हामी कसरी ‘हरेऊ’ बन्दै छौं ?

लकडाउन जीवन र भविष्यको तर्कना

जिन्दगीलाई आफ्नो बुझाइ अनि अनुभवले कोही रंगमञ्च भन्छन् भने कोही खेल भन्छन् तर, मेरो बुझाइ र भोगाइमा जिन्दगी कुमालेको चक्र हो। त्यो चक्रमा कहिले के आउँदो रहेछ कहिले के। अहिलेको अवस्था कल्पनामै नभएको अवस्था हो। सोचेको थिइँन पराइ त पराइ नै भए, आफन्तको सामिप्यसँग पनि भाग्नुपर्ने, डराउनुपर्ने दिन पनि जीवनमा आउँछ भनेर।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९), जसको त्रासले हामीलाई ‘म, मेरो, र आफू’ भन्न सिकाउँदै थियो भने त्यसको महत्व पनि बुझाउँदै थियो। दुनियाँ अव म होइन हामी भन्नुपर्छ, सामुहिकतामा विकास खोज्नुपर्छ भन्दै सिद्धान्तमाथि सिद्धान्तका रटान दिंदै थियो । ठीक यहीबेला म र मेरो, आँफू र आफ्नो भन्नुपर्ने अवस्थामा पुर्याइदियो यो महामारीले। म र मेरोले बनाएको एक्लोपनले दिने दिग्दारीको त के कुरा गरौं।

सम्झनासम्म गर्दा पनि आत्तिने एक्लोपना, रित्तोपना अर्थात् एक हिसावले खोक्रोपनालाई जवर्जस्ती सहनै पर्ने अवस्थामा पुग्नुपर्ने भयो। यो खोक्रोपना कतिञ्जेललाई हो यसै भन्न सकिने अवस्था पनि छैन। २ जना संक्रमित देखिंदा मुलुक नै ठप्प थियो, हामी आत्तिएका थियौं र अति सतर्क पनि।

अहिले हजारौंको संख्यामा संक्रमितहरु बढेका छन्, त्रास उस्तै छ तर जसरी भए पनि आफू र आफ्नालाई यो परिस्थितिमा बचाउनु छ, त्यसका घरेलु उपायहरु खोज्नु छ र कसैलाई केही नभइदिए हुन्थ्यो भनेर परमात्मालाई पुकार्नु छ।

जीवन रंगमञ्च हुँदो हो त, अन्त कि त सुखद हुन्थ्यो कि त दुःखद्। जीवन खेल हुँदो हो त, कि जित हुन्थ्यो कि त हार। यहाँ त केवल अन्योल छ, अनभिज्ञता छ र अनुमानविहीन छ । फेरि पनि सुरु गरेको अवस्थामै आएर अड्किएको छ।

सायद् महामारी र त्यसपछिको न्यू नर्मल भनेको यही होला, आफू, आफ्नो, म, मेरो भन्नुपर्ने, अरुसंग भाग्नु पर्ने, तर्सनुपर्ने, शंका गर्नु पर्ने, टाढा बस्नुपर्ने। कोरोना भाइरसबाट बच्न र यसलाई नियन्त्रण गर्न गरिएको पहल लकडाउन (बन्दाबन्दी) को लामो अवधिले भने पक्कै पनि तीता मीठा अनुभव बटुल्ने अवसर दिएको छ।

जिन्दगी व्यस्त थियो बन्दाबन्दीको समय अगाडि। यतिबेला घरको चार दिवारभित्र बसेर सोच्दा लाग्छ कोरोना अघिको दिन चर्याको बेग्लै मज्जा थियो। निजी र कार्यालयको काममा समय व्यतित गर्दा एक प्रकारको रमाइलो दिन अनि आनन्दका रात बितिरहेका थिए। गुनासो पनि गरिन्थ्यो, ‘पर्सनल लाइफ नै भएन’।

यो महामारीले पर्सनल लाइफको चाहनालाई अति पर्सनल बनाई पूरा गरिदियो तर भय, त्रास र अनिश्चयसहितको कहालीलाग्दो भविष्य देख्ने गरी। ६ दिनको कार्य व्यस्ततापछिको शनिबार, एक दिनको बिदा व्यक्तिगत कार्य गर्न अपुग भन्ने गुनासा मेटाउने प्रयास त लकडाउनले पक्कै गरेको छ। तर, यसैसँगै दूरदराजमा मडारिएको कालो भविष्यको डर त्रासले सबैको मनमा विस्तारै जरो गाड्दै पनि गएको छ।

समय आफ्नो गतिमा बितिरहेको छ। न मैले समयलाई रोक्न दिनको सूर्यलाई हत्केलाले छेक्न सक्छु न रातको चन्द्रमालाई मुठ्ठी भित्र बन्द गर्न सक्छु। पल, घण्टा, दिन अनि रात गरेर समय बित्ने क्रम जारी छ । विस्तारै वरपरका जनजीवन सामान्य हुँदै गइरहेको छ र जनजीवन कोरोनाको भयसँग जिउन वाध्य हुँदै गएको छ र मेरो मन त्या भयसँग सम्झौता गर्न अझै तयार छैन।

मेरो जीवनको घडीको सुईले मलाई निश्चित समय देखाउन, बुझाउन र सम्झाउन भने सकिरहेको छैन। अब के हुन्छ? सामान्य हुने, खस्किने अथवा जीवनले नयाँ मोड लिने भन्ने बारेमा मेरो मानसपटलले अनुमान गर्न सकिरेहको छैन अझै पनि।

मनभित्रको उकुसमुकुसलाई काबुमा राख्न न औषधि पसल, न हस्पिटल न त आफन्तसँग नै समाधान छ। वास्तवमै समाधानभन्दा पनि धेर्यताको आवश्यक छ म अनि मेरो मनलाई भन्ने पनि बुझेको छु। तर, त्यो धैर्यता जुटाउन मलाई मुस्किल अनि हम्मे हम्मे परिरहेको छ आज भोलि। मलाइ थाहा छ, माहामारीको वास्तविकतालाई स्वीकार गरियो भने दुख घट्छ मनको अर्थात् त्यससंग जुध्ने उपायहरु निकाल्न पनि त्यो वास्तविकताको स्वीकारोक्ति जरुरी छ।

आफ्नो विनासबाट जोगिन हरियाली भएको ठाउँमा हुने सर्पले समयक्रममा आफ्नो रुप नै फेरेर हरियो बनेको कुरा कतै मैंले पढेकी थिए। हरियाहरुको बीचमा फरक रंग हुनेवित्तिकै आक्रमण हुनसक्ने र ज्यान जाने स्थितिमा सर्पको रंग हरियो बन्यो र त्यसको नाम नै हरेऊ सर्प बन्यो।

तर, मेरो मन महामारीको वास्तविकता स्वीकार गर्न किन तयार भइरहेको छैन बुझ्न सकेको छैन। हाँस्न खोज्छु, हाँसो फिक्का भइदिन्छ। रुन खोज्छु, मलाई कमजोर बन्न मन लाग्दैन। पोख्न सही शब्द अनि सही ठाउँको चयन गर्न सकिरहेको छैन।

सोच्न बाध्य हुन्छु । फर्केर हेर्छु ती दिनहरु अनि मनमा कता कता आग्रह गर्न मन लाग्छ, लकडाउनको त्रासमा बिताएको समय सपना भइदेओस्, एउटा डरलाग्दो सपना। तर, ब्युझँदा आफ्नै प्यारो ओछ्यान होस्। तर, वास्तविकता त्यस्तो छैन। विगतमा बिताएका ती दिन, महिना अनि वर्षहरु पो आज सपनाजस्ता लाग्न थालेका छन्, मीठा, सुखद सपना। जीवन फेरि त्यही विन्दुमा आएर अडिएको भान भएको छ। जसरी कुमालेको चक्र घुम्दै घुम्दै त्यही विन्दुमा आएर अडिन्छ ।

जीवन रंगमञ्च हुँदो हो त, अन्त कि त सुखद हुन्थ्यो कि त दुःखद्। जीवन खेल हुँदो हो त, कि जित हुन्थ्यो कि त हार। यहाँ त केवल अन्योल छ, अनभिज्ञता छ र अनुमानविहीन छ । फेरि पनि सुरु गरेको अवस्थामै आएर अड्किएको छ।

सकी नसकी धैर्यता जुटाइरहेको छु, यथार्थलाई स्वीकार गर्न। जीवन चक्रको सुईले एउटा निश्चित विन्दुतिर दोर्याउने आशामा उभिएको छु, प्रतिक्षामा छु। दुनियाँ नै अध्यारो चिर्ने अभियानमा छ, कसो उज्यालो नआउला ? बरु, त्यो उज्यालो कस्तो होला ? मैले, हामीले पहिला भोगेको जस्तै ? वा भोग्दै नभोगेको देख्दै नदेखेको, सुन्दै नसुनेको चहकिलो ? आखिर आशा जीवन जिउने आधार हो । पक्कै कालो बादल हट्छ त्यो पनि छिट्टै।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो