नेकपा विवाद : स्थायी कमिटीको बैठक स्थायी रुपमै रोकिएको हो?

मदन कोइराला
१८ साउन २०७७ १०:४५

काठमाडौं। सत्तारुढ दल नेकपाभित्रको विवाद जारी रहेका बेला अध्यक्ष पुष्पकमल दाहालले जारी विवादलाई केन्द्रीय कमिटीमा लैजानुपर्ने प्रस्ताव गरेपछि विवादले नयाँ मोड लिएको छ।

अध्यक्ष दाहालले बिहीबार महासचिव विष्णु पौडेललाई बोलाएर विवाद समाधान गर्ने तत्परतासहित केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा माहोल बनाउन आग्रह गरेपछि नेकपा विवाद नयाँ मोडमा पुगेको हो।

यसअघि १३ गते बस्ने तय भएको स्थायी कमिटी बैठक प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि स्थायी कमिटी बैठक अनिश्चित बनेको छ। स्थायी कमिटी बैठक अनिश्चित बनेका बेला अर्का अध्यक्ष दाहालले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव पौडेलमार्फत आग्रह गरेका हुन्।

पूर्व एमाले र पूर्व माओवादी केन्द्र मिलेर नेकपा गठन भएपनि सविचलाय, स्थायी कमिटी र केन्द्रीय कमिटी गठन भएका छन्। हालसम्म पोलिटव्यूरो गठन हुन सकेको छैन। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले साउन तीन गते बसेको सचिवालय बैठकमा एकता महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए, जसलाई अर्का अध्यक्ष दाहालले समर्थन गरेका थिए। तर माधव नेपाल पक्षधरको चर्को असन्तुष्टि पछि महाधिवेशन गर्ने विषयबाट पछि हटेका दाहालले अहिले केन्द्रीय कमिटी बैठक बोलाउनु पर्ने लविङ गर्न थालेका छन्।

‘स्थायी कमिटी कुनै निर्णयमा पुग्न सकेन भने जाने त केन्द्रीय कमिटीमा नै हो, तर केन्द्रीय कमिटीमा जानु पूर्व विधिवत रुपमा स्थायी कमिटी बैठक समापन हुनुपर्छ,’ नेकपा स्थायी कमिटी सदस्य मणि थापाले डिसी नेपालसँग भने, ‘अहिले चैतमा महाधिवेशन गर्ने घोषणा भइसकेको छ। महाधिवेशनमा जान नमान्ने अनि आफ्नो फाइदाका लागि केन्द्रीय कमिटीमा जाने विषय राजनीतिक भएन।’

‘स्थायी कमिटी बैठक नबसी केन्द्रीय कमिटीमा जाने कुरा संभव छैन,’  ‘विधान अनुसार केन्द्रीय कमिटी बैठक बस्नु पर्ने बेला भएको छ। तर त्यो भन्दा पहिला स्थायी कमिटी बैठक निष्कर्षमा पुग्नु आवश्यक हुन्छ।’

उनले सबै विषयको समाधान अब महाधिवेशनबाट खोज्नुपर्ने भन्दै त्यसका लागि स्थायी कमिटी बैठक विधिवत रुपमा समापन हुनुपर्ने बताए। साउन १३ गते अध्यक्ष दाहालको नेतृत्वमा बसेको स्थायी कमिटी बैठकले अर्को बैठकको मिति अध्यक्ष केपी ओलीसँगको सहमतिमा तोक्ने दुई अध्यक्षलाई जिम्मेवारी दिएको थियो।

‘स्थायी कमिटी बैठक नबसी केन्द्रीय कमिटीमा जाने कुरा संभव छैन,’ स्थायी कमिटी सदस्य वेदुराम भुसालले डिसी नेपालसँग भने, ‘विधान अनुसार केन्द्रीय कमिटी बैठक बस्नु पर्ने बेला भएको छ। तर त्यो भन्दा पहिला स्थायी कमिटी बैठक निष्कर्षमा पुग्नु आवश्यक हुन्छ।’

सविचलाय र स्थायी कमिटी बैठकले गरेको निर्णयलाई केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्ने विधानका व्यवस्था भएपनि अहिले स्थायी कमिटीलाई एउटा निष्कर्षमा नपुर्याइ केन्द्रीय कमिटी बैठक बोलाउने विषय उचित नभएको भुसालले उल्लेख गरे।

उनले स्थायी कमिटी बैठक केही समयका लागि स्थगित भएको उल्लेख गर्दै स्थायी कमिटी बैठक निष्कर्षमा पुर्याउनु पर्नेमा उनले जोड दिए। नेकपा विधान अनुसार प्रत्येक ६–६ महिनामा केन्द्रीय कमिटी बैठक बस्नुपर्ने हुन्छ। यसअघि गत माघ महिनामा केन्द्रीय कमिटी बैठक बसेको थियो। ‘विधान अनुसार केन्द्रीय कमिटी बैठक बस्ने बेला भयो,’ भुसालले भने, ‘तर अहिले स्थायी कमिटी बैठकबाट समाधान खोज्नु बुद्धिमानी हुन्छ। सचिवालय र स्थायी कमिटीबाट भएको निर्णय अनुमोदन गराउन केन्द्रीय कमिटीमा लैजाने हो।’

स्थायी कमिटी बैठकले आफ्नो कार्यभार पूरा गर्न नसकेका कारण अब केन्द्रीय कमिटीको बैठक बोलाउनुको विकल्प नभएको बताउँछन् स्थायी कमिटी सदस्य गणेश शाह। ‘स्थायी कमिटीले आफ्नो कार्यभार पूरा गर्न नसकेपछि अब केन्द्रीय कमिटीको बैठक बोलाउनुको विकल्प रहेन,’ शाहले भने, ‘अब स्थायी कमिटीको औचित्यमाथि नै प्रश्न उठेको छ। यस्तो अवस्थामा अब केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *