नदीजन्य पदार्थको चोरी निकासी रोक्न आग्रह

डिसी नेपाल
१७ साउन २०७७ १८:०५

बुटवल । प्रदेश नं ५ को अर्थ, उद्योग तथा पर्यटन समितिले खानी उत्खनन र नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रदेश सरकारलाई आग्रह गरेको छ । समितिका सभापति दधिराम न्यौपानेको अध्यक्षतामा आज बुटवलमा बसेको बैठकले खानी तथा नदीजन्य पदार्थको व्यवस्थापन र सदुपयोग भए त्यसबाट समृद्धि हासिल गर्न सकिने जनाएको छ ।

बैठकले खानी उद्योगको पहुँचमार्ग वैकल्पिक हुनुपर्नेमा जोड दिएको समितिका सभापति न्यौपानेले जानकारी दिए । उनले प्राकृतिक स्रोत र साधनको जथाभावी दोहन रोक्न आग्रह गर्दै नदीजन्य पदार्थको चोरी निकासी रोक्न सके त्यसबाट राजश्वसमेत वृद्धि हुने बताए। नेपाली काँग्रेसका सचेतक निर्मला क्षेत्रीले पर्यटनसम्बन्धी विषय कार्यान्वयन भएको वा नभएको विषयमा अनुगमन आवश्यक भएको बताए ।

समितिका सदस्य तुलसी चौधरीले प्रहरी भएकै अवस्थामा शुद्धोधन गाउँपालिकाको दर्वाह उद्यानमा भएको तोडफोडको जानकारी दिँदै पर्यटन प्रवद्र्धनलाई प्रभावकारी बनाउन आवश्यक भएको बताए। सदस्य तुलाराम घर्तीमगरले खानी उत्खनन गर्दा पहुँचमार्ग निर्माण भए पहिरो जाने समस्या नहुने उल्लेख गर्दै उद्योगका लागि पहुँचमार्ग अनिवार्य छ भने । बैठकमा प्रदेशसभाका सदस्य कृष्ण न्यौपाने, कृष्णा केसी, सुनिता ठठेर, थामकुमारी थापालगायतले विभिन्न विषयमा सुझाव दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *