विश्व सम्पदा भष्म गर्ने वितण्डा

डिसी नेपाल
२१ साउन २०७७ ९:४९

गएको मन्त्रिपरिषद्को बैठकले चितवन राष्ट्रिय निकुञ्जमा केही दिनअघि घटेको घटनामा परी मृत्यु भएको ठहर गर्दै राजकुमार चेपाङलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गर्यो।

यसले मृतकका आफन्तमा पुगेको अपुरणीय क्षतिमा कम गर्न नसके पनि उनीहरुको आलो घाउमा मल्हम पट्टी लगाउने प्रयास भने सरकारले गर्यो। पीडितको घाउमा मल्हम लगाइरहँदा विश्व सम्पदा सूचिमा रहेको चितवन राष्टिय निकुञ्जमा दिनहुँजसो बढ्दै गएको अतिक्रमणको उपचारचाहिँ किन नगर्ने भन्ने प्रश्न पनि उत्तिकै उठ्नु जरुरी छ।

सोझा सिधा भूमिहीन र गरीब परिवारलाई जानजान घानमा हाल्ने षड्यन्त्र गर्ने राजनीतिकर्मीहरुको अपराध कहिले र कस्ले खोज्छ भन्ने गम्भीर प्रश्नमा सरकारले मौनता साँधेरै बसिरहेको छ। के के भइरहेको छ त देश मास्ने षड्यन्त्रकारीहरुको डिजाइनमा? यसमा सरकार किन चूपचाप छ? यसबारे चर्चा गरौं—

चितवन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदाबाट हटाउन खोज्ने षड्यन्त्र ज्यादै घृणित, निन्दनीय र दरिद्रताको पराकाष्ठा हो। यो निन्दनीय षड्यन्त्र फत्ते पार्न नेपाली सेना बाधक भएको षड्यन्त्रकारीको निश्कर्ष छ।

हामीले क्रमशः प्रकृति रक्षामा नमूना मोडल प्रस्तुत गर्दै सगरमाथा जस्तै बाँकी निकुञ्जहरुलाई विश्व सम्पदामा सूचिकृत गर्दै जाने पवित्र सोच र अभियान अंगीकार गर्नुको सट्टा विश्व सम्पदाबाट बहिष्कृत भएर त्यसलाई चक्लाबन्दी गरी भोट ब्यांकलाई वितरण गर्ने सस्तो लोकप्रियताको सम्पूर्ण सचेत, प्रकृति र संरक्षणप्रेमी जनताले एक ढिक्का भइ प्रतिकार गर्न र पहिलो गौरवशाली विश्व सम्पदाको रक्षामा जुट्न अपरिहार्य छ।

चितवन राष्ट्रिय निकुञ्जको पूर्व र वर्तमान अतिक्रमण, त्यसको अवस्था, हटाएको घटनाको छानवीन प्रतिवेदन निकट भविष्यमा आउने नै छ। तर त्यसको शिर पुच्छर जुइनो कहा कता कसरी जोडिन्छ त्यो अध्ययन र विश्लेषण गरेर हेर्न भने जरुरी छ।

विश्व सम्पदामाथिको अतिक्रमण प्रयास सम्पदा कब्जाको एउटा परिघटना नहोस्। विश्व सम्पदाभित्र गैंडा र बाघको वासस्थानमा बस्ती जमाएपछि त्यसलाई युनेस्कोले हटाउने अल्टिमेटम दिने छ।

कसरा–माडी सडक बढाउने वा स्तरोन्नति गर्ने योजना होस् वा निकुञ्जभित्रबाट हुलाकी सडक बनाउने वा त्रिवेणीमा झोलुंगे पुल हाल्ने योजनालाई युनेस्कोले गम्भीर आपत्ति जनाउँदै विश्व सम्पदाबाट हट्ने हटाउने कुनै संरक्षण विरोधी काम नगर्न बराबर सुझाउँदै आएको छ। उसै यो निकुञ्ज प्राकृतिक विपद्, मानव चाप र चोरी शिकारीको चेपुवामा पर्दै आएको छ। बाघ, गैंडा, गोही, जीवजन्तुको वर्तमान क्षति कहालिलाग्दो छ।

बालुवाटार जग्गा पनि अतिक्रमण। पशुपति क्षेत्र पनि अतिक्रमण। विश्व सम्पदामाथि पनि अतिक्रमण। नेपालको पहिचान र प्रतिक एकसिंगे गैंडा र पाटेबाघको वासस्थान पनि अतिक्रमण। खोलानाला, बाटो, सडक, नहर, वनक्षेत्र, धार्मिक क्षेत्र, सबै अतिक्रमण।जसको शक्ति उसको भक्ति!

