मेयरको पूरै परिवार संक्रमित, भन्छन् ‘वीरगञ्जलाई बचाउन सकिन, अरुको घरमा यस्तो नहोस्’

डिसी नेपाल
१८ साउन २०७७ १३:०९

काठमाडौं। कोरोना भाइरसले मुलुकलाई आफ्नो चपेटामा लिएको छ। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित पर्साको वीरगञ्ज  बनेको छ। वीरगञ्जमा मात्रै हालसम्म ११ जनाको मृत्यु भइसकेको छ। पर्सामा कुल संक्रमितको संख्या ५०७ पुगेको छ।

दुई नम्बर प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा मेयर विजय सरावगी आफैं संक्रमित बनेका छन्। चार दिनअघि संक्रमण देखिएका मेयर सरावगी अहिले आफ्नै घरमा आइशोलेशनमा बसेका छन्। मेयर विजय सरावगीसँग डिसी नेपालले गरेको कुराकानीको संपादित अंश

म विगत चार दिनदेखि आफ्नै घरमा आइशोलेशनमा बसिरहेको छु। मेरो परिवारका अन्य सदस्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। हामी सबैजना घरमा चिकित्सकको निगरानीमा आइशोलेशनमा छौं।

अहिले कोरोना संक्रमण मुलुभर फैलिएको छ, तर सबैभन्दा बढी प्रभावित वीरगञ्ज नै हो। यहाँ संक्रमितको संख्या र मृत्युदर अन्य ठाउँमा भन्दा बढी छ। हामीले सुरुदेखि नै वीरगञ्जलाई कोरोना मुक्त बनाउने निकै कोशिश गर्यौं। केन्द्र सरकार र प्रदेश सरकारलाई पनि योजना बनाउन आग्रह गर्यौं।

जतिबेला भारतबाट हजारौंको संख्यामा नेपालीहरु नेपाल प्रवेश गरिरहेका थिए, त्यतिबेला मैले तीन तहकै सरकारलाई बोर्डर खुला नगरौं भनेर भनेको थिए। बोर्डर खुल्ला गर्दा स्थिति भयावह हुने चिन्ता हामीलाई थियो। तर हाम्रो कुरा कसैले पनि सुनेनन्। त्यसको परिणाम आज सबैको सामु छ। बोर्डर खुल्ला गर्नु हाम्रो सबैभन्दा ठूलो भुल थियो। अहिले म धेरै कुरा गर्न सक्ने अवस्थामा छैन।

जतिबेला मुलुकमा कोरोनाको पहिलो केश देखा परेको थियो, त्यति बेला नै हामीले वीरगञ्जमा एक हजार बेडको आइशोलेशन बनाउन तयारी अवस्थामा राख्नुपर्छ भनेका थियौं। त्यो गर्न सकिएन। हामीलाई केही पनि अधिकार थिएन। हामीलाई कन्ट्रयाक ट्रेसिङ र स्वाब संकलन गर्ने मात्र अधिकार थियो। तै पनि हामीले स्वास्थ्य किट, पीसीआर मेशिनलगायत किनेर कामलाई अगाडि बढायौं।

तर पनि हामीले वीरगञ्जलाई बचाउन सकेनौं। नीति र योजना वीना कुनै पनि काम तार्किक निष्कर्षमा पुग्दैन। अहिले भएको पनि त्यही हो। तीनवटै तहका सरकारसँग यो रोगसँग कसरी रोक्ने भन्ने न नीति छ, न योजना नै छ। कोरोना नियन्त्रण गर्न तीनवटै तहका सरकार असफल भएका छन्। हामीले वीरगञ्जलाई बनाउन सकेनौं। अब अन्यत्र यस्तो अवस्था नआओस भनेर अनुरोध मात्रै गर्ने सक्ने अवस्थामा छौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *