दाजुभन्दा धनी थिए अनिल अम्बानी, १५ वर्षमा यसरी मुकेश आकाश र अनिल पाताल पुगे

डिसी नेपाल
१७ साउन २०७७ ११:३२

मुम्बइ। १३ मार्च २००६ । यो त्यो दिन थियो जहिले अनिल अम्बानीको टेलिकम कम्पनीमा ठूलो मर्जर भएको थियो । यो दिन बोर्ड बैठकमा रिलायन्स इन्फोकम नामको कम्पनी रिलायन्स कम्युनिकेशन भेन्चर लिमिटेडमा मर्ज हुने निर्णय भएको थियो । यो मर्जरबाट रिलायन्स कम्युनिकेशन भेन्चर लिमिटेडको शेयर मूल्य ६७ प्रतिशत बढ्यो । यसको नतिजास्वरुप अनिल अम्बानीको नेटवर्थ बढेर ४५ हजार करोड रुपैयाँ भयो । त्यस दिन अनिलका दाजु मुकेश अम्बानीको नेटवर्थ ३७ हजार ८२५ करोड रुपैयाँ थिए ।

यो त्यो समय थियो जतिबेला भाइ अनिल दाजु मुकेशभन्दा धनी भएका थिए । यो दिनको एक हप्ता पहिले फोर्ब्सको धनीहरुको सूची सार्वजनिक भएको थियो जुन सूचीमा मुकेश अनिलभन्दा धनी थिए । फोर्ब्सको रिपोर्टअनुसार मार्च २००६ मा मुकेशको नेटवर्थ ८.५ अर्ब डलर र अनिलको नेटवर्थ ५.७ अर्ब डलर थियो ।

मुकेश अम्बानी १९८१ र अनिल अम्बानी १९८३ मा रिलायन्ससँग जोडिएका थिए । जुलाइ २००२ मा धीरुभाइ अम्बानीको निधनपछि मुकेश अम्बानी रिलायन्स ग्रुपका अध्यक्ष बनेका थिए । अनिल प्रबन्ध निर्देशक बने । नोभेम्बर २००४ मा पहिलो पटक मुकेश र अनिलको झगडा सार्वजनिक भयो । जून २००५ मा दुई दाजुभाइ छुट्टिए ।

मार्च २००७ मा मुकेश र अनिलको संयुक्त नेटवर्थ ७ अर्ब डलर थियो । यसअघि २००४ मा उनीहरुको संयुक्त नेटवर्थ ६ अर्ब डलर थियो । २००३ मा भने यी दुईको संयुक्त सम्पत्ति केवल २.८ अर्ब डलर थियो । अर्थात कारोबार सम्हालेको २ वर्षमै यी दुईको सम्पत्ति अढाइ गुणा बढेको थियो । मुकेश र अनिलको नेटवर्थ त्यो समय बढेको थियो जब लगातार २ वर्षदेखि धीरुभाइ अम्बानीको नेटवर्थमा गिरावट आइरहेको थियो । सन् २००० मा धीरुभाइ अम्बानीको नेटवर्थ ६.६ अर्ब डलर थियो जो २००२ मा गिरेर २.९ अर्ब डलरमा झरेको थियो ।

जुन २००५ मा दुई दाजुभाइ छुट्टिएको भए पनि कुन सम्पत्ति कसले पाउने भन्ने कुराको छिनोफानो हुन २००६ सम्म लाग्यो । छुट्टिएपछि मुकेश अम्बानीको भागमा पेट्रोलियम केमिकलको कम्पनी रिलायन्स इण्डष्ट्रिज, इण्डियन पेट्रो केमिकल कर्प लिमिटेड, रिलायन्स पेट्रोलियम, रिलायन्स इण्डष्ट्रियल इन्फ्रास्ट्रक्चर लिमिटेट जस्ता कम्पनी परे । भाइ अनिलले अनिल धीरुभाइ कम्पनी ग्रुप बनाए । यसमा आरकम, रिलायन्स क्यापिटल, रिलायन्स इनर्जी, रिलायन्स नेचुरल रिसोर्सेज जस्ता कम्पनी थिए ।

रिलायन्स ग्रुपको विभाजन हुनुपूर्व मार्च २००५ मा मुकेश र अनिलको संयुक्त सम्पत्ति ७ अर्ब डलर थियो । त्यसपछि २००६ देखि २००८ सम्म दुई भाइको सम्पत्तिमा खासै अन्तर थिएन । तर, २००९ मा आर्थिक मन्दी आयो । विश्वभरका धनीहरुको सम्पत्तिमा गिरावट आयो । मुकेश र अनिलको सम्पत्तिमा ठूलो फरक यहीँबाट आउन सुरु भयो ।

एकातर्फ अरबपतिको सूचीमा अनिलको स्थान खस्किँदै गयो र मुकेशको स्थान बढ्दै गयो । २००८ मा मुकेश ५ औं र अनिल छैटौं स्थानमा थिए । तर, आज आइपुग्दा अनिल अरबपतिको सूचीबाटै बाहिरिएका छन् । २००६ देखि अहिलेसम्म मुकेश अम्बानीको सम्पत्ति ९ गुणाभन्दा धेरैले बढेको छ । जबकि २०२० फेब्रुअरीमा अनिलले बेलायतको एउटा अदालतमा भनिसकेका छन् कि उनको नेटवर्थ जीरो छ र उनी टाट पल्टिइसकेका छन् ।

२००२ को समय थियो जतिबेला दाजुभाइ साथमा थिए । पिता धीरुभाइ अम्बानी पनि थिए । त्यसबेला रिलायन्स ग्रुपले रिलायन्स इन्फोकम कम्पनीमार्फत टेलिकम उद्योगमा प्रवेश गरेको थियो । त्यतिबेला फोनमा कुरा गर्नु महंगो थियो । त्यतिबेला रिलायन्सले सस्तो मूल्यमा ग्राहकहरुलाई भ्वाइस कलको सुविधा दियो । कम्पनीले नारा दिएको थियो ‘विश्व मुठीमा राख ।’

तर, धीरुभाइको मृत्युपछि रिलायन्स इन्फोकम भाइ अनिलको भागमा पर्यो । यो त्यो समय थियो जतिबेला मोवाइल फोनको बजार तीब्र रुपमा बढिरहेको थियो । तर, दुई दाजुभाइबीच एक सम्झौता भएको थियो । सम्झौता अनुसार मुकेशले भाइ अनिललाई नोक्सानी हुने गरी यस्तो कुनै पनि व्यवसाय सुरु नगर्ने सहमति भएको थियो । २०१० मा यो सम्झौताको अवधि समाप्त भयो ।

सम्झौता समाप्त भएसँगै २०१० मा मुकेशको रिलायन्स इण्डष्ट्रिजले ४ हजार ८ सय करोडमा इन्फोटेल ब्रोडब्याण्ड सर्भिस लिमिटेडको ९५ प्रतिशत शेयर खरिद गर्यो । आइबीएसएल देशको पहिलो र एकमात्र यस्तो कम्पनी थियो जसले देशका सबै २२ जोनमा फोरजी ब्रोडब्याण्ड स्प्क्ट्रम फैलाइसकेको थियो । पछि यसैको नाम परिवर्तन भएर रिलायन्स जियो बन्यो ।

५ सेप्टेम्बर २०१६ मा मुकेशले रिलायन्स जियो लञ्च गरे । सुरुवातमा कम्पनीले ६ महिनासम्म फोरजी डाटा र भ्वाइस कल निःशुल्क गरिदियो । यसको फलस्वरुप रिलायन्स जियो भारतभर तीब्र रुपमा फैलियो । भारतको टेलिकम रेगुलेटरी अथोरिटीका अनुसार २०१६ मा जियोले डेढ करोडभन्दा धेरै ग्राहक विस्तार गरिसकेको थियो । यो समयमा भाइ अनिलको रिलायन्स इन्फोकम कम्पनीको बजार शेयर पनि ८ प्रतिशतभन्दा धेरै थियो ।

समय बित्दै जाँदा प्राइस वारको कारण दाजु मुकेशको कम्पनीका ग्रहक बढ्दै गए र भाइ अनिलको कम्पनीका ग्राहक घट्दै गए । अप्रिल २०२० सम्म जियोका ३८ करोडभन्दा धेरै ग्राहक छन् जबकि रिलायन्सका ग्राहकको संख्या १८ हजारभन्दा तल झरिसकेको छ ।

जब विश्वमा आथिृक मन्दी आयो, विश्वभरका धनीहरुलाई ठूलो नोक्सानी भयो । मुकेश र अनिलको सम्पत्तिमा पनि भारी कमी आएको थियो । यसबाट दाजु मुकेशले त पार पाएर अघि बढे तर भाइ अनिल फस्दै गए । एकातर्फ दाजुको कारोबार बढिरहेको थियो, अर्कोतर्फ भाइको ऋण ।

आज स्थिति यस्तो छ कि अनिल टाट पल्टिने संघारमा छन् । अर्कोतर्फ मुकेश अम्बानीले भने आफ्नो कम्पनी रिलायन्स इण्डष्ट्रिजलाई ऋणमुक्त गराइसकेका छन् । ३१ मार्च २०२० सम्म रिलायन्स इण्डष्ट्रिजमाथि १.६१ लाख करोड रुपैयाँभन्दा धेरै ऋण थियो तर अहिले उनको कम्पनीमाथि कुनै ऋण छेन । जबकि अनिल अम्बानीमाथि १ लाख करोडभन्दा धेरै ऋण छ ।

एकतर्फ रिलायन्स इण्डष्ट्रियका कम्पनीहरुको मार्केट क्याप १२ लाख करोड रुपैयाँभन्दा धेरै भएको छ । अर्कोतर्फ अनिल अम्बानीका कम्पनीको मार्केट क्याप २ हजार करोडभन्दा तल झरिसकेको छ । रिपोर्टका अनुसार फेब्रुअरी २०२० सम्म अनिलका कम्पनीहरुको मार्केट क्याप १६४५.६५ करोड रुपैयाँ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *