राम र अयोध्याका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति सही छ, प्राज्ञिक वहश होस् : डा. जगमान गुरुङ (भिडियो)

मदन कोइराला
१ साउन २०७७ १०:२७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा भगवान रामको जन्म र अयोध्या नेपालमै रहेको भन्ने अभिव्यक्ति दिएपछि अहिले प्रधानमन्त्रीको अभिव्यक्तिलाई आलोचना भइरहेको छ।

कतिपयले प्रधानमनत्री ओलीले आधारहीन कुरा गरेको टिप्पणी गरेका छन् भने कतिपयले प्रधानमन्त्रीको अभिव्यक्तिलाई तथ्यमा आधारित भएको बताएका छन्। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर चासो र चर्चा बढेपछि हामीले नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङसँग ‘नेपालको अयोध्या’ विषयमा संवाद गरेका छौं।

डा. गुरुङले प्रधानमन्त्री ओली विशुद्ध राजनीतिक व्यक्तित्व मात्र नभइ प्रधानमन्त्रीलाई सम्पूर्ण कुराको ज्ञान भएको बताए। डा. गुरुङले प्रधानमन्त्री ओलीले भानु जयन्तीको अवसरमा दिएको अभिव्यक्ति प्राज्ञिक वहशको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई अनर्गल प्रचारका रुपमा बुझ्न नहुने बताए।

‘प्रधानमन्त्रीले अयोध्या र रामका विषयमा दिनु भएको अभिव्यक्ति कुनै मित्रलाई चिढ्याउन वा कुनै मित्रराष्ट्र सँगको सम्बन्ध बिगार्न दिनु भएको होइन,’ डा. गुरुङले भने, ‘नेपालमा राम र अयोध्याका विषयमा धेरै अध्ययन भएका छैनन्। भारतमा यो विषयमा धेरै अध्ययन भएका छन्। ती अध्ययनले पनि अयोध्याका विषयमा विवादित निष्कर्ष निकालेका छन्।’

डा. गुरुङले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली यसअघिका अन्य प्रधानमन्त्री भन्दा फरक रहेको समेत दाबी गरे। ‘अन्य प्रधानमन्त्री जस्तो होइन केपी ओली, उँहालाई सम्पूर्ण शास्त्र, तन्त्र, रामायण, महाभारत, गीता सबै कण्ड छ,’ उनले भने, ‘ कुनै पनि पण्डितले प्रधानमन्त्री ओलीसँग गएर प्रतिवाद गर्न सक्दैन।कुनै पनि इन्जिनियरले, मेडिकल डाक्टरले उहाँसँग वहश गर्न सक्दैन।’

यति धेरै ज्ञान भएको प्रधानमन्त्रीले दिने अभिव्यक्तिमा सत्यता हुने उनको तर्क थियो।  ‘भारतले जे भने पनि हामीले सहने, त्यसको प्रतिवाद नगर्ने तर, प्रधानमन्त्रीले एउटा कुरा भन्दैमा बबण्डर मच्चिने?,’ उनले भने, ‘प्रधानमन्त्रीले राम र अयोध्याका विषयमा अभिव्यक्ति दिएपछि आकाशबाट चट्याङ पनि आउने जमिनबाट भूकम्प र ज्वालामुखी पनि आउने कुरा त भएन नि!’

डा. गुरूङसँग डिसी नेपालका लागि मदन काेइरालाले गरेकाे भिडियाे संवाद




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *