फेसबुकमा टिप्पणी लेखेकै भरमा चौधरीलाई सात दिने स्पष्टीकरण

डिसी नेपाल
२१ साउन २०७७ ६:५४

वासिंगटन डिसी, अमेरिका। सामाजिक सञ्जाल फेसबुकमा आलोचनात्मक टिप्पणी लेखेको र संस्थाका अध्यक्ष, महासचिवलाई लेखेका पत्रमा उल्लेख भएको भाषा प्रयोग गरेको भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले सो संस्थाका निर्वाचित बोर्ड अफ डाइरेक्टर सत्यनारायण चौधरीलाई स्पष्टीकरण सोधेको छ।

एनआरएनए अमेरिकाका महासिचव पशुपति पाण्डेले हस्ताक्षर गरी जुलाई २८ तारिकमा सोधिएको सो स्पष्टीकरण पत्रमा बोर्ड अफ डाइरेक्टर चौधरीलाई ५ बुँदे आरोप लगाइएको छ।

निर्वाचित बोर्ड अफ डाइरेक्टर चौधरीलाई सात दिनभित्रै लिखित स्पष्टीकरण माग गर्दै उनको जवाफ चित्त बुझ्दो नभए अनुशासनको कारवाहीका लागि अनुशासन समितिमा पठाउने धम्की पनि दिइएको छ। एनआरएनए अमेरिकाको अनुशासन समितिको प्रमुख एनआरएनएकै अध्यक्ष सुनील साह छन्।

डिसी नेपाललाई प्राप्त सो स्पष्टीकरण पत्रमा लगाइएका सबै आरोपहरु चौधरीले गरेका आलोचनात्मक टिप्पणीमा आधारित देखिन्छन्। संसारकै सबैभन्दा बढी लोकतन्त्रिक अभ्यास हुने गरेको र अभिव्यक्ति स्वतन्त्रताको सम्मान हुने गरेको देश अमेरिकामा बसोबास गर्ने नेपाली मूलका व्यक्तिहरुको साझा संस्था एनआरएनले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको अर्थ लगाइएको छ।

उनलाई संघका अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तलाई उनको प्रमाणपत्रमा गरेको हस्ताक्षरको विरोध गरी सामाजिक सञ्जालमा लेखेको र सिधै अध्यक्ष पन्तलाई पनि पत्र लेखेर बिरोध गरी पदीय मर्यादाविरोधी काम गरेको, मिति उल्लेख नगरी विभिन्न समयमा संस्थाको खिलापमा सामाजिक सञ्जालमा पोष्ट गरेको आरोप लगाएएकाे छ।

यसैगरी संस्थाका अध्यक्ष र महासचिवलाई लेखेका इमेलमा निर्देशनात्मक भाषा परेको, हालै सम्पन्न साधारण सभा चल्दा चल्दै संस्थाका निर्णय भन्दै सामाजिक सञ्जालमा लेखेको, साधारणसभामा विधान कमिटीका चेयर तथा संस्थका उपाध्यक्षप्रति लक्षित गरी अमर्यादित शब्द प्रयोग गरेकोजस्ता आरोप लगाइएको छ।

गैरआवासीय नेपाली संघ, अमेरिका गत निर्वाचनदेखि नै चर्को विवादमा पर्दै आएको छ। आन्तरिक एकता कायम गर्न नसकेकाले संघको अमेरिकी नेतृत्व आफ्ना आलोचकहरुप्रति असहिष्णु बन्दै गएको र सामान्य फेसबुक स्ट्याटस लेख्दा पनि कारवाहीको लिखित धम्की दिन थालेको यस्ता घटनाले आन्तरिक विवादलाई थप मलजल गरेको छ।

निर्वाचित वोर्ड सदस्यलाई स्पष्टीकारण सोध्ने अधिकार महासचिवसँग बैधानिकरुपमा छ कि छैन भन्ने कुरा पनि यो स्पष्टीकरण पत्रसँगै एनआरएनए अमेरिकामा विवादको रुपमा उठ्ने देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *