कोरोनाका कारण काठमाडौंका घरबेटी पनि मारमा

डिसी नेपाल
३ भदौ २०७७ ८:१७

काठमाडौं। कोरोना भाइरसले काठमाडौंका घरबेटीलाई समेत ठूलो मारमा पारेको छ। घरभाडा उठाएर रोजीरोटी चलाउँदै आएका काठमाडांैका घरबेटी घरभाडा नउठेपछि गुजारा धान्न मुस्किल परेको गुनासो गर्छन्।

सरकारले कोरोना भाइरसको उच्च जोखिमबाट बच्न भन्दै गएको चैत्र ११ गतेबाट मुलुकभर लकडाउन गरेको थियो। त्यसको अगावै हजारौं संख्यामा काठमाडाैं बस्नेहरु आफ्नो घर फर्किएका थिए।

काठमाडौंमा असार १ गते लकडाउन खुकुलो भएपछि कतिपय भाडामा बस्ने फर्किए पनि काम नचल्दा घरभाडा तिर्न सकेका छैनन्। तर घरभाडाबाट आफ्नो निर्वाह गर्दै आएका घर धनीलाई भने भाडा नउठ्दा रोजीरोटी नै गुम्ने डर भएको छ।

कलंकी घर भएकी सरिता शर्मा (नाम परिवर्तन)ले सोही बिषयमा डिसी नेपालसँग गुनासो गरिन्, ‘बाहिर भन्न लाजको बिषय हो तर हामीलाई जीविका चलाउनै गाह्रो भएको छ। आम्दानीको स्रोत भनेकै यही हो।’ सानो घर भए पनि मासिक २५/३० हजार घरभाडा उठ्थ्यो उनको।

करिव पाँच महिनाबाट उक्त आम्दानी ठप्प रहेको छ। अधिकांशको काठमाडौंमा घर निर्माण गरेपछि घरबाट आम्दानी प्रशस्त भित्रन्छ भन्ने सोचाइ छ। कोरोनाको कहरको कारण अस्तव्यस्त रहेको काठमाडौंमा यो समयको अवस्था छुट्टै देखिन्छ।

नैकाप घर भएका विश्वनाथ श्रेष्ठ घरभाडाबाट महिनामा ८० हजार घर बनाएकै ऋणको सावाँ र व्याज तिर्ने गरेको बताउँछन्। लामो समयसम्मको कोरोना प्रभावले न घरभाडा छ न डेरामा बस्ने मान्छे। उनी गुनासो गर्छन्, ‘कोही त सरकारी जागीर गर्ने पनि छन्। तर भाडा दिन नै खोज्दैनन्।

यस्तो बेलामा के जबर्जस्ती गर्नु, अब आफैंलाई गुजारा चलाउन समेत ठूलो समस्या भइसक्यो।’ सरकारले साउन ६ गतेबाट मुलुकभर लकडाउनको अन्त्य भएको घोषण गरेको छ।

लकडाउन अन्त्य भएसँगै कोरोना संक्रमित बढेकाले उपत्यका लगाएतका अधिकांश जिल्लामा थप कडाइ गरिएको छ। बाहिर डेरावालालाई घरभाडा छुट दिनुपर्छ भनी चर्को आवाज उठाइरहँदा घरधनीको समस्या कुनै पक्षले बुझ्न नखोजेको गुनासो काठमाडाैंका घरधनी गर्छन्।

‘घरधनीलाई चाहिँ घरको गारोबाट पैसा फल्ने होइन। समस्यामा परेकालाई सहयोग गर्ने बिषय छुट्टै हो,’ सितापाइलामा घर भएको रन्जनी खड्कीले भनिन्। मंगलबार मात्रै १००० भन्दा वढी कोरोना संक्रमित देखिएको नेपालमा हालसम्म २,८०० भन्दा बढी संक्रमित देखिएको छ।

पछिल्लो समय संक्रमित सँगै कोरोना सक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दो देखिन्छ। कोरोना नियन्त्रण हुने छाँटकाँट नभएको विज्ञहरुले बताउँदै आएका छन्। तर यो अवधीमा रोजिरोटी गुमाएकाहरुले भने रोगलाई भोकलाइएए ध्यान दिनुपर्ने बताउँदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *