारे यकिन विवरण प्राप्त नभए पनि मकै र धानबालीमा क्षति गरेको बताए। यसअघि नेपाल आएको सलह प्रतिकुल मौसमका कारण मरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *