लेबनान विस्फोटको घटनामा नेपालीहरु सुरक्षित

बिनेश खनाल
२१ साउन २०७७ १०:५८

काठमाडौँ । लेबनानको राजधानी बेरुतमा भएको ठूलो विस्फोटनमा त्यहाँ कार्यररत नेपालीहरु भने सुरक्षित रहेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) लेबनानका अध्यक्ष अशोक थापाका अनुसार बुधबार बिहानसम्म त्यहाँ कार्यरत कुनै पनि नेपालीहरुलाई क्षति भएको छैन् । ‘घटनामा अहिलेसम्म कुनै पनि नेपालीलाई क्षति भएको भन्ने जानकारी हामीलाई छैन,’ बेरुतबाट डिसी नेपालसँग उनले भने, ‘हामी हाम्रा विभिन्न संयन्त्रमार्फत थप कुराहरु बुझिरहेका छौँ । नेपाली बसिरहेका घरहरुमा सामान्य क्षति भए पनि अन्य कुनै मानवीय क्षति भने भएको छैन ।’

अध्यक्ष थापाका अनुसार लेबनानमा अहिले २ हजारदेखि २५ सयको हाराहारीमा नेपालीहरु कार्यररत छन् । उनीहरुमध्ये अधिकांश घरेलु महिला कामदार हुन् । त्यसबाहेक केही पुरुषहरु होटल, रेष्टुरेन्ट तथा कम्पनीहरुमा कार्यररत छन् ।

लेबनानमा नेपाली दूतावास छैन । त्यहाँको मामिला इजिप्टको कायरोमा रहेको नेपाली दूतावासले हेर्ने गर्छ । घटना भएपछि इजिप्टस्थित दूतावासले पनि लेवनानको नेपाली समुदाय र त्यहाँको सम्बन्धित निकायसँग नेपालीहरुको अवस्थाबारेमा सोधपुछ गरिरहेको अध्यक्ष थापाको भनाइ छ ।

थापाले घटनाबाट कोही नेपालीहरु समस्यामा परेको भए आफूहरुको सम्पर्कमा आउन समेत आग्रह गरेका छन् । घटना स्थानीय समयअनुसार बेलुका ६ बजेतिर भएको उनले बताए । घटना भएको बेला आफू ड्यूटीमा रहेको थापाले बताए ।

बीबीसीका अनुसार घटनामा कम्तीमा ७८ जनाले ज्यान गुमाएको र ४ हजार भन्दा बढी घाइते भएका छन् । अनलाइनमा राखिएका भिडिओमा धूवाँको विशाल मुस्लो र धेरै क्षति भएको देखिन्छ। अधिकारीहरूले एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण उक्त घटना घटेको बताइरहेका छन्।

भिडियोमा हेर्नुस् यस विषयमा एनआरनए लेबनानका अध्यक्ष अशोक थापासँग डिसी नेपालका ग्लोवल संयोजक बिनेश खनालले गरेको कुराकानी :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *