अयोध्यामा राम मन्दिर निर्माणको शिलान्यास बुधवार दिउँसो

डिसी नेपाल
२० साउन २०७७ १८:४१

बीबीसी । अगस्ट पाँच तारिख बुधवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेश राज्यको अयोध्यामा राम मन्दिरको आधारशिला स्थापना गर्दैछन्।

चाँदीले निर्मित पाँचवटा ईँटा ३२ सेकेन्डभित्र मन्दिरको जगमा राखिसक्नुपर्नेछ। त्यसरी आधारशिला राख्ने शुभमुहूर्त दिउँसो १२ बजेर १५ मिनेट १५ सेकेन्डमा निस्किएको बताइएको छ।

सङ्क्रमणको त्रासका माझ तयारी

भारतमा अहिले कोरोनाभाइरस सङ्क्रमणको महामारी तीव्र गतिमा फैलिरहेको छ। केन्द्रीय गृहमन्त्री तथा प्रधानमन्त्री मोदीका निकट सहयोगी अमित शाह स्वयं सङ्क्रमित भएर अस्पताल भर्ना भएका छन्।

सत्ताधारी भारतीय जनता पार्टीका कैयौँ वरिष्ठ अधिकारी, एक पुजारी तथा कैयौँ प्रहरी पनि सङ्क्रमित भएका छन्। तर मन्दिरको शिलान्यास गर्ने योजना पूर्ववत् कार्यान्वयन हुने बताइएको छ।

रामको जन्मभूमि मानिएको उक्त ठाउँमा राम मन्दिरको निर्माण हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टीको एक प्रमुख निर्वाचन वाचा रहँदै आएको छ।

सन् १९९२ मा उक्त स्थलमा रहेको प्राचीन बाबरी मस्जिद भत्काइएपछि हिन्दू-मुस्लिम दङ्गा हुँदा हजारौँ मानिसको ज्यान गएको थियो। त्यसयता भारतीय जनता पार्टी तीनचोटि सत्तामा पुगिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *