सुरक्षा गार्ड कुटिएको भाइरल भिडियोबारे छानविन गर्दै दूतावास
काठमाडौँ । मलेसियामा एक सुरक्षा गार्ड कुटिएको भिडियोबारे मलेसियास्थित नेपाली दूतावासले छानबिन गर्ने भएको छ । सामाजिक सञ्जालमा यो भिडियोमा कुटिने सुरक्षा गार्ड नेपाली भएको दावी गरिएको छ । तर, उनी नेपाली नै हुन् वा अन्य कुनै देशका नागरिक हुन् भन्नेबारे स्पष्ट भइसकेको छैन ।
नेपाली दावी गर्दै सामाजिक संजालमा भिडियो भाइरल भएपछि क्वलालम्पुरस्थित नेपाली दूतावासले आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ । केही दिनयता सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । भिडियोेमा एक व्यक्तिले निर्घात रुपमा युनिफर्ममा रहेका (सम्भवतः ड्युटीमा रहेका) एक सुरक्षा गार्डलाई कुटेको देख्न सकिन्छ । अहिले त्यो भिडियोलाई विशेषतः विदेशमा बस्ने नेपालीहरुले सामाजिक सञ्जालमा मलेसियामा नेपाली सुरक्षा गार्डलाई कुटिएको भनेर शेयर गरेका छन् ।
मलेसियामा एक नेपाली कामदारलाई कुटपिट गरेको यो दृश्य यस्तो पिडा आखिर कहिलेसम्म सरकार आफ्नो ज्यान दाउमा राखेर रेमिट्यान्स पठाउँने यि नै नागरिक हुन। pic.twitter.com/lNbAC1ehlJ
— Rama Wali / रमा ओलि (@Ramawali77677) July 30, 2020
भिडियोमा मलेसियन भाषा बोल्ने एक व्यक्तिले सुरक्षा गार्डलाई ‘तैँले आफूलाई के भन्ने ठान्छस्, तँ यहाँ काम गर्न आको हो कि के गर्न ?’ भन्दै निर्घात रुपमा कुटेको देखिन्छ । तर, कुटाइ खाने ती सुरक्षा गार्डले भने कुनै प्रतिक्रिया जनाएका छैनन् ।
सामाजिक सञ्जालमा नेपाली भनेर भिडियो भाइरल भएपछि दूतावासले आवश्यक छानविन सुरु गरेको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताए । ‘यहाँको सेक्युरिटी एसोसिएशनमा हामीले त्यो भिडियोबारे छानविनको माग गर्दै अपिल गरेका छौँ,’ उनले डिसी नेपालसँग भने, ‘भिडियोको आधारमा कुटाइ खाने नेपाली नै हो भन्ने कुनै यकिन छैन । घटना कुन कम्पनीमा, कुन ठाउँमा भएको भन्ने एसोसिएशनले नै पत्ता लगाउनेछ । त्यसपछि कामदारमाथि भएको अन्यायको विषयमा कारवाही गर्न एसोसिएशनले नै प्रहरीमा उजुरी गर्नेछ ।’
No ads found for this position


Facebook Comment