पुल नहुँदा स्थानीयलाई सास्ती

डिसी नेपाल
११ साउन २०७७ ७:२०

सर्लाही । हुलाकी सडकअन्तर्गत जिल्लाको ब्रम्हपुरी गाउँपालिका र मलङ्गवा नगरपालिकाको मध्यभाग भएर बग्ने सखुअवा खोलामा पक्की पुल नहुँदा सर्वसाधारण समस्यामा परेका छन्।

हिउँदको समयमा खोलामा पानी नहुने भए पनि वर्षायाम शुरु भएपछि खोला वारपार गर्नुपर्दा जोखिमपूर्ण तवरले बाँसको कच्ची पुल बनाएर खोला तर्नुपर्ने बाध्यताका कारण सो क्षेत्रका स्थानीयवासी मारमा परेका हुन् । सो हुलाकी सडक भएर आवतजावत गर्ने यात्रु स्थानीयवासीले बनाएको बाँसको अस्थायी पुलबाट रकम तिरेर खोला तर्न बाध्य भएको स्थानीयवासी रामकरण महतोले बताए। सखुअवा टोलका केही स्थानीय युवाले सो कम्ची अस्थायी पुलबाट साइकल तारेको प्रतिसाइकल ५० र मोटरसाइकल तारेको १५० असुल्दै गरेको स्थानीयवासीको भनाइ छ।

निर्माण शुरु गरेको वर्षौ भए पनि ठेकेदारको लापरवाही तथा ढिलासुस्तीका कारण अहिलेसम्म निर्माण सम्पन्न नभएको हो । बाँसको टेको र बाँसकै भाटा प्रयोग गरेर बनाइएको उक्त पुल अत्यन्तै कमजोर र साँघुरो भए पनि सो क्षेत्रका स्थानीय बासिन्दा तथा यात्रुलाई साइकल तथा मोटरसाइल लिएर वारपार गर्न बाध्य भएका छन्। अहिले बाँसका यस्ता अस्थायी पुल बाढीले कटान गरेका जिल्लाका दर्जनौँ स्थानका खोलामा बनाइएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *