जब डाक्टरले अमिताभलाई ‘चिकित्सकीय रूपमा मृत’ घोषणा गरेका थिए…

डिसी नेपाल
३० असार २०७७ ११:३६

मुम्बइ। बलिउड महानायक अमिताभ बच्चन कोरोनाभाइरसबाट संक्रमित भएपछि मुम्बइको नानावटी अस्पतालमा भर्ना भएका छन् । उनको हालत स्थिर रहेको र अक्सिजन लेभल पनि सामान्य रहेको बताइएको छ । ३८ वर्ष पहिले पनि जुलाइकै महिना थियो जब अमिताभ गम्भीर रुपले घाइते भएका थिए र उनलाई ६२ दिनसम्म अस्पतालमा भर्ना गरिएको थियो ।

यो दुर्घटना २४ जुलाइ १९८२ मा बैंगलोरमा भएको थियो । फिल्म ‘कुली’को एक द्वन्द्वको दृश्यको सुटिङ भइरहेका बेला पुनित इस्सरको मुक्का अमिताभको अनुहारमा लागेपछि उनी टेबलमाथि लडेका थिए । कुली २ डिसेम्बर १९८३ मा रिलिज भएको थियो । यो दृश्यको लागि बडी डबलको सहारा लिने कुरा भएको थियो तर दृश्य वास्तविक लागोस् भनेर अमिताभले आफैं गर्ने निर्णय गरेका थिए । सिन पूरै वास्तविक देखियो, उपस्थितले ताली बजाए, अमिताभ मुस्कुराए । तर, त्यही बेला उनको पेटमा पीडा सुरु भयो । टेबलको एक कुना अमिताभको पेटमा नराम्रोसँग लागेको थियो ।

सबैलाई यो सामान्य चोट लागेको थियो किनकि रगतको थोपा पनि बगेको थिएन । अमिताभ होटलमा आराम गर्न गए तर पीडा कम भएन । भोलिपल्ट पीडा झनै बढेपछि उनलाई अस्पताल लगियो । एक्स–रे गरियो तर डाक्टरले केही पत्ता लगाउन नसकेपछि उनलाई निद्राको औषधि दिएर सुताइयो । खबर पाएपछि आमा तेजी, पत्नी जया र भाइ अजिताभ बैंगलोर पुगे । उनीहरु अमिताभलाई मुम्बइ ल्याउन चाहन्थे तर डाक्टरले अनुमति दिएनन् । तेस्रो दिन २६ जुलाइमा अमिताभको हालत झनै बिग्रियो ।

यही बीच भेलोरका चर्चित सर्जन एचएस भट्ट केही कामले अस्पताल आएका थिए । फिल्म युनिटले उनीसँग आग्रह गरेपछि उनी अमिताभको केस स्टडी गर्न तयार भए । रिपोर्ट हेरेपछि उनले त्यस दिन औषधीले सुधार नभए भोलिपल्ट अपरेशन गर्नुपर्ने बताए । २७ जुलाइ १९८२ मा डाक्टरहरुले अपरेशन गर्ने निर्णय गरे । उनीहरुले पेट चिरेर हेर्दा चकित परे । अमिताभको पेटको झिल्ली फाटिसकेको थियो । सानो अमाशय पनि फुटेको थियो । यो स्थितिमा कुनै पनि मानिस ३ देखि ४ घण्टा जीवित रहन कठिन हुन्छ । तर अमिताभ ३ दिनसम्म यो स्थितिबाट गुजिएका थिए । त्यतिबेला अमिताभलाई अरु रोग पनि थिए । उनी दमका रोगी थिए, कमलपित्तले एउटा मृगौला खराब भइसकेको थियो र मधुमेह पनि थियो ।

अपरेशनको भोलिपल्ट अमिताभलाई निमोनिया पनि भयो । उनको शरीरमा विष फैलिँदै गएको थियो, रगत पनि पातलो भएको थियो । रगतको घनत्व सुधार्न बैंगलोरमा सेल्स नभएकाले मुम्बइबाट मगाइयो । रगतमा सेल्स मिलाएपछि अमिताभको स्थिति ४ दिनमा पहिलो पटक सुध्रिएको थियो तर भोलिपल्टै पुनः बिग्रियो । डाक्टरहरुले सल्लाह गरेर राम्रो उपचारका लागि मुम्बइ लैजानु नै ठिक हुने निर्णय गरे । एयरबसको माध्यमबाट उनलाई मुम्बइ पुर्याइयो । उनलाई ब्रीच क्याण्डी अस्पतालमा राखियो ।

१ अगष्टमा निकै सुध्रिएको अमिताभको हालत २ अगष्टमा फेरि बिग्रियो । शरीरमा लगातार विष फैलिइरहेको थियो । डाक्टरका अनुसार फेरि अपरेशन गर्नु जरुरी भएको थियो । ३ घण्टाको अपरेशनपछि डाक्टरहरुले अमिताभको हालत निकै नाजुक भएको बताए । डाक्टरहरुले उनलाई औषधीको साथमा प्रार्थताको आवश्यकता भएको बताए । अमिताभको स्थिति लगातार बिग्रिइरहेको थियो । उनलाई सास फेर्न कठिनाइ हुन थाल्यो । डाक्टरले सास फेर्न कृत्रिम नली लगाए । त्यसपछिका केही दिन अमिताभको हालतमा उतारचढाव आयो ।

सामान्यदेखि विशेष व्यक्तिसम्म उनलाई रगत दिन तयार थिए । पुनित इस्सरकी पत्नी, शम्मी कपूरकी छोरी, परवीन बबीसहित २ सय जनाको रगत अमिताभलाई चढाइएको थियो । डाक्टरले त यहाँसम्म भनेका थिए कि अब कुनै चमत्कारले मात्र उनलाई बचाउन सक्छ । यससँगै देशभर अमिताभको स्वास्थ्यलाभको लागि प्रार्थना सुरु भयो । मन्दिरमा हजारौंको भीड जम्मा भयो । अमिताभको स्वास्थ्यलाभको लागि मन्दिर पुगेको भीड नियन्त्रण गर्न भारी मात्रामा पुलिस तैनाथ गर्नु परेको थियो ।

२ अगष्टमा भएको अपरेशनको ३ दिनपछि अमिताभको हालत सुधार हुन थाल्यो । ८ अगष्टमा प्रधानमन्त्री इन्दिरा गान्धी र सोनिया गान्धी उनलाई भेट्न दिल्लीबाट मुम्बइ पुगिन् । अमिताभको अमाशयले काम गर्न सुरु गरेको अनुमान गरिएको थियो तर पूरै खतरामुक्त घोषित गर्न अझै पर्खिनुपर्ने डाक्६रले बताएका थिए । हालत सुधार भएपछि अमिताभ करिब डेढ महिना डाक्टरको निगरानीमा अस्पतालमै बसे ।

२४ सेप्टेम्बरमा अन्ततः अमिताभलाई डिस्चार्ज गरियो । ठिक भएपछि प्रशंशकहरुलाई धन्यवाद दिँदै अमिताभले भनेका थिए ‘जीवन र मृत्युको बीचमा यो एक भयावह अग्नी परीक्षा थियो । दुई महिनाको अस्पताल बास र मृत्युसँगको लगाइँ समाप्त भएको छ । अब म मृत्युमाथि विजय पाएर घर फर्किंदैछु ।’ घर पुगेपछि अमिताभले हात हल्लाएर आफ्ना शुभचिन्तकप्रति आभार व्यक्त गरे । यो वास्तविक दृश्यलाई नै फिल्म कुलीको अन्तिम दृश्यको रुपमा प्रयोग गरियो ।

एक अन्तरवार्तामा त्यो स्थितिको खुलासा गर्दै अमिताभले भनेका थिए ‘डाक्टरहरुले मलाई चिकित्सकीय रुपमा मृत घोषित गरेका थिए । जया आइसीयू कोठाबाहिर उभिएर सबै हेरिरहेकी थिइन् । डाक्टरहरुले कोसिस बन्द गरेका थिए । त्यही बेला जया अचानक चिच्याइन् कि मैले भर्खरै उहाँको खुट्टाको औला हलिलएको देखेकी छु कृपया कोसिस गर्दै रहनस् । डाक्टरहरुले मेरो खुट्टाको मालिश गर्न सुरु गरे अनि मभित्र फेरि प्राण आयो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *