बाढी पहिरोको प्रकोपः १० जनाको मृत्यु ३९ जना बेपत्ता

डिसी नेपाल
२८ असार २०७७ १९:४७

काठमाडौं। देशभर विगत केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी आइतबारमात्र १० जनाको मृत्यु भएको छ। शनिबार १९ जनाको मृत्यु भएको थियो भने शुक्रबार २३ जनाको मृत्यु भएको थियो।

गृहमन्त्रालयले आइतबार दिएको जानकारी अनुसार आइतबार ३९ जना बेपत्ता भएका छन्। मन्त्रालयका अनुसार म्याग्दीमा ७ जनाको मृत्यु भएको छ भने ४ जना अँझै बेपत्ता छन्। म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा पहिरोम परी मृत्यु हुनेको संख्या २७ पुगेको छ। त्यहाँ अझै ४ जना हराई रहेकाले मृतकको संख्या बढ्न सक्ने मन्त्रालयले जनाएको छ। यस्तै म्याग्दीमा १२ जना घाइते भएका छन्।

यस्तै सिन्धुपाल्चोकको बाह्रविसेमा गएको बिहीबार राती आएको पहिरोमा परी बेपत्ता भएका मध्ये एकजनाको शव आइतबार फेला परेको छ। त्यहाँ अझै २० जना बेपत्ता रहेको गृहमन्त्रालयलेजनाएको छ। सिन्धुपाल्चोकमा हालसम्म ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइतेको उपचार भइरहेको छ।

यस्तै कर्णाली प्रदेशको जाजरकोटमा शुक्रबार आएको पहिरोमा परी बेपत्ता भएका मध्ये आइतबार २ जनाको शव फेला परेको छ। अझै २ जना बेपत्ता रहेको मन्त्रालयले जनाएको छ। जाजरकोटमा पहिरोका कारण २०६ घरधुरी विस्थापित भएको मन्त्रालयले जनाएको छ।

यस्तै प्रदेश नम्बर १ को झापामा आएको बाढीका कारण जोखिममा परेका ५५० परिवार संख्या र १२५ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
प्रदेश नम्बर २ को सर्लाहीमा आएको बाढीमा बगेर एकजना बेपत्ता भएका छन्। यस्तै सप्तरीमा आएको बाढीका कारण जोखिममा परेका ३२ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। यस्तै संखुवासभामाआएको पहिरोमा परी १ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *