राखेप सदस्य–सचिव पदका लागि २७ जनाको उम्मेदवारी

डिसी नेपाल
२ साउन २०७७ १२:०८

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य–सचिव पदका लागि खेल क्षेत्रका व्यक्तित्वसँगै राजनीतिक पृष्ठभूमिका समेत गरी तीन महिलासहित २७ जनाले उम्मेदवारी दिएका छन् । खुला आह्वानबाट पहिलोपटक चयन हुन लागेको सदस्य–सचिव पदका लागि गत २६ असारमा दरखास्त आह्वान गरिएपछि तोकिएको म्याद अवधि अर्थात् बिहीबारसम्म २७ जनाले आवेदन दिएका हुन ।

आवेदन प्रक्रिया पूरा भएसँगै मन्त्रिपरिषद्को बैठकले २२औं सदस्य–सचिवको रूपमा एक जनालाई चार वर्षे कार्यकालका लागि नियुक्त गर्नेछ । यस अघि तीन सदस्यीय सिफारिस समितिले एक महिलासहित मापदण्ड पूरा गरेका तीन जनाको नाम मन्त्रालयलाई सिफारिस गर्नेछ । त्यसमध्येबाट एक जनालाई मन्त्रिपरिषद्ले चार वर्षका लागि सदस्य–सचिव नियुक्त गर्नेछ ।

यसअघि सदस्य–सचिवको नियुक्ति राजनीतिक आधारमा हुने परम्परा स्थापना भएको राखेपमा पहिलोपटक खुला आह्वानद्वारा सदस्य–सचिव नियुक्ति हुन लागेको हो । २०४६ सालपछि खेलकुद मन्त्रालयको नेतृत्व गर्ने पार्टीका नेता कार्यकर्तालाई राखेप सदस्य–सचिव नियुक्त गर्ने परम्परा थियो ।

नयाँ ऐनले अब राखेपको सदस्य सचिव हुनका लागि ३० वर्ष उमेर पुगेको हुनुपर्ने छ । यस्तै उक्त व्यक्तिले खेलकूदका क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरेको तथा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने ऐनमा व्यवस्था गरिएको छ।

राखेप बोर्डमा पहिलोपटक नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि अनिवार्य रहने व्यवस्था गरिएको छ। राखेप सञ्चालनका लागि सात सदस्यीय कार्यकारी समितिको व्यवस्था गरिएको छ।

समितिका संयोजकमा सदस्य सचिव तथा सदस्यमा खेलकूद महाशाखा प्रमुख, परिषद्का सदस्यमध्येबाट अध्यक्षले मनोनय गरेको एक महिलासहित दुई, परिषद्ले मनोनयर गरेको एक महिलासहित दुई तथा परिषद्को प्रशासन महाशाखा प्रमुख सचिव रहने ऐनमा उल्लेख छ।

सदस्य–सचिवका लागि आवेदन दिने ब्यक्तिहरू : रोशन महर्जन, अनिल अधिकारी, हर्कबहादुर राई, मीना श्रेष्ठ, शिवराज भट्ट, लीलबहादुर थापा मगर, रविराज कर्णिकार, अचुतम लामिछाने, निलमसिंह बज्राचार्य, रमेशकुमार सिलवाल, मेघराज पौडेल, रामेश्वर श्रेष्ठ, अच्युत खनाल, मानबहादुर गुरुङ, विजयकुमार राई, सानुराजा केसी, किशोर शाही, अन्जु श्रेष्ठ, सुदिल शाही, रमेशमान डंगोल, ध्रुवराज न्यौपाने, खेमराज अधिकारी, राम पुडासैनी, सुनिल नकर्मी, रणबहादुर चन्द, दीपेन्द्र ढकाल र तेजबहादुर गुरुङ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *