सुरक्षा गार्ड कुटिएको भाइरल भिडियोबारे छानविन गर्दै दूतावास

बिनेश खनाल
१६ साउन २०७७ १०:४१

काठमाडौँ । मलेसियामा एक सुरक्षा गार्ड कुटिएको भिडियोबारे मलेसियास्थित नेपाली दूतावासले छानबिन गर्ने भएको छ । सामाजिक सञ्जालमा यो भिडियोमा कुटिने सुरक्षा गार्ड नेपाली भएको दावी गरिएको छ । तर, उनी नेपाली नै हुन् वा अन्य कुनै देशका नागरिक हुन् भन्नेबारे स्पष्ट भइसकेको छैन ।

नेपाली दावी गर्दै सामाजिक संजालमा भिडियो भाइरल भएपछि क्वलालम्पुरस्थित नेपाली दूतावासले आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ । केही दिनयता सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । भिडियोेमा एक व्यक्तिले निर्घात रुपमा युनिफर्ममा रहेका (सम्भवतः ड्युटीमा रहेका) एक सुरक्षा गार्डलाई कुटेको देख्न सकिन्छ । अहिले त्यो भिडियोलाई विशेषतः विदेशमा बस्ने नेपालीहरुले सामाजिक सञ्जालमा मलेसियामा नेपाली सुरक्षा गार्डलाई कुटिएको भनेर शेयर गरेका छन् ।

भिडियोमा मलेसियन भाषा बोल्ने एक व्यक्तिले सुरक्षा गार्डलाई ‘तैँले आफूलाई के भन्ने ठान्छस्, तँ यहाँ काम गर्न आको हो कि के गर्न ?’ भन्दै निर्घात रुपमा कुटेको देखिन्छ । तर, कुटाइ खाने ती सुरक्षा गार्डले भने कुनै प्रतिक्रिया जनाएका छैनन् ।

सामाजिक सञ्जालमा नेपाली भनेर भिडियो भाइरल भएपछि दूतावासले आवश्यक छानविन सुरु गरेको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताए । ‘यहाँको सेक्युरिटी एसोसिएशनमा हामीले त्यो भिडियोबारे छानविनको माग गर्दै अपिल गरेका छौँ,’ उनले डिसी नेपालसँग भने, ‘भिडियोको आधारमा कुटाइ खाने नेपाली नै हो भन्ने कुनै यकिन छैन । घटना कुन कम्पनीमा, कुन ठाउँमा भएको भन्ने एसोसिएशनले नै पत्ता लगाउनेछ । त्यसपछि कामदारमाथि भएको अन्यायको विषयमा कारवाही गर्न एसोसिएशनले नै प्रहरीमा उजुरी गर्नेछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *