भारतको सीमाछेउ शक्ति बढाउँदै चीन ! लद्दाखको नजिकै परमाणु बमवर्षक विमान तैनाथ

डिसी नेपाल
१९ साउन २०७७ १०:२७

काठमाडौं। भारत र चीनबीच बढ्दो तनावमा बीच भारतले केही दिनअघि राफेल लडाकू विमान ल्यायो । राफेल थपिनासाथ भारतले आफ्नो शक्ति बढेको उद्घोष गर्यो । तर, भू–उपग्रहले खिचेका केही तस्वीरमा भने चीनले भारतलाई राफेलको जवाफ दिने पूरै तयारी गरेको देखिएको छ । भारतले राफेलको प्रयोग गरेमा तत्काल त्योभन्दा खतरनाक प्रतिउत्तर दिने चीनको तयारी रहेको भू–उपग्रहले खिचेका तस्वीरमा देखिन्छ ।

भू–उपग्रहले खिचेका तस्वीरमा चीनले भारतसँगको सीमाक्षेत्र लद्दाख नजिकैको एयरबेमा लामो दूरीका परमाणु बमवर्षक विमान तैनाथ गरेको देखिएको छ । चीनको जनमुक्ति सेनाले वास्तविक नियन्त्रण रेखानजिक आफ्नो शक्ति बढाइरहेको छ । यसअघि चीनले नेपाल र भारतसँगको आफ्नो त्रिपक्षीय सीमा क्षेत्र लिपुलेकमा १ हजार सेनाको बटालियन तैनाथ गरेको खबर आएको थियो ।

भारतसँग वार्ता जारी राख्दै चीनले सीमा क्षेत्रमा शक्ति बढाउँदै गएपछि भारत सशंकित भएको छ । पछिल्लो समय सार्वजनिक भएका भू–उपग्रह तस्वीर चीनको काशगर एयरफोर्स स्टेशनका हुन् । यो एयरफोर्स बेस लद्दाख नजिकै छ । यी तस्वीरहरु एक ओपन इन्टेलिजेन्स सोर्सले ट्वीटरमा शेयर गरेको हो । यी तस्वीरमा ठूला बमवर्षकको साथमा अन्य लडाकू विमान पनि देखिएका छन् । ओपन इन्टेलिजेन्स सोर्सले काशगर एयरबेसमा तैनाथ लडाकू विमानहरुको बारेमा थप विवरण पनि दिएको छ ।

एयरबेसमा ६ वटा जियान एच–६ बमवर्षक विमान छन् । ६ मध्ये २ वटामा हतियार पनि जडान गरिएको छ । १२ वटा जियान जेएच–७ फाइटर बम्बर छन् । यी १२ मध्ये २ वटा हतियार जडित छन् । यसका अलावा शेनयांग जे ११÷१६ लडाकू विमान पनि तैनाथ छ । यसको मार हान्ने क्षमता ३ हजार ५५० किलोमिटर छ । यो विमानलाई चीनको सुखोइ–२७ पनि भनिन्छ किनकि यिनीहरुको आधारभूत मोडल रुसको सुखोइ फाइटर जेटको जस्तै छ र यसलाई चीनले आफ्नो आवश्यकता अनुसार परिमार्जन गरेर विकास गरेको हो ।

जियान एच–६ बम्बर परमाणु हतियार लिएर उड्ने क्षमतासहितको लडाकू विमान हो । काशगर एयरफोर्स लद्दाखबाट ६ सय किलोमिटर मात्र टाढा छ र जियान एच–६ बम्बरको उडान क्षमता ६ हजार किलोमटर छ । शेनयांग जे ११÷१६ विमान २ हजार ५ सय किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्छ । अहिले चीनसँग २५० भन्दा बढी शेनयांग जे ११÷१६ विमान छन् । यो जहाजमा ३० मिलिमिटरको तोप पनि जडान गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *