जेल काण्डमा परी अफगानिस्तानमा मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

डिसी नेपाल
१९ साउन २०७७ २३:०४

काबुल। अफगानिस्तानको एउटा कारागारमा झण्डै २० घण्टा भएको भिडन्तमा परी मृत्यु भएकाहरुको सङ्ख्या ३७ पुगेको छ ।

देशको नान्गाहार प्रान्तमा पर्ने जललावादमा रहेको कारागारमा सोमबार भएको भिडन्तमा परी उनीहरुको मृत्यु भएको हो ।

प्रान्तीय सरकारका प्रवक्ता अतुल्लाह खोगियनीले आठ जना आक्रमणकारीहरुलाई मार्न सरकारी सुरक्षाकर्मीहरु सफल भएको दावी गरे।
सरकारी अधिकारीहरुले यो समाचार लेख्दासम्ममा सो घटनामा परी कुल ३७ जनाको मृत्यु भएको जनाएका छन् । मृत्यु भएकामध्ये आठ जना आक्रमणकारी भएपनि अरु २९ जनामा आम नागरिक, सुरक्षाकर्मी, कैदीका चौकीदार र कैदीहरु पनि रहेका वताइएको छ ।

सोही घटनामा परी शुरुमा २१ जनाको मृत्यु भएको र त्यसपछि कुल २९ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो ।

रक्तपातपूर्ण यस भिडन्त स्थानीय समयअनुसार आइतबार बेलुका साढे ६ बजेदेखि शुरु भएको थियो । भिडन्तका क्रममा कारबमलगायतका हात हतियारहरुको प्रयोग भएको अधिकारीहरुले जनाएका छन् ।

घटनामा परी अरु ५० भन्दा बढी घाइते भएको पनि प्रवक्ता कोगियनीले पुष्टि गरे। तर सुरक्षाकर्मी, आम नागरिक, जेल कर्मचारी, कैदीमध्ये कति घाइते भएका हुन भन्ने बारेमा भने उनले जानकारी दिएनन्।

घटनाका बारेमा अतिवादी इस्लामिक स्टेट (आइएस)का लडाकूहरुले जिम्मेवारी लिएको समाचारमा जनाइएको छ । यस क्षेत्रमा आइएसका लडाकूहरुले लामो समयदेखि हिंसात्मक गतिविधिहरु गर्दै आएका छन् ।

गत शुक्रबारदेखि मुस्लीम धर्माबलम्बीहरुको महान पर्व ईद पर्वका अवसरमा अफगान सरकार र मुख्य विद्रोही समूह तालिबानबीच तीन दिने युद्धविराम लागू गरिएको थियो । त्यसैगरी अफगान राष्ट्रपति असरफ घानीले ईदलगत्तै तालिबानसँग वार्ता शुरु हुने र त्यसपछि स्थायी युद्धविराम हुने बताएका थिए।

शान्ति प्रक्रिया अगाडि बढ्ने अपेक्षा भइरहेका बेलामा कारागारमा आक्रमण भएर ठूलो मानवीय क्षति भएपछि अफगानिस्तानको शान्ति प्रक्रिया बारे फेरि चिन्ता बढेको छ । रासस/सिन्ह्वा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *