२ दिनमै उल्टियो कुवेत सरकारको निर्णय, घर विदामा रहेका नेपाली तत्काल फर्कन नपाउने

डिसी नेपाल
१५ साउन २०७७ १४:१८

काठमाडौँ । कोरोना महामारीअघि घर विदामा आएका नेपालीहरु तत्काल कुवेत फर्कन नपाउने भएका छन् । २ दिनअघि नेपालसहितका २० देशबाट उडान संचालन गर्न दिने निर्णय गरेको कुवेत सरकारको निर्णय २ दिनमै उल्टिएपछि नेपालसहित ७ देशबाट उडान संचालन नहुने भएको हो।

यसअघि कुवेतले कोरोना महामारीको कारण बन्द रहेको अन्तर्राष्ट्रिय व्यवसायिक उडानहरु सुचारु गर्ने घोषणा गरेको थियो । त्यहाँको नागरिक उड्डयन महानिर्देशनालयले पहिलो चरणमा १ अगष्ट अर्थात साउन १७ गतेदेखि नेपालसहित २० देशका लागि औपचारिक रूपमा व्यवासायिक हवाई उडान सुचारु गर्ने निणर्य गरेको थियो ।

तर, विहीबार बसेको कुवेतको मन्त्रिपरिषद्को बैठकले नेपालसहित ७ देशका नागरिकहरुलाई कुवेत प्रवेशमा प्रतिवन्ध लगाएको छ । अब बाँकी १३ देशबाट मात्र उडान सुचारु हुनेछ । स्थानीय सञ्चारमाध्यमका अनुसार नेपालसहित बंगालादेश, फिलिपिन्स, भारत, श्रीलंका, पाकिस्तान र इरानका नागरिकहरुलाई विहीवारको क्याबिनेट बैठकले तत्कालको लागि प्रतिबन्ध लगाउने निणर्य गरेको हो । यी देशहरुको आवागमनमा लगाइएको प्रतिबन्ध कहिले फुकुवा हुन्छ भन्ने विषयमा भने केही खुलाइएको छैन ।

यसअघिको निर्णयअनुसार यूएई, बहराइन, ओमन, लेवनान, कतार, जोर्डन, इजिप्ट, बोस्निया, हर्जेगोभिना, इथियोपिया, बेलायत, टर्की, स्वीजरल्याण्ड, जर्मनी र अजरबैजानबाट भने १ अगष्टदेखि उडान सुचारु हुनेछन् ।

व्यवसायिक उडान सुचारु हुने भएपछि कोरोनाको कारण कुवेतमा समस्यामा परेका नेपाली स्वदेश फर्कन तथा घरविदामा आएका नेपाली कुवेत फर्कन सहज हुने अपेक्षा गरिएको थियो । तर, त्यहाँको सरकारले नयाँ नियम जारी गर्दै नेपाललाई प्रतिबन्ध लगाएपछि घरविदामा आएका नेपाली फर्कन नपाउने भएका छन् । चार्टर्ड जहाज उडाएर कुवेतमा समस्यामा परेका नेपालीहरुलाई सरकारले स्वदेश फर्काइरहेको छ । तर, सीमित संख्यामा उडाइएका जहाजले त्यहाँबाट फर्कन चाहाने नेपालीको भार थेग्न सकेको छैन । त्यसैले पनि त्यहाँ रहेका नेपालीले नियमित उडानको प्रतिक्षा गरेर बसेका थिए ।

यद्यपि नेपालले भदौ १ बाट मात्र अन्तर्राष्ट्रिय उडान खोल्ने घोषणा गरेकाले कुवेतले अहिले नै प्रतिबन्ध फुकुवा गरेपनि २ हप्ता उडान संचालन हुने सम्भावना भने थिएन । नेपाल कोरोनाको उच्च जोखिमा रहेको आँकलन गर्दै कुवेतले नेपाली नागरिकलाई प्रतिबन्ध लगाएको अनुमान गरिएको छ । नेपालले अन्तराष्ट्रिय उडान खुलाउन अझै २ हप्ता बाँकी छ । कुवेत सरकारले त्यत्तिबेलासम्म प्रतिबन्ध हटाए नेपालीहरु कुवेत आवतजावत गर्न सक्ने सम्भावना रहनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *