सञ्चालन भएनन् महोत्तरीका अवरुद्ध सडकखण्ड

डिसी नेपाल
१३ साउन २०७७ १४:२१

जलेश्वर । लगातारको वर्षा र बाढीका कारण करिब एक महिनादेखि अवरुद्ध रहेको महोत्तरी जिल्लाको मुख्यमुख्य सडकखण्ड अझै सञ्चालन भएका छैनन्। दिनरात जुनसुकै समयमा पनि पटक–पटक लगातारको भीषण वर्षा र जिल्लाको आधा दर्जनभन्दा बढी नदीमा आएको बाढीका कारण ठाउँठाउँमा क्षतिग्रस्त भएको जिल्लाको जलेश्वर–बर्दिवास, जलेश्वर–सम्सी, जलेश्वर–रौजालगायत सदरमुकामलाई राजमार्ग तथा अन्य जिल्लासँग जोड्ने सबै सडकखण्ड लामो समयदेखि अवरुद्ध रहेका छन्।

जिल्लाका प्रायः सबै सडकखण्डमा स्तरोन्नतिको काम भइरहेका बेला अबिरल वर्षा र पटक–पटकको बाढी आएर सडकमा कटान र डुबान गरेपछि सडक क्षतिग्रस्त भएर आवतजावत अवरुद्ध भएको छ। जिल्लाको एक सडक बाहेक सबै सडकखण्ड अहिले अवरुद्ध रहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए।

अब विस्तारै सबैतिर पसेका बाढीका पानी घटेको, नदीका बहाव कम भएको र दुई÷तीन दिनदेखि घाम पनि लागिरहेका कारण ती सबै सडकखण्ड खुलाउनका लागि आवश्यक पहल गरिएको र सम्बन्धित निकायले कामकाज गर्न तयार समेत भएको उनले बताए। जिल्लाको विभिन्न भागमा पटक–पटक भएको भीषण वर्षाका कारण हिलो र पानी जमेर कुनै पनि बाटोमा सानो सवारी साधन टेम्पु, अटोरिक्सा र मोटरसाइकल चलाउने अवस्था नभएपछि जिल्लाका सबै बाटो अवरुद्ध भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *