पाकिस्तानमा अमेरिकी नागरिकलाई अदालतभित्रै ६ गोली हानेपछि अमेरिकाले के भन्यो ?
काठमाडौं। पाकिस्तानको पेशावर शहरमा ईशनिन्दाको आरोप लागेका अहमदी समुदायका एक व्यक्तिलाई अदालतमा सुनुवाइको क्रममा न्यायाधीशकै अगाडि ६ गोली हानेर हत्या गरिएको छ । पुलिस अधिकारी एजाज अहमतले अल जजीरालाई बताए अनुसार तहरीर अहमद नसीमलाई बुधबार एक जिल्ला अदालतमा सुनुवाइको क्रममा ६ गोली हानिएको थियो ।
मृतक अमेरिकी नागरिक हुन् । पुलिस अधिकारीका अनुसार हत्यारालाई घटनास्थलबाट गिरफ्तार गरिएको छ । उनको पहिचान खालिद खानको रुपमा गरिएको छ । उनले आफ्नो गल्ती स्वीकार गरेका छन् । उनले इशनिन्दाको अपराध गरेकै कारण तहरीर अहमदलाई मारेको बयान दिएका छन् ।
अदालत छाउनी इलाकामा उच्च सुरक्षा क्षेत्रमा स्थित छ । यहाँ प्रान्तको विधानसभा भवन, पेशावर हाइकोर्ट, मुख्यमन्त्री सचिवालय र गभर्नर हाउस पनि अवस्थित छन् । अदालतमा उपस्थित वकिलले बताएअनुसार तहरीर अहमदविरुद्ध ईशनिन्दा कानुन अन्तर्गत मुद्दा चलिरहेको थियो । उनलाई पेशावर सेन्ट्रल जेलबाट अदालत ल्याइएको थियो ।
यो घटनापछि अमेरिकाले घटनाको निन्दा गरेको छ । अमेरिकी विदेश मन्त्रालयको दक्षिण एसियाली विभागले ट्वीट गर्दै भनेको छ ‘पाकिस्तानको अदालतमा मारिएका अमेरिकी नागरिक ताहिर नसीमको परिवारप्रति हामी समवेदना व्यक्त गर्दछौं । पाकिस्तानसँग अपिल गर्दछौं कि उसले आरोपीहरुविरुद्ध कडा कारवाही गरोस् र अगाडि यस किसिमका घटनाहरुमा रोक लगाओस् ।
We extend our condolences to the family of Tahir Naseem, the American citizen who was killed today inside a courtroom in Pakistan. We urge Pakistan to take immediate action and pursue reforms that will prevent such a shameful tragedy from happening again.
— State_SCA (@State_SCA) July 30, 2020
पुलिसले शव पोस्टमार्टमको लागि खैबर मेडिकल युनिभर्सिटीमा पठाएको छ । ईशनिन्दाको आरोपमा तहरीरलाई २०१८ मा गिरफ्तार गरिएको थियो । ईशनिन्दा पाकिस्तानमा निकै संवेदनशील मुद्दा हो । यहाँ केवल आरोप लागेकै भरमा आरोपी भीडको हिंसाको शिकार हुन्छन् ।
पाकिस्तानको कडा ईशनिन्दाको कानुन उल्लंघन गर्नेलाई मृत्युदण्ड समेत दिन सकिन्छ । केही अधिकार समूहहरुले कैयौं पटक व्यक्तिगत बदला लिनको लागि पनि यो कानुनको दुरुपयोग हुने गरेको बताएका छन् ।
पाकिस्तानका कैयौं क्षेत्रमा ईशनिन्दाका घटना भएका छन् जसमा अहमदी समुदायका व्यक्तिहरुलाई निशाना बनाइएको छ । १९७४ मा पाकिस्तानको संसदले अहमदी समुदायलाई गैर मुस्लिम घोषित गरिदिएको थियो । एक दशकपछि यो समुदायलाई मुस्लिम भन्नमै प्रतिबन्ध लगाइयो । उनीहरुलाई प्रचार गर्नर तीर्थयात्राका लागि साउदी अरब जान पनि प्रतिबन्ध लगाइएको छ ।
Facebook Comment