कुसुमखोला र राईखोला बाघ, गैंडा, हात्ती लगायतका दुर्लभ वन्यजन्तुको बासस्थान र बाटोमा पहिले चेपाङको अतिक्रमण भएर बस्ती बस्दा निकुञ्ज प्रशासन र सुरक्षाकर्मीले के हेरेर बसे? त्यसलाई किन रोकेनन्। अहिले चीफ् वार्डेन् आफूले खनेको खाल्डोमा आफैंं परेको देखिन्छ । बच्चाले माउ माकुरो खाएकोजस्तो।

कुसुमखोला र राई खोलाको अतिक्रमणकारीहरुलाई उठाएर नयाँ ठाउँमा जग्गा व्यवस्था गरिदिन माडी नगरपालिकाले पहलता र मञ्जुर गरेपछि ती ६ घर चेपाङहरुलाई कसले पुनः निकुञ्जभित्र गएर मकै छर्न उक्साएको हो? त्यसको उचित व्यवस्थापन र अनुगमन नगरपालिकाले किन नगरेको हो? मकै छरुन्जेल र गोठ बनाउन्जेल निकुञ्जले के हेरेर बसेको होला?

खोई गस्ती, ड्रोन, सर्च, स्वीप्को कार्वाही? खोई बफर जोन पदाधिकारीहरुको सक्रियता? त्यहाँ जालझेल, मिलोमतो, फितलो कमाण्ड कन्ट्रोल, अनुगमन र नियन्त्रण कमजोर, सम्पर्क सम्बन्ध समन्वय सूचना सहकार्य सबै कमजोर देखिन्छ।

विश्व सम्पदालाई प्रहार गर्ने र खुईल्याउने अभिप्रायले त्यहाँ राम्रो होइन हाम्रो नेतृत्वको चयन, राजनीतिक हस्तक्षेप र प्रभावको रिमोट् कन्ट्रोल, नेतृत्वविहीन विभाग र केन्द्रीय अनुगमन तथा निर्देशनको शून्यता, समन्वीकृत ढंगबाट सम्पादन गर्नुपर्ने टीमवर्कको ठाउँमा एकलकार्यको प्रपञ्च मिलाइएको कुरा नबुझ्ने कुरै भएन ।

अतिरञ्जित् प्रचारबाजी
पीडित चेपाङहरुलाई जग्गा बन्दोबस्ती भइसकेपछि पुनः अतिक्रमणमा पठाउन, छाप्रो हटाउने पूर्व सूचनाको अट्टेर गर्ने र निकुञ्जविरुद्ध उक्साउने प्रायोजित नियत रहस्यमय त छँदै छ। सरकार ढाल्ने मसला बनाउने गरी घटनालाई अतिरञ्जित गर्ने केही मिडियाको प्रहार पीडितलाई न्याय दिने होइन सत्ता परिवर्तनतर्फ परिलक्षित थियो।

काल्पनिक र नक्कली फोटोहरु पोष्ट गरेर तिललाई पहाड बनाउने, बढाई चढाई समाचार भाईरल गर्ने षड्यन्त्रको धन्न समय मै पर्दाफास भयो। र, वनमन्त्रीेले सत्य समाचारको वकालत गरिदिए। महामारीको प्रकोप र वर्षादको भेलसँगै अर्को एउटा आतंकको प्रायोजित रचना र समापन गरियो चितवन राष्ट्रिय निकुञ्जमा।

यो घटनामा नेपाली सेनालाई लाञ्छित गर्ने प्रयास निकै जोडतोडले भए पनि सैनिक नेतृत्वले घटनाको छानिविन गर्ने उद्घोष गरेर षड्यन्त्रकारीहरुका दुष्प्रचारहरुलाई निष्तेज पारिसकेको छ।

विश्व सम्पदामा सूचिकृत पहिलो निकुञ्ज
ज्यादै सुन्दर, विचित्रको जैविक विविधता, रहस्यमय सौन्दर्यता, प्रकृतिको खानी, एकसिंगे गैंडा र पाटेबाघ लगायतका जीवजन्तु, पन्छी, जलचरको वासस्थान, प्रकृति र संरक्षणप्रेमी समुदायको रक्षा घेरा, सांस्कृतिक धार्मिक विविधता, नेपाली सेनाको मजबुत र नमूना संरक्षण, प्रतिबद्ध निकुञ्ज प्रशासनको नमूना व्यवस्थापनको समूल कोसेली हो चितवन राष्ट्रिय निकुञ्ज।

सन् १९८४ मा विश्व सम्पदामा सूचिकृत भएयता यो निकुञ्जले धेरै उन्नति प्रगति र उपलब्धि हात पारेर मुलुकको इज्जत बढाइरहेको छ। बाघ र गैंडाको वृद्धि, शून्य शिकार, जनताको संरक्षण सहभागिता, संरक्षणमा आधारित पर्यटन सम्पदा श्रृंगारका थप गहनाहरु हुन्।

यो विश्व सम्पदालाई अझ धेरै राम्रो व्यवस्थापन र संरक्षण गरेर यसको गरिमा महिमा र वजन बढाउनु हामी नेपालीहरुको कर्तव्य वर धर्म हो। राष्ट्रिय अन्तर्राष्ट्रिय दायित्व हो।

समाधानको बाटो
राष्ट्राध्यक्ष, प्रधानमन्त्री, मन्त्रीको गत बाघ दिवसको प्रतिबद्धता प्रकृति संरक्षण प्राथमिकताको दह्रो प्रमाण हो। त्यसको व्यवहारमा पालना र कार्यान्वयन हुदा संरक्षण सफलता साकार हुने छ। र, विश्व सम्पदाको रक्षा सम्मान हुने छ।

सरकारले आफू र आफ्नो राजधानी केन्द्रित तन मन ध्यान र विकासलाई पहिला टाढा विकट सीमा क्षेत्र ब्यास, सुस्ता, चेपाङ र राउटे गाउँमा पुर्याउने इमान्दार संकल्प गर्नुपर्दछ। ती क्षेत्र, जात, भाषा, संस्कृतिका अमूल्य राष्ट्रिय पूँजी हुन्।

तीनको रक्षा सम्मान गर्दै आत्मनिर्भर उन्मुख सीप र अवसरले ती आदीवासी र सीमान्तकृत समुदायलाई शीघ्र समृद्ध बनाई प्रकृति संरक्षणको मूलधारमा समाहित गर्नु बान्छनीय हुने छ। प्रकृति संरक्षणको पवित्र जिम्मेवारीलाई नितान्त अराजनीतिक राख्ने नीतिगत स्थायी प्रावधान हुनुपर्दछ। हस्तक्षेपको छिटासमेत पर्न दिनु हुँदैन।

केन्द्र तथा मुहानको चरम भ्रष्टाचार, दण्डहिनता र प्राकृतिक सम्पदाको दोहन विनास र शोषणको बाछिटा र प्रतिफल हो संरक्षण क्षेत्रको अतिक्रमण। त्यसको स्थायी समाधान र दिगो रक्षा भनेको सुशासन, दण्ड पुरस्कार नीति, पारदर्शिता र जवाफदेहिता हो।निकुञ्ज विभागलाई गतिशिल नेतृत्व दिएर फिल्डको सम्पर्क सम्बन्ध समन्वय र निर्देशन तीव्र र प्रभावकारी पार्न विलम्ब भइसकेको छ।

फिल्डमा चीफ वार्डेनले निर्भिक, गतिशील, जवाफदेही भएर प्रकृतिलाई शिरमा राखी टीमबिल्डिङ र टीमवर्क मार्फत सम्पूर्ण संरक्षण साझेदार र स्थानीय समुदायलाई समेटेर समन्वीकृत ढङ्गबाट कार्य सम्पादन गरेमा धेरै उपलब्धि र सफलता हात पर्ने छ। एक्लै हिँडने, आईसोलेसनमा बस्ने, राजनीतिक सेवा भर्ने र आफूखुशी निर्णय गर्ने छुट संरक्षणको क्षेत्रमा कसैलाई छैन।

सञ्चार क्षेत्रको सकरात्मक सहयोग अपरिहार्य छ संरक्षण सफताको निमित्त। झुटो र भ्रामक खबर प्रचार प्रसार गरेर संरक्षणकर्मीहरुलाई बलिको बोको बनाउने भन्दा सत्यतथ्य समाचार छापेर विश्व सम्पदा रक्षा, जनताको रक्षा र संरक्षणकर्मीको हौसला बढाउने काम गर्नुपर्दछ मिडियाले।

सञ्चार माध्यम र छापालाई आधार बनाएर काठमाण्डौंबाटै पूर्वाग्रही सोच र प्रतिशोधको भावना साध्नुभन्दा छानवीन समिति, मानव अधिकारकर्मीहरु फिल्डमा उपस्थित भएर सत्य तथ्य बुझी पत्यारिलो र परिपक्क अवधारणा निर्माण गर्नु सबैको हितमा हुने छ।

नेपाली सेनाले निःसन्देह घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाएर सुरक्षा एवं अनुशासनमा लाहापर्वाही भए दोषीलाई सजायको भागिदार बनाउने छ। अतिसिमान्तकृत चेपाङहरुलाई सेनामा भर्ना गरेर प्रकृति संरक्षण जिम्मेवारीमा समाहित गर्न सक्ने छ।

प्राचिन र परम्परागत शैलीको संरक्षण मोडललाई उपर्युक्त संरचना, प्रविधि प्रयोग, विशिष्ट व्यावशायिक तालिम र चुस्त अपरेशनमार्फत टीमवर्क र संयुक्त समन्वीकृत कार्वाहीद्वारा ऐनको पालना र विश्व सम्पदाको रक्षा उत्कृष्ट तथा नमूना ढंगबाट पूरा गर्दै जानुपर्दछ ।
हिजो सफलताको चुचुरोमा पुर्याएको प्रकृति संरक्षणको जिम्मेवारीमा असफल हुने छुट आज कहीँ कसैलाई छैन।

अतिक्रमणका श्रृंखला

यो मुलुकमा सीमान्तकृत समुदाय, दूरदराजका समुदाय, आदिवासी समुदायमाथि किन शिक्षा, समानता, न्याय, रोजगारी, समृद्धि पहुँचको अवसर दिइँदैन र उनीहरुको सरलता, सालिनता, भ्रदता, आज्ञाकारिता र अनविज्ञतामाथि किन खेलबाड गरेर कठिन जीवनयापन गर्न बाध्य बनाइन्छ? उनीहरु कति नेता र नाइकेका खेलौना भइरहने। खेताला, गोठालो, सेवक र भोटब्यांकमात्र भइरहने? त्यसको इमान्दार अध्ययन र अनुुसन्धान हुन जरुरी छ।

त्यही समुदायबाट छानिएर, चुनिएर सांसद, मन्त्री र प्रधानमन्त्री भएका आदरणीय नेतृत्वले आफ्नो दुःखी पीडित समुदायलाई किन फर्केर नहेरेको? किन फुटेको आंखाले देखिनसकेको? अहिले पनि सुकुम्बासीमा नाम दर्ता भई सिंहदरबार शासन सत्तामा हाली मुहाली गर्ने नेतृत्व वर्गले यसको जवाफ दिने कि नदिने?

अनि सांसद, मन्त्री भइसक्दा र भावी प्रधानमन्त्रीको दाबेदार भइरहदा सुकुम्बासीबाट लगत कट्टा किन नगरेको? सत्ता पनि भोलि मालदार जग्गा पनि कसरी दाबी गर्ने होला? मन्त्री, सांसद, नेतादेखि जनता र मतदातासम्म सुकुम्बासी। कस्तो विचित्रको मुलुक? नैतिकताको खडेरी! अतिक्रमण किन हामी नेपालीको चरित्र बनेको छ। जब कि संसारमा यस्तो चरित्र र मनपरी कहीं कतै पनि छैन।

बालुवाटार जग्गा पनि अतिक्रमण। पशुपति क्षेत्र पनि अतिक्रमण। विश्व सम्पदामाथि पनि अतिक्रमण। नेपालको पहिचान र प्रतिक एकसिंगे गैंडा र पाटेबाघको वासस्थान पनि अतिक्रमण। खोलानाला, बाटो, सडक, नहर, वनक्षेत्र, धार्मिक क्षेत्र, सबै अतिक्रमण।जसको शक्ति उसको भक्ति!

पंक्तिकारले हेर्दाहेर्दै बर्दिया राष्ट्रिय निकुञ्ज स्थित कर्णाली पुलपारी पाटे बाघ विचरण गर्ने वन क्षेत्रमा राजनीतिक अगुवाई र संरक्षणमा अतिक्रमणकारीहरुले हालेका फुसका अस्थायी छाप्राहरु कसरी अहिले रातारात विशाल पक्की महल, आलिसान घर र व्यापारिक भवन भएर खडा भए? खोई लालपुर्जा? जग्गा धनी पुर्जा?

उसैगरी कोहलपुरको जंगल कब्जा भएर कसरी रातारात आधुनिक शहर खडा भयो। बुटवल जोगीकुटीको जंगल कसरी समाप्त भयो र अहिले अरबौंको महंगो प्लटिङमा परिणत भयो? त्रिवेणी, दाउन्ने, नवलपरासी र चितवनका वनक्षेत्र, चारकोसे झाडी, धरान, तरहरा, चतरा, झापा, चुरे क्षेत्र, महाभारत वन, सगरमाथा राष्ट्रिय निकुञ्ज कसरी कथित् धनाढ्य पावर सेन्टर सुकुम्बासीहरुद्वारा झ्वाम्म पार्ने काम भयो? बुझिनसक्नुको लुटपाटको कथा ।

संरक्षण क्षेत्र बचाऊको अनुभव
२ दशकअगाडि शुक्लाफाटा राष्ट्रिय निकुञ्ज आधा समाप्त भइसकेको थियो। सलाम छ ती संरक्षणकर्मीहरुलाई र तिनलाई सघाउने प्रकृति संरक्षणप्रेमी र न्यायप्रेमी जनताहरुलाई जसले २० वर्ष अगाडि नेताहरुको खेलीखाने भाँडो र भोट ब्यांकको नक्कली छाप्रोहरु आँधी तुफान गतिमा भत्काएर बाघ र निकुञ्जलाई न्याय दिए।

सुकुम्बासीको आवरणमा बसेका सांसद, मन्त्री, प्रधानमन्त्रीका असरल्ल छाप्राहरु भत्काइदिए। महेन्द्रनगरमा गगनचुम्बी पक्कीघर हुनेको निकुञ्ज भित्र छाप्रोले १० बिगाहा जग्गा ओगटेको कथा रहस्यमय थियो। सत्यको अगाडि तत्कालीन प्रधानमन्त्रीको हार भयो। निकुञ्जको जित भयो। ती बहादुरहरुको प्रसाद हो बाघको सुन्दर घर आजको ३०५ वर्ग कि.मि. क्षेत्रफलको शुक्लाफाटा राष्ट्रिय निकुञ्ज।

गत वर्ष नेताहरुले सलहको झुण्ड जस्तै १५० जना कथित नक्कली सुकुम्वासी हुलिदिए कोशीटप्पु वन्यजन्तु आरक्षभित्र। धन्य ! संरक्षणकर्मीहरुले समयमै सर्तकता र सावधानी अपनाएर निर्भयसाथ ती हुने खाने नेताका हुने खाने भोट ब्यांकलाई बाहिर लगारिदिए। कोशीटप्पुले यस्तो अतिक्रमणको प्रयास बारम्बार बेहोरेको छ।

पर्सा र चितवनमा धार्मिक गुरुहरुले धर्मका नाममा गरेको अतिक्रमण सबै जगजाहेरै छ। हरेक निकुञ्ज र संरक्षण क्षेत्रहरुमा यी कथित अतिक्रमणका विरुद्ध संरक्षणकर्मीहरु अग्राख जस्तो कठोर भएर उभिदिनाले हो तिनको संरक्षण सम्भव भएको। बर्दियामा हामीले जनताको सुराक र सहयोगमा नक्कली धेरै अतिक्रमण हटाएका थियौं २१ वर्ष पहिले।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *