अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको क्षमता घटाइने

डिसी नेपाल
३२ साउन २०७७ १९:३४

सियोल । संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाका सेनाको वार्षिक संयुक्त सैन्य अभ्यास यसै साता शुरु हुँदैछ । दक्षिण कोरियाका सैन्य प्रमुखले कोरोनाभाइरसको संक्रमण फैलिएसँगै यस्तो सैन्य अभ्यासलाई कम्प्युटर–आधारित युद्ध अभ्यासमा सीमित गरिने बताएका छन् ।

यही मंगलबारदेखि आगामी अगस्ट २८ सम्म हुने यस सैन्य अभ्यासले पनि उत्तर कोरियालाई चिढ्याउने अनुमान गरिएको छ । उत्तर कोरियाले विगतदेखि नै दक्षिण कोरिया–अमेरिका सैन्य अभ्यासलाई आफ्नो मुलुकविरुद्धको अतिक्रमणका रुपमा व्याख्या गर्दै आएको छ । उत्तर कोरियाले संयुक्त सैन्य अभ्यासलाई जारी राखिए हाल अबरुद्ध वार्तालाई पुनः शुरु नगर्ने चेतावनी दिँदै आएको छ ।

यो सैन्य अभ्यास निकै नाजूक स्थितिमा आयोजना गर्न लागिएको छ किनभने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियामा तैनाथ झण्डै २८ हजार ५०० अमेरिकी सैनिकको खर्च व्यवस्था गर्न दक्षिण कोरियामाथि दबाब दिइरहेका छन्। यी सैनिक खासगरी दक्षिण कोरियाको सुरक्षाका लागि तैनाथ गरिएको हो ।

दुबै मुलुकबीच लागत साझेदारी सम्बन्धमा वार्ताहरु भए पनि सन् २०१९ मै समाप्त भएको उक्त सम्झौतामा पुनः सहमति हुन सकेको छैन । पछिल्लो सैन्य अभ्यासमा कमान्ड पोस्ट तालिम आयोजना गरिनेछ जसअन्तर्गत विभिन्न युद्ध परिस्थितिका लागि दुबै मुलुकका सेनालाई तम्तयार राख्न कम्प्युटर आधारित तालिममा सहभागी गराइनेछ ।

दक्षिण कोरियाली सेना प्रमुखले तालिममा कति सैनिक सहभागी हुन्छन् भन्ने बारेमा केही बताएनन् । तर गत वर्षभन्दा निकै कम संख्यामा मात्र सैनिकहरुको सहभागिता रहनेछ । विगतमा दुबै मुलुकका दशौं हजार सैनिक सहभागी हुने प्रचलन थियो ।

यस वर्ष कोरोनाभाइरस महामारीका कारण अन्यत्रबाट आउने अमेरिकी सैनिकको संख्यामा पनि व्यापक कमी हुनेछ । दुबै मुलुकका सेनाको यसअघि हिउँदे मौसममा गर्ने नियमित सैन्य अभ्यास पनि स्थगित भएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *