५ हजार जनाको हत्यामा संलग्न आरोपी ९३ वर्षको उमेरमा दोषी ठहर

डिसी नेपाल
९ साउन २०७७ १३:५१

काठमाडौं। जर्मनीको एक अदालतले बिहीबार ९३ वर्षका ब्रुनो डीलाई दोषी ठहर गरेको छ । उनीमाथि ५ हजार २३२ यहुदीहरुको हत्यामा सहयोग गरेको आरोप थियो । दोस्रो विश्वयुद्धको क्रममा नाजीहरुले यहुदीहरुको कत्लेआम गरेका थिए । त्यस क्रममा ब्रुनो डी नाजी सैनिक थिए । बिहीबार हमबर्गको अदालतले ९३ वर्षका ब्रुनोलाई दोषी ठहर गरेको हो ।

दोस्रो विश्वयुद्धका क्रममा भएको यो भयानक नरसंहारका क्रममा गरिएको कत्लेआममा अदालतले ब्रुनोलाई जुन हत्याहरुमा दोषी ठहर गर्यो तीमध्ये धेरैको टाउकोमा पछाडिबाट गोली हानेर हत्या गरिएको थियो । रोयटर्सका अनुसार दोस्रो विश्वयुद्धमा स्टटहोफमा करिब ६५ हजार मानिस मारिएका थिए र तीमध्ये अधिकांश यहुदी थिए । उनीहरुलाई टाउकोमा गोली हानेर, विषालु ग्यास च्याम्बरमा थुनेर मारिएको थियो ।

दोस्रो विश्वयुद्धमा हिटलरको आदेशमा बनाइएका ग्यास च्याम्बर आज पनि जर्मनीमा देख्न सकिन्छ । यी ग्यास च्याम्बर कैदीहरु, त्यसमा पनि विशेष गरी यहुदीहरुलाई मार्नको लागि बनाइएको थियो । हमबर्ग कोर्टले नाजीहरुको समयको अन्तिम मुद्दामा ब्रुनोलाई दिइएको २ वर्षको सजाय निलम्बित गरेको छ । दोषी ठहर गरिने समयमा ब्रुनो आफ्नो अनुहार नीलो रंगको फोल्डरले ढाकेर ह्वीलचेयरमा बसेका थिए ।

दोस्रो विश्वयुद्धको क्रममा ब्रुनो स्टटहोफ कन्सेन्ट्रेसन क्याम्पमा गार्ड थिए । ब्रुनोले अदालतमा आफ्नो क्याम्पमा उपस्थितिले मात्र आफूलाई हत्यामा सहभागी भएको प्रमाणित नगर्ने दावी गरेका थिए । अदालत उनको यो भनाइसँग सहमत भएन । ब्रुनोलाई जुन आरोपमा दोषी ठहर गरियो ती अपराध १९४४ अगष्टदेखि १९४५ को अप्रिलसम्ममा भएका थिए । त्यसबेला ब्रुनोको उमेर १७ वा १८ वर्ष थियो । ब्रुनोले युद्ध अपराधको लागि अदालतमा आफ्नो अन्तिम बयानमा पीडितलाई पर्न गएको पीडाको लागि उनीहरुका परिवारसँग माफी मागे तर हत्याको जिम्मेवारी लिन अस्वीकार गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *