यस्तो छ अमिताभ बच्चनको पछिल्लो स्वास्थ्य अवस्था

डिसी नेपाल
२९ असार २०७७ १२:५३

मुम्बइ। कोरोनाभाइरसबाट संक्रमित भएका बलिउड महानायक अमिताभ बच्चन मुम्बइको नानावटी अस्पतालमा भर्ना भएका छन् । उनीसँगै उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्या पनि संक्रमित भएको पुष्टि भएपछि अस्पतालमा छन् । अमिताभको पछिल्लो स्थिति स्थिर रहेको र उनले आइसोलेसन वार्डमा पनि आफ्नो दैनिक रुटिन जारी राखेको भारतीय मिडियाले लेखेका छन् । उनले अहिले पनि पहिलेजस्तै आफ्ना फ्यान, सहकर्मी, पत्रकार र साथीहरुलाई जन्मदिनको शुभकामना दिइरहेका छन् र आफ्नो ब्लग अपडेट गरिरहेका छन् ।

आइतबार राती अस्पतालबाटै उनले आफ्नो ब्लगमा लेखे ‘बर्थडे – मनोज कुमार ओझा, तरन घंटासला । सोमबार १३ जुलाइ । दुवैलाई जन्मदिनको शुभकामना । सधैं । तपाइँहरु सधैं खुसी रहनुस् ।’ यसका साथै बीग बीले आफ्नो लागि प्रार्थना गरिरहेका फ्यानहरुप्रति आभार व्यक्त गरे । उनले लेखेका छन् ‘मेरा प्रिय चाहनेहरु, अभिषेक, ऐश्वर्या, आराध्या र मेरो लागि तपाइाहरुको चिन्ता, प्रार्थना र छिटो स्वास्थ्यलाभको लागि शुभकामनाले मलाई कृतज्ञताले भरिदिएको छ । तपाइँहरु सबैलाई धन्यवाद । आइतबार राती ट्वीटरबाट पनि उनले धन्यवाद दिएका थिए ।

नानावटी अस्पतालले दिएको जानकारी अनुसार अमिताभ र अभिषेश दुवैको अवस्था स्थिर छ । दुवैलाई आइसोलेसन वार्डको छुट्टाछुट्टै कोठामा राखिएको छ । दुवैमा हल्का लक्षण देखिएका छन् । बच्चन परिवारका ४ सदस्य संक्रमित पाइएपछि उनीहरुका स्टाफका सदस्यको पनि परीक्षण गरिएको छ । बच्चन परिवारको घरमा रहेका सबै स्टाफ नेगेटिभ पाइएका छन् । कूल ५४ जना स्टाफ परिवारको सम्पर्कमा आएका थिए । २८ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । उच्च जोखिममा रहेका अन्य २६ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कम जोखिममा रहेका अन्य २८ जनाको भने परीक्षण गर्न बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *