नारायणी नदीको उफानमा मध्यबिन्दु नगरपालिकाका बस्ती, २२ घरपरिवार विस्थापित

डिसी नेपाल
६ साउन २०७७ २०:५०

काठमाडौं। नारायाणी नदीमा आएको बाढी नवलपुर जिल्लाको मध्यबिन्दु नगरपालिकाका केही गाउँमा पसेपछि जोखिममा परेका बस्तीहरुलाई सुरक्षित स्थानमा सारिएको छ।

नगरपालिकाका मेयर चन्द्रबहादुर रानाले मध्यबिन्दु नगरपालिकाको वडा नम्बर २ को शेरी गाउँका २२ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए। उनले फोनमा भने, ‘ मध्यबन्दिु नगरपालिकाका ३, २ ४ ६ १२ र १५ नम्बर वडाका तटीय क्षेत्रमा नारायणी नदीले कटान गरेको छ। २ नम्बर वडाको शेरी गाउँको २२ घरपरिवारलाई सारिएको छ। नगरपालिकाले उनीहरुलाई खाना र बस्ने व्यवस्था गरेको छ।’

उनका अनुसार १५ नम्बर वडाको चिसापानी गाउँ डुबानमा परेको छ। त्यहाँबाट पाल्तु जनावरहरुलाई सारिएको छ। मानिसहरु भने घरको दोस्रो तल्लामा बसेर सुरक्षित रहेको भन्दै नसारिएको मेयर रानाले जानकारी दिए। यस्तै वडा नम्बर १२ को तमासपुरमा दुई घर डुबेको र मानिसलाई झ्याल्टुंग डाँडाको आर्मीले उद्धार गरेको छ।

मंगलबार नवलपुरमा पहिरोमा परी ४ जनाको मृत्यु भएकोसमेत उनले जानकारी दिए। उनले विनय त्रिवेणी गाउँपालिकामा पहिरोमा परी २ जनाको र पुलिंगटार गाउँपालिकामा पहिरोमा परी २ जनाको मृत्यु भएको जानकारी दिए। यस्तै पहिरोका कारण मंगलबार दुई घण्टासम्म पूर्व–पश्चिम राजमार्गसमेत अवरोध भएको उनले बताए। उनका अनुसार जिल्लाका अन्य तटीय क्षेत्रमा पनि नारायणी नदीले कटान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *