पीडितले नै दोषीलाई मृत्युदण्डको सजाय रोक्न माग गरे, माथिल्लो अदालतले उल्ट्याइदियो

डिसी नेपाल
२९ असार २०७७ १०:३९

काठमाडौं। अमेरिकामा १७ वर्षपछि संघीय तहको मृत्युदण्डको सजाय कार्यान्वयन गर्न तत्कालको लागि बाटो खुलेको छ । अपिल अदालतको रुलिङसँगै अमेरिकाको इण्डियानामा यो मृत्युदण्ड सोमबार कार्यान्वयन हुने तय भएको छ । यद्यपि यो फैसला सर्वोच्च अदालतले उल्ट्याउन पनि सक्छ । पीडित परिवारले नै मृत्युदण्डको सजाय तत्कालका लागि रोक्न माग गरेका हुन् ।

पीडित परिवारले सजाय कार्यान्वयन पछि सार्न संघीय अदालतमा अपिल गरेपछि शुक्रबार अदालतले हत्या अभियोग लागेका डेनियल लेविस लीको मृत्युदण्डको सजाय तत्कालको लागि रोकेको थियो । अमेरिकामा सामान्यतया पीडित पक्षले मृत्युदण्डको सजाय कार्यान्वयन भएको हेर्न पाउँछन् । तर, अहिले मृत्युदण्ड दिइएको प्रत्यक्ष हेर्न उपस्थित हुँदा आफूहरु कोरोनाभाइरसबाट संक्रमित हुन सक्ने डरले पीडितले सजाय कार्यान्वयन पछि सार्न अपिल गरेका थिए । संघीय अदालतले पीडितको पक्षमा फैसला गरेको थियो ।

तर, संघीय अदालतको यो फैसलाविरुद्ध संघीय सरकारले अपिल अदालतमा पुनरावेदन गर्यो । संघीय सरकारको पुनरावेदनमाथि सुनुवाइ गर्दै आइतबार अपिल अदालतले संघीय अदालतको फैसला उल्ट्याउँदै मृत्युदण्डको सजाय कार्यान्वयन गर्न आदेश दिएको सीएनएनको रिपोर्टमा जनाइएको छ । सातौं युएस सर्किट कोर्ट अफ अपिलले भनेको छ – कुनै पनि संघीय कानुन वा नियमावलीले पीडितलाई मृत्युदण्ड कार्यान्वयन हुने बेला उपस्थित हुने अधिकार दिएको छैन । अपिल अदालतले संघीय अदालतको फैसला उल्ट्याएपछि अब पीडित पक्ष सजाय कार्यान्वयन पछि सार्न माग गर्दै सर्वोच्च अदालत जाने भएका छन् ।

कुनै समयका श्वेत सर्वोच्चतावादी लीले एकै परिवारका तीन सदस्यको हत्या गरेर उनीहरुको शव तालमा फालिदिएका थिए । उनलाई यसअघि डिसेम्बरमै मृत्युदण्ड दिने फैसला सुनाइएको थियो । तर, अदालतले उनको सजाय कार्यान्वयनमा रोक लगाएपछि मृत्युदण्डको मिति पटक पटक सर्दै आएको थियो । लीले एर्लेन पिटरसनकी छोरी, ज्वाइँ र नातिनीलाई मारेका थिए र एर्लेनले नै मृत्युदण्डको सजाय रोकेकी थिइन् । ‘कोही मेरी छोरीको लागि मर्नु भनेको मेरी छोरीको लागि लज्जाको विषय हो’ एर्लेनले सजाय रोक्ने विषयमा कुरा गर्दै गत वर्ष सीएनएनसँग भनेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *