गम्भीर अपराधमा बिरालो गिरफ्तार, जेलबाटै फरार !

डिसी नेपाल
२० साउन २०७७ १४:३१

काठमाडौं। गम्भीर अपराधको कारण एक बिरालोलाई गिरफ्तार गरेर जेलमा राखिएको थियो । तर, पछि बिरालो जेलबाट फरार हुन सफल भएको छ । घटना श्रीलंकाको हो । डेलीमेलको रिपोर्टअनुसार बिरालोलाई लागूऔषध र सिमकार्डको तस्करीको काममा प्रयोग गरिएको थियो ।

श्रीलंकाको उच्च सुरक्षा भएको वेलिकाडा जेलका खुफिया अधिकारीहरुले शनिबार बिरालोको माध्यमबाट संदिग्ध गतिविधि भएको जानकारी पाएका थिए । एक स्थानीय पुलिस अधिकारीका अनुसार बिरालोको साथबाट २ ग्राम हेरोइन, २ सिम कार्ड र एक मेमोरी चिप बरामद भएको थियो । पुलिसका अनुसार बिरालोको घाँटीमा एउटा प्याकेट बाँधिएको थियो जसमा सबै सामान राखिएका थिए ।

स्थानीय अखबार अरुनाका अनुसार आइतबार बिरालो जेलको सेलभित्रबाट फरार भएको हो । श्रीलंका लागूऔषधको गम्भीर समस्याको सामना गरिरहेको छ । पछिल्ला केही दिनयता श्रीलंकाको उच्च सुरक्षा भएको वेलिकाडा जेलमा कैयौं पटक लागूऔषध, फोन र चार्जर बरामद भएका घटना सार्वजनिक भएका छन् । गत हप्ता मात्र श्रीलंकाको पुलिसले कोलम्बोमा एउटा बाजलाई पक्राउ गरेको थियो । पुलिसका अनुसार त्यो बाजको प्रयोग पनि तस्करीको लागि भइरहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *