कहिले खुल्छन् पशुपतिनाथका ढोका? सरकारको आदेश कुर्दै विकास कोष

तर्कबहादुर थापा
३१ असार २०७७ ७:१०

काठमाडौं। गत चैत्र ११ गतेदेखि बन्द भएका पशुपतिनाथका ढोका कहिले खुल्छन् होला? यो प्रश्नले सबैको मनमा अड्डा जमाएको छ। साउन महिना सुरु हुन लागेको छ। साउनको सोमबारमा हरिया चुरा नाडीमा लगाएर हिन्दु धर्म मान्ने हरेक नारीले आरध्यादेव शिवको पूजा अर्चना गर्ने गर्छन्।

भगवान शिवको पूजा गर्न पशुपतिनाग जाने गरेको उनीहरुको अनुभव छ। उनीहरुलाई यो वर्ष साउने सोमबारको व्रतको बेला पशुपतिनाथको दर्शन गर्न पाइँदैन कि भन्ने चिन्ता छ।

‘काठमाडौं आएदेखि हालसम्म साउने सोमबारको दिन पशुपतिनाथको दर्शन छुटाइएको थिएन।’ चावहिल निवासी राधा ढकाले भनिन्, ‘यो वर्षको सोमबारमा शिवको पुजाको लागि पशुपति जान नपाइने भयो भन्ने डर छ। संसारभर यस्तो डरलाग्दो रोग छ। भगवान पनि यो कुरा बुझ्नु हुन्छ होला नी।’

यस्तै, पशुपति क्षेत्रमा फूलको व्यापार गर्ने रमा शर्मालाई पनि यो वर्ष व्यापार नहुने कुरामा ढुक्क छन्। उनले भनिन, ‘यो वर्ष व्यापार हुन्छ भनेर त कसरी कल्पना गर्नु नि? यस्तो लकडाउन छ। खुल्ने कुनै छाँटकाट छैन।’

‘पहिलाको साउनमा राम्रै व्यापार हुन्थ्यो,’ उनले भनिन्, ‘साउनको महिनामा राम्रै व्यापार हुन्थ्यो। घरको सबै खर्च यँहीबाट उठ्थ्यो। तर, यो वर्ष गाह्रो छ। खोले विमारी भइन्छ कि भन्ने डर छ न खोल्दा व्यापार हुँदैन।’

आदेश विपरित जाँदैनाैं : कोषाध्यक्ष थापा

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलन कुमार थापाले पशुपतिमा भक्तजनको माग बढेपनि सरकारको आदेशको विपरित नजाने बताएका छन्। डिसी नेपालसँग उनले पशुपतिनाथको मन्दीर खोल्नु भनेर जनदवाव आएपनि सरकारको आदेश विपरित जान नसकिने बताए। लकडाउनले पशुपतिनाथ मन्दिर बन्द हुँदा पशुपतिनाथ क्षेत्र विकास कोषको जेष्ठ मसान्तसम्म १० करोड घाटा भएको उनकाे भनाइ थियो।

उनले भने, ‘चैत्र ११ गतेदेखि भएको लकडाउनका कारण जेठ मसान्तसम्मको हिसाब हेर्दा १० करोड घाटा भइसकेको छ। घाटा भयो भन्दैमा भक्तजनहरुको स्वास्थ्यका ख्याल नै नगरी खोल्ने कुरो भएन। माग त बढेको छ। जनस्तरबाट साउनमा खोल्नु पर्छ भन्ने भएको छ। तर, हामी सरकारको आदेशको विपरित जान सक्दैनौं।’

चैत्र ११ गतेदेखि भएको लकडाउनका कारण जेठ मसान्तसम्मको हिसाब हेर्दा १० करोड घाटा भइसकेको छ। घाटा भयो भन्दैमा भक्तजनहरुको स्वास्थ्यका ख्याल नै नगरी खोल्ने कुरो भएन। माग त बढेको छ। जनस्तरबाट साउनमा खोल्नु पर्छ भन्ने भएको छ। तर, हामी सरकारको आदेशको विपरित जान सक्दैनौं।

आन्तरिक तयारी पूरा भइसकेको उल्लेख गर्दै उनले सरकारले आदेश दिएको दिन नै मन्दिर खोल्न सकिने जनाए। उनले भने, ‘हामीले आन्तरिक पूरा गरेका छौं। साउन ७ गतेसम्म लकडाउन कै समय छ। हामीले त्यो बेलासम्म कुर्नै पर्छ।’

पशुपतिको खोल्ने विषयमा सरकारले पनि समन्वय गर्ने आश्वासन दिएको उनले बताए। उनले भने, ‘हिजो पर्यटनमन्त्रीज्यूसँग पनि कुराकानी भएको छ। उहाँले पनि यस विषयमा सरकारले समन्वय गर्ने आवश्वासन दिनु भएको छ।’

जति मान्छे आएपनि सुरक्षित दर्शन गराउन सक्छौ : प्रशासकीय अधिकृत आचार्य

पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत गोविन्द प्रसाद आचार्यले जति सुकै भक्तजन आएपनि सुरक्षित दर्शन गराउन सक्ने गरी तयारी भएको जानकारी दिए। उनले भने, ‘जति भिड भए पनि सुरक्षित दर्शन गराएर फिर्ता गर्न सक्ने गरी व्यवस्था मिलाएका छौं।’

विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्ड अनुसार प्रत्येक व्यक्तिलाई सामाजिक दुरी, प्रवेशद्वारमा सेनिटाइजर र प्रवेश गर्ने र बाहिरिनेका लागि अलग–अलग गेटहरुको प्रयोग गर्ने वातावरण मिलाएका छौं।’

दर्शकमार्ग निमार्ण भइरहेको पनि उनले जानकारी दिए। ‘हामीले दर्शक मार्ग पनि तयार गरेका छौं।’ उनले भने, ‘जुत्ता, चप्पल राख्ने ठाउँहरु पनि व्यवस्थित गरेका छौं। धेरै भिड हुँदैन। १ मिटरको दुरीमा गोलाकार चिन्ह लगाएका छौं र त्यसकै आधारमा दर्शन गराउँन सक्छौं।’
श्रावणी स्नानको विशेष महिमा

ज्योतिष शुरेसचन्द्र रिजाल साउने सोमबारको महत्व रहेको बताएका छन्। उनले भने, ‘श्रावण महिनामा श्रवण नक्षत्र युक्त पूर्णिमा पर्ने भएकाले यसलाई श्रावण मास भनेर भनिएको हो। यसको विषेश महत्व रहेको छ,’ उनले भने, ‘श्रावणी पुर्णिमामा श्रावणी स्नानको विशेष महिमा भएकाले पनि अरु महिना भन्दा श्रावण महिनाको महत्व शास्त्रमा विशेष रुपमा उल्लेख गरिएको हो।’

‘जलप्रियो शिवः’ शिवका लागि सबैभन्दा प्रिय वस्तु भनेकै जल भएकाले यसै महिनादेखी वर्षा ऋतुको प्रारम्भ हुने हुँदा प्रसस्त जल प्रवाह हुन्छ,’ ज्योतिष रिजालले भने, ‘जलका कारणले बोट विरुवाहरुलाई बढ्नमा सहयोग हुन्छ । कालकुट बीस सेवनले असैह्य पीडा भएको समयमा बेलपत्रले उक्त बीसको प्रवाह कम गरेकाले बेलपत्र तथा जल शीवका लागि विशेष महत्व रहेको शास्त्रमा उल्लेख गरिएको छ।’

‘समस्त पाप हरण गर्ने शक्ति भएका महादेवलाई हरियो बेलपत्र तथा जल चढाएमा शिव आशिर्वाद मिल्ले जनविश्वास रहेको छ,’ उनले भने, ‘शिवको प्रिय पहेलो वस्त्र धारण गरेर हर–हर महादेव अर्थात समस्त पाप हरण गरिदेउ भन्दै पवित्र जल ल्याउनका लागि बोलबम जाने परम्परा सदीयौंदेखि रहिआएको शिव पुराणमा उल्लेख गरिएको छ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *