माधव नेपाललाई ओलीको प्रस्ताव : पार्टी जिम्मा लिने कि माओवादीलाई बुझाउने ?

मदन कोइराला
१४ साउन २०७७ १०:३३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई शुक्रबार राति गोप्यरुपमा बालुवाटार आउन निम्त्याए।

सशस्त्र प्रहरीको साइरनवाला पछुवा टोली नलिइकन नेता नेपाल बालुवाटार पुगे। एकअर्काका बीच गहिरो तिक्ततापूर्ण सम्बन्ध बनाइसकेका यी दुई नेताबीच सो दिन भएको कुराले अहिले नेकपाभित्रको आन्तरिक विवादलाई थप अलमल र उल्झनमा पारेको छ।

आखिर के भयो त्यो रात ?
पछिल्लो समय नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ। लामो समयसँगै काम गरेका नेता माधव नेपालले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर पार्टीभित्र ओलीका विपक्षमा दह्रो मोर्चाबन्दी गरेका छन्। केही दिनअघिको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको अर्ली महाधिवेशनको प्रस्तावलाई एक्कासि समर्थन गरेपछि दाहालले प्रधानमन्त्री ओलीसँग शक्ति साझेदारीको सम्झौता गरेको आशंका नेपालपक्षलाई परेको थियो।

तर, अध्यक्ष दाहाल अर्ली महाधिवेशनको अडानमा टिकिरहन सकेनन्। माधव नेपाल समूहसँग मिलेर विगतमा दुवै पदबाट ओलीको राजीनामा गराउने, नगरे पार्टीका बैठकहरुबाट हटाउने निर्णय गर्ने कुरामै फर्किएका थिए दाहाल।

पार्टी एकताको एउटा पक्ष भएकाले ओलीले दाहालसँग सम्झौताको प्रयास गरे पनि त्यो पार लागेन। त्यसपछि पूर्वएमाले समूहलाई नै एकताबद्ध बनाउनेतर्फ ओलीको आन्तरिक रणनीति केन्द्रित भयो। यही रणनीतिको एउटा पाटो थियो, शुक्रबार रातिको ओली नेपाल गोप्य वार्ता।

स्रोतका अनुसार नेता नेपाल बालुवाटारमा राति झण्डै दुई घण्टा बसेका थिए। त्यो बीचमा प्रधानमन्त्री ओलीले नेता नेपाललाई प्रधानमन्त्रीको रुपमा आफूले पाँच वर्षे कार्यकाल पूरा गरेपछि बाँकी जीवन आराम गरेर बिताउने चाहना व्यक्त गरेका थिए।

उनले आफूपछि पार्टीको नेतृत्व नेता नेपालले गर्ने भन्दै त्यसका लाग तयार रहन समेत आग्रह गरेका थिए। सुरुमा लामो भूमिका बाँधेका ओलीले पछि आक्रामक रुपमा प्रस्तुत हुँदै नेता नेपाललाई पार्टीको जिम्मा तपाइँले लिने कि माओवादीलाई बुझाउने भन्दै प्रश्न गरेको बालुवाटार स्रोतले जनाएको छ।

‘म प्रधानमन्त्रीको पाँच वर्षे कार्यकाल पूरा गरेपछि बाँकी जीवन आराम गरेर बिताउने सोचमा छु। त्यसपछि पार्टीको नेतृत्व तपाइँले गर्ने हो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘होइन म लिन्न भन्नुहुन्छ भने माओवादीलाई पार्टीको नेतृत्व बुझाउनुपर्ने हुन्छ, बुझाइदिन्छु। तपाइँले किन दुःख गर्नुहुन्छ?’

जीवनभर दुख गरेर बनाएको पार्टी माओवादीका हातमा सुम्पने कि नसुम्पने? तपाईं नै माओवादीलाई पार्टी बुझाऊँ भन्नुहुन्छ भन्नु हुन्छ भने बुझाऔं भन्दै ओलीले नेता नेपाललाई अप्ठेरोमा पारेका थिए। प्रधानमन्त्री ओलीले पार्टी माओवादीलाई बुझाउने कि नेतृत्व लिने? भन्ने प्रश्न नेता नेपाललाई गरेका थिए।

‘म प्रधानमन्त्रीको पाँच वर्षे कार्यकाल पूरा गरेपछि बाँकी जीवन आराम गरेर बिताउने सोचमा छु। त्यसपछि पार्टीको नेतृत्व तपाइँले गर्ने हो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘होइन म लिन्न भन्नुहुन्छ भने माओवादीलाई पार्टीको नेतृत्व बुझाउनुपर्ने हुन्छ, बुझाइदिन्छु। तपाइँले किन दुःख गर्नुहुन्छ?’

नेता नेपाल निकट स्रोतले भने प्रधानमन्त्री ओलीले शुक्रबार राति बोलाएर प्राइभेट भेट गरौं भनेपछि नेपाल बालुवाटार गएको बतायो। ‘प्रधानमन्त्री ओलीले नै फोन गरेर भेटौं भनेपछि उहाँ (नेपाल) बालुवाटार जानु भएको हो। उहाँ पिएसओसहित जानु भएको हो। सुरक्षा निकायको गाडी स्वयंभू गएका कारण पछुवा गाडी थिएन,’ नेपाल निकट स्रोतले डिसी नेपालसँग भन्यो।

उक्त भेटमा प्रधानमन्त्री ओलीले महाधिवेशनपछि अध्यक्ष बन्न प्रस्ताव गरेको नेपाल निकट स्रोतले जनाएको छ। ‘अध्यक्षको प्रस्ताव त प्रधानमन्त्रीले प्रचण्डलाई पनि गर्नु भएको छ, बामदेव गौतमलाई पनि गर्नु भएको छ, उहाँले जसलाई पनि गर्नुहुन्छ,’ स्रोतले भन्यो, ‘शुक्रबारको भेटमा महाधिवेशनपछि अध्यक्ष बन्ने प्रस्ताव आएको हो। तर उहाँले (नेपाल) विधि र पद्धतिको कुरामा जोड दिनु भएको थियो।’

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि अहिले नेकपाभित्र पूर्व एमाले र पूर्व माओवादी गुटबीच कित्ताकाट हुन थालेको छ।  तर पूर्व एमालेबाट वरिष्ठ नेता माधव नेपाल, भलनाथ खनाललगायतले अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गरेका छन् । र, पूर्व माओवादीका प्रभावशाली नेताहरुले पनि प्रधानमन्त्री ओलीलाई समर्थन गरेका छन्।

दाहालले बहुदलीय जबजको विरोध गरेपछि…

नेकपाभित्र पद र व्यक्ति केन्द्रित विवाद जारी रहेका बेला अध्यक्ष पुष्पकमल दाहालले बहुदलीय जनवादको विरोधमा बोलेर सिद्धान्तको फायर खोलेका छन्।  पुष्पलाल स्मृति दिवसकाे अवसरमा  दाालको उक्त फायरपछि नेकपाभित्रको कुर्सी र पदको विवादलाई सैद्धान्तिक लेपन दिनतिर मोड्न थालिएको छ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता हुँदा एमालेको जनताको बहुदलीय जनवाद (जबज) र माओवादी केन्द्रको २१ औं शताब्दीको जनवादलाई मिलाएर जनताको जनवादका नाममा कार्यनीति बनाउने भन्ने विषय एकता महाधिवेशनमा टुंग्याउने सहमति थियो।

तर एकता महाधिवेशन नहुँदै अध्यक्ष दाहालले जबजको विरोध गरेपछि पार्टी एकताको सैद्धान्तिक आधार समाप्त भयो। दुई पार्टी एकीकरण गर्दा एकजना हस्ताक्षरकर्ताले नै पूर्व सहमितको विरोध गरेपछि पार्टी एकताको सैद्धान्तिक आधार समाप्त भएको हो। पार्टी एकतापछि हुने एकता महाधिवेशनको टुंगो नलाग्दै जबजको विरोध गर्नु दाहालको बाध्यता पनि हो।

नेकपाभित्रको अहिलेको विवाद प्रधानमन्त्री र अध्यक्षबाट केपी ओलीलाई हटाउनु नै हो। त्यसका लागि संसदीय दलमा बहुमत पुर्याउनुपर्छ। जहाँ दाहाल–नेपाल पक्षधरको बहुमत पुग्दैन। संसदीय दलमा राष्ट्रियसभा सदस्यसमेत गनिने भएकाले संसदीय दलमा ओलीको बहुमत छ।

त्यसमाथि ओलीले प्रधानमन्त्रीको रुपमा भारतीय हेपाहा प्रवृत्तिको विरोध गरेका कारण उनको राष्ट्रिय छवि छ। पार्टीभित्रको अहिलेको विवाद व्यक्ति केन्द्रित हो। दाहाललाई प्रधानमन्त्री चाहिएको छ भने माधव नेपाललाई अध्यक्ष वा आफू निकटका नेतालाई शक्तिशाली मन्त्री बनाउनु छ।

यस्तो अवस्थामा जनताको दैनन्दिन जीवनका लागि तत्काल आवश्यक पर्ने काममा सरकारका तर्फबाट राम्रो नतिजा दिन नसके पनि प्रधानमन्त्री ओलीले राष्ट्र र राष्ट्रियताका पक्षमा लिएको अडानले मुलुकलाई दीर्घकालीनरुपमा असर पर्ने भएकाले अहिले ओलीको विरोध गर्दा कार्यकर्ता र जनतामा पनि पदका लागि विरोध गरे भन्ने सन्देश गएको छ।

उनलाई आफ्नो पूर्व माओवादी समूहलाई जोगाइ राख्न पनि चुनौती भएको छ। यी सबै कुरालाई विचार गरेर दाहालले सिद्धान्तको फायर खोलेका हुन्। यो फायरले सबैभन्दा बढी घाटा माधव नेपाललाई भएको छ ।

तत्कालीन एमालेको पाचौं महाधिवेशनमा पार्टीको कार्यनीति जनताको बहुदलीय जनवाद वा जनताको नौलो जनवाद भन्ने विषयमा निकै लामो वहश भयो। अन्तत: जनताको बहुदलीय जनवाद (जबज) लाई पाँचौं महाधिवेशनले पारित गर्यो। तत्कालीन महासचिव मदन भण्डारीको मृत्युपछि जबजको कार्यदिशालाई अंगीकार गर्दै माधव नेपालले लगातार १५ वर्षसम्म पार्टीमा एकछत्र राज गरे।

त्यही जबजको नाममा उग्रबामपन्थीलाई प्रजातान्त्रिककरण गर्ने काम भयो। आफ्नो जीवनको अधिकांश समय जबजलाई प्रयोगमा विताएका नेता नेपालले जबजको विरोध गर्ने दाहाललाई कसरी साथ देलान्?  नेपाललाई ओलीको कार्यशैलीप्रति चित्त बुझेको छैन। तर जबजको विरोधमा दाहाललाई साथ दिन नेपाललाई मुस्किल पर्ने विश्लेषण नेकपाभित्रै शुरु भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *