वीपी समाजवादमा सधैं अडिग रहेनन्

डिसी नेपाल
६ साउन २०७७ ९:०९

नेपालमा च्याऊ उम्रेसरी नेताहरु भए। कसैको भाषण मीठो भयो। कसैको सम्झना शक्ति तीक्ष्ण भयो। कोही इमानी भए। कोही भ्रष्टचारी भए। कोही मान सम्मानका लागि राजनीतिमा संलग्न भए। कोही देशको मुहार फेर्नका लागि नेता भए। कोही आफ्नो र परिवारको मुहार फेर्नका लागि नेता भए। कोही विदेशीको सुराकी बन्दाबन्दै नेता भए। कोही देशको लागि कुनै सिद्धान्त दिने नेता भए। आज नेपाली कांग्रेसका नेता वीपी कोइरालालाई सम्झना गर्ने दिन हो।

उनी पनि एउटा सिद्धान्त दिने र सिद्धान्तका लागि मरिमेटने नेताको रुपमा देखिए। धेरै दुःख पाउने नेतामध्येका एक बीपी कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री बने। समाजवादको सिद्धान्त नेपाल सुहाउँदो प्रतिपादन गरे। उनको बौद्धिक क्षमता देखेर भारतले जहिलेपनि साइजमा झार्ने प्रयास गरेकाले राजा महेन्द्रले प्रजातन्त्र फाल्ने सुवर्ण अवसर प्राप्त गरे।

नेपालमा सिद्धान्त दिने नेता को भन्दा बीपी कोइराला, मदन भण्डारी र पुष्पकमल दहालको नाम आउँछ। पुष्पकमल दहालले आफ्नो जीवनकालमै सिद्धान्त फेर्दा फेर्दा हैरान भइसके। उनको प्रचण्ड पथ उनले नै बिर्सिएको जस्तो भइसक्यो।

सत्ता र सरकारको दौड र सम्पत्तिमा रमाउने स्वभावका प्रचण्डले आफूले बनाएको सिद्धान्त नै छोडे। जुन सिद्धान्तबाट सत्तामा रहन सकिन्छ त्यसैको पछिलाग्ने बानीको विकास भयो। हिजोसम्म जनताको जनवाद भन्दै थिए, अब सत्तामा टिक्न जनताको बहुदलीय जनवादमै सति जान सक्ने सम्भावनाहरु बढेर गएको छ।

उता, मदन भण्डारीको सिद्धान्त जनताको बहुदलीय जनवाद उनी मेरेर गएपनि उनका अनुयायीहरुले अगाडि बढाई रहेका छन्। मदन भण्डारीको सिद्धान्तले विश्वलाई कार्लमाक्र्सलाई सम्झिन बाध्य बनायो। नेपालमा नयाँ कार्लमाक्र्सको जन्म भएको विदेशी मिडियामा समाचार नै आएको थियो।

वीपी कोइरालाले किसानले हलो जोतेको फोटो देखाएर एक नेपालीलाई दैनिक गुजारा गर्न चाहिने जोहो भए समाजवाद आउँछ भन्ने आशयको अभिव्यक्ति दिए। उनले दुधभात खान पुग्ने कुरालाई भावनात्मक रुपमा उठाए। उनको यो अभिव्यक्ति उनका बुबा कृष्णप्रसाद कोइरालाले सिरहा जिल्लाको माडरमा रहँदा गरेको एक घटनाबाट प्रभावित छ।

साम्यवाद, बामपन्थी, कम्युनिष्ट, सर्वहाराबर्ग, समाजवाद जस्ता शब्दहरुले चिनिने कम्युनिष्टहरु जनताको मत अनुसार बहुदलीय व्यवस्था स्वीकार गरेर जानेखालको मोडल भण्डारीले प्रतिपादन गरे। मदन भण्डारीले जनताको बहुदलिय जनवाद बनाएकैले उनको ज्यानको सौदा गरियो। सौदा गर्नेहरु अहिलेपनि शक्तिमै छन्। त्यसैले उनको षडयन्त्रमूलक हत्या हो या दुर्घटना हो भन्ने कुरा एक्किन भएको छैन।

वीपी कोइरालाले किसानले हलो जोतेको फोटो देखाएर एक नेपालीलाई दैनिक गुजारा गर्न चाहिने जोहो भए समाजवाद आउँछ भन्ने आशयको अभिव्यक्ति दिए। उनले दुधभात खान पुग्ने कुरालाई भावनात्मक रुपमा उठाए। उनको यो अभिव्यक्ति उनका बुबा कृष्णप्रसाद कोइरालाले सिरहा जिल्लाको माडरमा रहँदा गरेको एक घटनाबाट प्रभावित छ।

कृष्णप्रसादले राणाकालीन प्रधानमन्त्री चन्द्रशमशेरलाई पहाडबाट नुन बोक्न आएका भरियाहरुको फाटेको, मैलो लुगालाई नेपालीहरुको स्थिति यस्तो छ भनेर देखाउन कोसेलीको रुपमा पोको पारेर हुलाकमार्फत काठमाडौं पठाएका थिए। समाजको यथार्थ बुझाउन यस्तो गरिएको भएपनि राणाहरुलाई अपमान गरेको अनुभुति भयो र कोइराला परिवार निर्वासित हुनु परेको थियो।

बुबाको सपना पुरा गर्न वीपी कोइरालाले भरीयाको स्थितिबाट मुक्त हुन प्रत्येक नेपालीले दुधभात खान पाओस भन्ने थियो। उनको समाजवादको मोडल पनि भारतका एकथरी नेताले भन्ने गरेको समाजवादको फोटोकपी जस्तै जस्तै थियो।

वीपी कोइराला संधै समाजवादी नै रहेनन्। उनी विद्यार्थी कालमा बामपन्थीबाट प्रभावित थिए। भारतमा विद्यार्थी जीवनमा जेल पर्दा समाजवादीको रुपमा परेका होइनन्। पछि उनले भारतीय राजनीतिक संगठनमा रहेर काम गरे। नेपालमा सशस्त्र आन्दोलन समेत गरे। भारतमा कुनै दिन बम बोकेर हिडेको कथा उनको डायरी मै छ।

पञ्चायतकालमा नेपालका कम्युनिष्टहरुले बीपीलाई गाली गर्नु पर्दा बीपीले नेपाललाई भारतको एउटा प्रान्त बनाएर भारतकै प्रधानमन्त्री हुने दाऊमा छन् भन्ने लान्छना लगाउँथे। वीपी प्रधानमन्त्री भएपनि उनलाई भारतले आफ्नो कारिन्दा जस्तो खटाउन खोज्दथे। भारतको कारिन्दा बन्न चाहने मातृका कोइराला प्रधानमन्त्री बन्न पाएका थिए। तर वीपी कारिन्दाको हद पार गर्न चाहँदैनथे। कतिपय विदेशी नीतिमा वीपी र भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुबीच कुरा मिल्दैनथ्यो।

वीपी केही मात्रामा भएपनि संकाहा नै थिए। जसले गर्दा इगोको रुपमा लिन्थे। यसलाई भारतले सहन सकेन र दुई तिहाईको सरकार भएपनि भारतको सहयोगमा महेन्द्रले ढाले। बीपीको सरकार ढाल्दा महेन्द्रले भारतलाई के उपहार दिए त्यो अहिले वहसको विषय बनेको छ।

प्रजातन्त्रको कू भएपछि भारतीय संसदमा कुरा उठेको थियो। त्यतिखेरको भारतीय सरकारी पत्रिकामा छापिएको समाचार पढ्दा जवाहरलाल नेहरुले ‘हाम्रोलागि राजा महेन्द्र र बीपी कोइराला बराबर मित्र हुन्’ भनेर सांसदहरुको आक्रोश साम्य पारेका थिए।

वीपी जेलमा बस्नु परेको थियो। पछि निर्वासित हुँदा फेरि भारतका प्रधानमन्त्री इन्दिरा गान्धीले दुःख दिन थालिन्। वीपीलाई नेपाल आउन बाध्य पारियो। नेपालमा दुःख दिने राजाले जे पनि गर्न सक्ने स्थिति भएकोले उनले राष्ट्रियत मेलमिलापको नीति अवलम्बन गरे। राष्ट्रियताको मामलामा राजा र मेरो घाँटी जोडिएको छ समेत भने। यसरी हेर्दा कहिले राजासँग मिल्ने, कहिले सशस्त्र आन्दोलन गर्ने, कहिले भारतका अन्य सिद्धान्तधारीहरुको सहयोगी बनेर बसे।

विश्वका समाजवादीहरुबाट प्रभावित भएका वीपी कोइरालाले पूँजीवाद मान्दैनथे। तर उनका उत्तराधिकारीहरु पूँजीवादको चास्नीमा डुवुल्की मार्न थाले। भन्नेबेलामा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भनेपनि राष्ट्रको हीतमा कुनै नदीको सम्झौता भएको देखिँदैन। प्रजातन्त्र भनेपनि कोइराला परिवारको व्यक्तिगत आचरणमा प्रजातान्त्रिक संस्कार देखिएन भन्नेहरु धेरै छन्।

दाजुभाइमै लुछाचुडी गरेको उदाहरण धेरै छ। नेपाली कांग्रेस अहिलेको स्थितिसम्म आइपुग्दा विपी कोइरालालाई मागी खाने भाँडो मात्र बनाएका छन्। नेपालको भौगोलिक परिवेष, राजतन्त्रको वर्चश्व, भारतको प्रभाव, चीनको उदासिनता, अमेरिका र बेलायतको स्वार्थजस्ता कारणहरुले बीपीले चाहे अनुसार गर्न पाएनन्।

तर विश्वको कुटनीतिलाई ख्याल गरेर सम्झौतामा गएर विस्तारै परिवर्तनका खाकाहरु तयार गरेका भए बीपीले धेरै कुरा गर्न सक्दथे। तर उनको जीवन धेरै जेलमा बित्यो, निर्वासनमा बित्यो, विरामी भएर थलापरे। उनले यसलाई अवसरमा बदलेर साहित्य सृजना गरे। निर्भिक नेताको पर्यायवाची बने।

तर वीपी कोइराला पहिलेदेखिनै नै समाजवादी थिएनन्। नत उनी अन्त्यसम्म समाजवादी भएर बसे। बीपी सधैं समाजवादमा अडीग रहन सकेनन्। राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि राजासँग सम्झौता गरे। राजाको आवश्यकता महशुस गरे। राजासँग मिलेर जानु पर्दछ भन्ने कुरालाई अघि सारेर राष्ट्रियताको मुद्दालाई बढी प्राथमिकता दिन थाले। भारतको चंगुलबाट नेपाललाई मुक्त गर्नुपर्ने नै उनको एकमात्र मिशन थियो। त्यो मिशनलाई गिरिजाप्रसाद कोइरालाले अनुशरण गर्न सकेनन्।

सुशील कोइरालाले भने प्रधानमन्त्री हुँदा वीपीको सोचलाई कार्यान्वयन गर्न अग्रसर भए र भारतले नचाहँदा नचाहँदै पनि संविधान जारी गरे। तर कांग्रेसको अहिलेको नेतृत्वमा वीपीको सिद्धान्त अनुशरण गर्ने कुनै धुन नै छैन। सबै पद पद पद भन्दै भौंतारिरहेका छन्। मदन भण्डारीले भन्ने गरेजस्तै सिद्धान्त भनेको भैसीको अगाडि मुरली बजाउनु जस्तै हो भन्ने उक्ति कांग्रेसमा लागू भइरहेको छ।

वीपीको जन्मजयन्तीको अवसर पारेर कम्तिमा कांग्रेसले अहिलेको २१ शताव्दीको परिवर्तनलाई आत्मसाथ गर्ने गरी वीपी कोइरालाको समाजवादलाई परिमार्जन गरेर अगाडि बढ्न सक्नु पर्दछ। यो गर्न सक्ने व्यक्तित्वहरु यूवाहरुमा प्रसस्त छन्। तर बुढाहरुले आजिवन राजनीति गर्ने भुतसवार छ।

अहिलेको अवस्थामा नेपाली कांग्रेसको महाधिवेशन आउँदैछ । प्रदीप गिरी, डा. शेखर कोइराला, चन्द्र भण्डारी, गगन थापा, विश्वप्रकश शर्मा जस्ता धेरै छन् जसले सिद्धान्तको आधार तय गरेर महाधिवेशनलाई सदुपयोग गर्न सक्नु हुन्छ। वीपी जयन्तीले कांग्रेसजनमा शैद्धान्तिक राजनीतिमा फर्किने अवसर सृजना गरोस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *