ओलीको प्रस्तावपछि मौन छन् प्रचण्ड, दुई अध्यक्षबीच पानी बाराबार

मदन कोइराला
२८ साउन २०७७ ९:११

काठमाडौं। बालुवाटारले कुनै ठोस प्रस्ताव नल्याएसम्म प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग छलफल नगर्ने अडानमा रहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री ओलीले नयाँ प्रस्ताव पठाएका छन्।

प्रधानमन्त्रीको प्रस्तावलाई सकारात्मक रुपमा लिएका प्रचण्डले त्यसबारे निर्णय गर्न भने सकेका छैनन्। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले स्थायी कमिटी सदस्य शंकर पोखरेल र वर्षमान पुनमार्फत प्रचण्डलाई तत्काल महाधिवेशन आयोजक कमिटी बनाउने र महाधिवेशन आयोजक समितिको कार्यकारी भूमिका प्रचण्डलाई लिने अनि उक्त आयोजक कमिटीको मानार्थ अध्यक्ष ओलीलाई राख्ने गरी प्रस्ताव पठाएको स्रोतले बताएको छ।

अध्यक्ष प्रचण्डले ओलीको प्रस्तावलाई सकारात्मक रुपमा लिएपनि त्यस विषयमा निर्णय लिन नसकेको बताइएको छ। प्रचण्ड महाधिवेशन आयोजक कमिटीको कार्यकारी अध्यक्षको पोजिसन पाउँदा नाइ भन्ने अवस्थामा नभएपनि माधव नेपाल समूहलाई कसरी मनाउने भन्नेमा अन्योलमा परेका छन्।

यसअघि खुलमटारमा आफूलाई भेट्न पुगेका पूर्व माओवादी नेताहरुलाई प्रचण्डले आफूलाई चारैतिरबाट दबाव रहेको सुनाएका थिए। प्रचण्डले उक्त दबावलाई कसरी समन्वय गरेर अगाडि बढ्ने भन्ने विषयमा निर्णय गर्न नसकेको स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीले स्थायी कमिटी सदस्य शंकर पोखरेल र वर्षमान पुनमार्फत प्रचण्डलाई तत्काल महाधिवेशन आयोजक कमिटी बनाउने र महाधिवेशन आयोजक समितिको कार्यकारी भूमिका प्रचण्डलाई लिने अनि उक्त आयोजक कमिटीको मानार्थ अध्यक्ष ओलीलाई राख्ने गरी प्रस्ताव पठाएका छन्

गत माघमा बसेको केन्द्रीय कमिटीको बैठकले आगामी चैतमा एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली पार्टीको सबै विवाद महाधिवेशनमा छिनोफानो गर्नुपर्ने पक्षमा छन्।तर प्रचण्ड र माधव नेपाल समूह तत्काल स्थायी कमिटी बैठक सूचारु गरी विवाद समाधानका लागि केन्द्रीय कमिटी बैठक बोलाउनु पर्ने अडानमा छन्।

साउन तीन गते बसेको सविचलालय बैठकमा प्रधानमन्त्री ओलीले एकता मंसिरमा एकता महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमा प्रचण्डले पनि सहमति जनाएका थिए। तर पछि माधव नेपाल समूहको दबाव थेग्न नसकेपछि प्रचण्ड उक्त सहमतिबाट पछि हटेका थिए।

पछि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्र एवं पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र प्रचण्डका विश्वास पात्र एवं उर्जामन्त्री वर्षमान पुनमार्फत महाधिवेशन आयोजक कमिटी गठन गर्ने र त्यसको कार्यकारी भूमिका प्रचण्डलाई दिने प्रस्ताव गरेका हुन्।

दुई अध्यक्षबीच पानी बारबारको स्थिति कायमै

प्रधानमन्त्री ओलीले प्रचण्डलाई नयाँ प्रस्ताव पठाएपनि दुई अध्यक्षबीच पछिल्लो एकहप्तादेखि संवाद हुन सकेको छैन। दुई अध्यक्ष रहेको नेकपामा दुवै अध्यक्षबीचको सम्बन्ध चिसिँदा सरकार र पार्टी राम्रोसँग संचालन हुन नसकेको आरोप लाग्ने गरेको छ। पछिल्लो समय दुई अध्यक्षबीच संवादसमेत हुन छाडेको छ।

यसअघि दैनिकजसो प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच संवाद हुने गरेको थियो। तर प्रचण्डका सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएपछि दुवै अध्यक्षबीच संवाद हुन नसकेको हो।

केही दिन अघि ओलीविरुद्ध अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले विधिअनुसार बहुमतको आधारमा निर्णय गरेर अगाडि बढ्ने चेतावनी दिएपछि सोही दिनका लागि तय भएको ओली–प्रचण्ड वार्ता स्थगित भएको थियो।

दुई अध्यक्षबीच पुनः वार्ता गराउन नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, जनार्दन शर्मालगायतका नेता सक्रिय छन्। नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले विभिन्न कारणले दुई अध्यक्षबीच सांसद हुन नसकेको बताए। ‘विभिन्न कारणले दुई अध्यक्षबीच संवाद हुन सकेको छैन,’ नेम्वाङले डिसी नेपालसँग भने, ‘तर दुई अध्यक्षबीच परिणाममुखी वार्ता गराउन आधार बनाउने काम भने भइरहेको छ।’

नेम्वाङलगायतका समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने नेताहरुले यतिबेला दुवै अध्यक्षलाई दैनिकजसो भेटेर सहमतिका लागि प्रयास गरिरहेका छन्। ‘हामीहरु जसरी पनि पार्टी विवाद समाधान गर्न र पार्टीलाई एक ढिक्का बनाउन लागिपरेका छौं,’ नेम्वाङले भने, ‘हाम्रो प्रयासलाई अध्यक्षद्वयले पनि उत्प्रेरित गरिरहनु भएको छ।’

असार १० गतेबाट सुरु भएको स्थायी कमिटीमा प्रधानमन्त्री ओलीको राजीनामा मागिएपछि सुरु भएको नेकपाभित्रको विवाद यतिबेला उत्कर्षमा पुगेको छ। अध्यक्षद्वयबीच संवादहीनता भएको एक हप्ताभन्दा बढी भएको छ।

विवाद समाधानको लागि ओली र प्रचण्डबीच भएको दर्जनभन्दा बढी वार्तामा पनि सहमतिको विन्दु फेला पर्न सकिरहेको छैन। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले जारी विवाद पदको लडाइँ भएको आरोप लगाउँदै आएका छन् भने प्रचण्डसहितका शीर्ष नेताहरुले पार्टीलाई विधि र पद्धतिमा अगाडि बढाउने संघर्ष भएको दाबी गर्दै आएका छन्।

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पदबाट राजीनामा दिनुपर्ने अडान राख्दै आएका छ भने ओलीले दुवै पदबाट राजीनामा नदिने अडान राख्दा जारी विवादको समाधान हुन सकेको छैन।

प्रचण्ड निकट स्रोतका अनुसार साउन २० गतेपछि प्रधानमन्त्री ओली र प्रचण्डबीच कुनै पनि तरिकाले संवाद भएको छैन। ‘अब छलफलका नाममा छलफल भन्दा पनि परिणाममुखी छलफल होस भन्ने अध्यक्षको चाहना छ,’ प्रचण्ड निकट स्रोतले भन्यो, ‘त्यसका लागि ठोस प्रस्ताव अब बालुवाटारबाट आउनुपर्छ। त्यो हुँदासम्म छलफल र संवादको अर्थ छैन।’ यद्यपि प्रचण्डकाे चाहना अनुसार बालुवाटारले ठाेस प्रस्ताव पठाइसकेकाे स्राेतले जनाएकाे छ।

प्रचण्डका सुरक्षाकर्मीलाई कोरोना संक्रमण पोजेटिभ देखाएपछि प्रचण्डले राजीतिक भेटघाटलाई कम गर्दै लगेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए। ‘अहिले कोविडका कारण अध्यक्षले राजनीतिक भेटघाटलाई कम गर्नु भएको छ,’ सापकोटाले भने।

संसदीय दलका उपनेता नेम्वाङले आफूहरु पार्टी एकताको पक्षमा र दुई अध्यक्षबीच संवाद गराउने आधार बनाउन लागिपरे पनि केही तत्व त्यसलाई बिगार्न उद्यत रहेकाे बताए। ‘हामी दुई अध्यक्षबीच परिणाममुखी वार्ता र संवादका लागि प्रयास गरिरहेका छौं,’ उनले भने, ‘तर केही तत्व यो वातावरण बिगार्न लागिरहेको विषय पनि जानकारीमा छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *