नासाका अन्तरिक्ष यात्रीहरु सकुशल पृथ्वीमा अवतरण

डिसी नेपाल
१९ साउन २०७७ १५:२६

वासिङ्टन। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दुई अन्तरिक्ष यात्रीलाई लिएर अमेरिकी अन्तरिक्ष यान आइतबार पृथ्वीमा सकुशल अवतरण गरेको छ।

अमेरिकाले झण्डै दुई दशकपछि पहिलो पटक मानव सहितको अन्तरिक्ष यान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाएको थियो।

यो अभियान अमेरिकी अन्तरिक्ष केन्द्र (नासा) र अमेरिकी धनाढ्य एलन मस्कले स्थापना गरेको निजी कम्पनी स्पेसएक्सद्वारा संयुक्त रुपमा संचालन गरिएको थियो। पछिल्लो उपलब्धिले अमेरिकाले अहिले पनि सुरक्षित रुपमा मानवलाई अन्तरिक्षमा पु¥याएर सुरक्षित रुपमा पृथ्वीमा अवतरण गराउने क्षमता रहेको देखाएको छ।

स्पेसएक्समा यात्रारत दुई अन्तरिक्ष यात्री फ्लोरिडा नजिकको समुद्री क्षेत्रमा प्यारासुट मार्फत अवतरण गरेका थिए।

अमेरिकाले सन् १९७५ मा अपोलो–सोयुज मिसन पश्चात् पहिलो पटक समुद्री इलाकामा अन्तरिक्ष यात्रीलाई ओरालेको हो। यस मिसनमा कमान्डर बब बेनकिन र डघ हर्ली सहभागी थिए।

अन्तरिक्ष अभियान सफल भएकामा नासाका वैज्ञानिकहरुले सन्तोष व्यक्त गरेका छन्। लागत बढेको भन्दै अमेरिकाले केही वर्षदेखि मानव अन्तरिक्ष अभियान स्थगित गरेको थियो।

दुई महिनाअघि अन्तरिक्ष यान प्रक्षेपणको अवलोकन गर्न फ्लोरिडा पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अभियान सफल र सुरक्षित रुपमा सम्पन्न भएकामा बधाई दिएका छन्।

सन् २०११ मा अन्तिम अन्तरिक्ष यान प्रक्षेपण गरेको अमेरिकाले अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाउन रुसको सहायता लिन थालेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *