लकडाउन खुलेपनि बैंकहरुको निक्षेप र लगानी घट्दो

डिसी नेपाल
२० साउन २०७७ १६:२८

काठमाडौं। कोभिड–१९ को संक्रमण रोक्न गरिएको लकडाउन खुकुलो गरेपनि बैंकहरुको निक्षेप तथा लगानी भने घटिरहेको छ । कोरोना संक्रमण बढिरहेकाले उद्योगीहरुले नयाँ ऋण लिएका छैनन्।

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार असार मसान्तको तुलनामा बाणिज्य बैंकहरुको कर्जा लगानी ३७ अर्व रुपैयाँले घटेको छ। बाणिज्य बैंकहरुको कर्जा लगानी असार मसान्तसम्म २९ खर्ब ३ अर्ब रहेको थियो। साउन ९ गते घटेर २९ खर्ब १३ अर्ब ६१ करोड रुपैयाँ झरेकोमा साउन १६ गते शुक्रबारसम्ममा २८ खर्ब ६६ अर्ब ५ करोडमा सीमित भएको छ।

कोरोना संक्रमण नघटेकाले नयाँ लगानी खासै नभएको र पुरानो ऋण मिलाउन लगानी घटेको संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले जानकारी दिए।

त्यस्तै कर्जा विस्तार नहुदा बैंकहरुको कर्जा निक्षेप अनुपात (सिसिडि रेसियो ७२.०५) प्रतिशतमा झरेको छ।  त्यस्तै एक सातामा बाणिज्य बैंकहरुको निक्षेपमा पनि ६१ अर्ब रुपैयाँले वृद्धि भएको छ। साउन ९ गते वाणिज्य बैंकहरुमा ३४ खर्ब २६ अर्ब ९७ करोड निक्षेप रहेकोमा साउन १६ गतेसम्ममा ३४ खर्ब ८७ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।

असारको तुलनामा भने वाणिज्य बैंकहरुको निक्षेप पनि घटेको छ। असार मसान्तमा बैंकमा ३४ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप रहेको थियो।
कर्जा लगानी विस्तार नभई बजारमा तरलता बढेपछि बाणिज्य बैंकहरुले व्याजदर घटाइरहेका छन्।

तरलता अधिक भएपछि बैंकहरुले लगानी बढाउन व्याजदर घटाएर नयाँ नयाँ कर्जा योजना सार्वजनिक गरेका छन्।  उद्योग व्यापारलगायतका क्षेत्रमा कर्जा प्रभाव नहुने भएपछि बैंकहरुले घरजग्गा तथा सवारीसाधनमा लगानी गर्ने योजनाहरु ल्याइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *