आउँदो बुधवारदेखि नेपालीहरुले जापान प्रवेश पाउने

ज्याक खड्का
१५ साउन २०७७ ११:५०

टोकियो। आगामी ५ अगष्ट बुधवारदेखि नेपालीहरुले जापान प्रवेश पाउने भएका छन् । जापानले कोरोना संक्रमणका कारण बाहिर रहेकाहरुलाई जापान प्रवेशको अनुमति दिएको हो । जापानको भिसा रहेकै अवस्थामा जापान बाहिर रोकिनु परेका नेपालीसहित सबै देशका नागरिकलाई पुनः प्रवेश दिने भएको हो ।

जापान पुनः प्रवेश अनुमति रि-ईन्ट्री विमानस्थलमा फकर्ने गरी पुनः प्रवेशको फाराम भरेकाको हकमा एक बर्ष र अध्यागमनमा विशेष पुनः प्रवेश अनुमति लिएको छ भने भिसा बाँकी रहेको अवधिसम्ममा त्यस्ता व्यक्तिहरु आगामी अगष्ट ५ तारिखबाट जापान आउन पाउने भएका छन् ।

कोरोना महामारीका कारण लगाइएको यात्रा प्रतिबन्ध र उडानको अनिमियताका कारण जापानबाट अन्य मुलुकमा गई फिर्ता आउन नपाएका विदेशीहरु यो योजनाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । यसमा हजार भन्दा बढी नेपालीहरु लाभान्वित हुने अनुमान गरिएको छ ।

जापानको परराष्ट्र मन्त्रालयले एक सूचना जारी गरेर निश्चित मापदण्ड पूरा गरेपश्चात विदेशी नागरिकहरूलाई अगष्ट ५ तारिखदेखि पुनः प्रवेश गर्न दिने स्पष्ट पारेको छ ।

जापान सरकारले कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्नको लागि १४६ देश र क्षेत्रहरुलाई यात्रा प्रतिबन्धमा राखेको छ । प्रतिबन्धित देशहरुको सूचिमा यही २४ तारिखबाट नेपाल समेत परेको थियो ।

जापान पुनःप्रवेशका लागि अब नेपालीहरुले कोरोना संक्रमण नभएको पिसिआर, आरडिटी वा एण्टिबडी मध्ये कुनै एक कोरोना भाइरसको संक्रमण नभएको प्रमाण पेश गर्नु पर्नेछ । यसका साथै जापानको बैध भिसा र म्याद नसकिएको रीइन्ट्री परमिट समेत हुनुपर्ने छ ।

सेप्टेम्बर १ तारिखपछि जापानमा रि इन्ट्रि गर्नेहरुको लागि जाँच रिपोर्ट फ्लाइट समय भन्दा ७२ घण्टा अगाडि देखि फ्लाइट हुने समय भित्रको मात्र मान्य हुने बताइएको छ । तर, कतिपय देशबाट भने यो ७२ घण्टाको नियम तुरुन्त लागू हुने बताइएको छ । नेपालको हकमा के हुने भन्ने खुलाइएको छैन ।

पुनःप्रवेश गर्न दिइने लक्षित विदेशी नागरिकहरूमा विदेशी विद्यार्थीहरु, प्राविधिक प्रशिक्षार्थीहरु र कम्पनीका कर्मचारीहरुलाई राखिएको छ । पुनःप्रवेश अनुमति पाएका विदेशी नागरिकहरूले जापान आएपश्चात पुन पिसिआर परिक्षण अथवा २ हप्ता सेल्फ सेल्फ क्वारेन्टिनमा बस्नुपर्ने जस्ता जापान सरकारले तोकेका नियमहरु अनिवार्य पालना गर्नुपर्ने छ ।

जापान प्रवेश गर्न आफ्नो देशमा भएको जापानी दूतावासबाट रि इन्ट्रि भएको देखाएर ठीक छ भन्ने नो–अब्जेक्सन लेटरसमेत लिनु पर्ने नियममा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *