राष्ट्रका लागि जासुसी र रक्षक शक्तिको बेवास्ता

डिसी नेपाल
६ भदौ २०७७ ७:३१

बहादुर गोर्खाजले इतिहास रचेको भारत र वेलायतमा ती गोर्खाजहरुको बाक्लो बसोबास छ । शारीरिक बसाइ जहाँ भएपनि तन, मन, ध्यान नेपालमा हुने नै भयो। आफ्नो जीवनस्तर उकासिएर सुविधाजनक भएतापनि नेपालमा बस्ने आफ्ना परिवारजन, आफन्त, नातागोता, कुटुम्बको रोग, भोक, अशिक्षा र बेरोजगारका पीडाले ती गोर्खाजहरु बराबर छट्पटाइ रहेका हुन्छन्।

सैनिक पृष्ठभूमिका ती गोर्खाजहरुको नेपालले भोगेको सीमा विवादमा विशेष ध्यान आकर्षण हुने नै भयो। धेरै मित्रहरुले विदेशबाट प्रश्न गरे– ‘होइन, नेपाली सेनाले किन मुख नखोलेको हो। बोल्नुपर्यो नि केही।’

‘सेनाको ओठे जवाफ दिँदै हिँड्ने होइन, काम र परिणाम दिने हो’ भनेर सबैलाई कुरो बुझाउन पंक्तिकारलाई हम्मे हम्मे पर्यो। सलाम छ, रगतको कणकणमा नेपाल र नेपालीलाई माया गर्ने ती बहादुर गोर्खाजलाई।

गत वर्ष बर्दिया राष्ट्रिय निकुञ्जको निमन्त्रणामा आफ्नो २२ वर्ष पुरानो कर्मथलो ठाकुरद्वारामा पुगें। ‘प्रकृति संरक्षणमा भूतपूर्वक सैनिकहरुको हातेमालो’ कार्यक्रम राखेको रहेछ निकुञ्जले। बफरजोनका भू.पु. हरुको उत्साह, हिम्मत, जोस–जाँगर, प्रतिवद्धता र संकल्प देखेर मलाइ लाग्यो– ‘नजिकको तिर्थ हेला, घरभित्रै देउता।’

हामीले सम्झे पुग्ने रहेछ। सहयोगको अपेक्षा र आह्वान गर्ने हो भने आकाशको जुन झार्ने शक्ति आफ्नै वरिपरि रहेछ। निकुञ्जलाई चारैतिरबाट घेराबन्दी गर्ने र सिल गरिदिने निःशुल्क शक्तिको हामीले पहिचान र सदुपयोग किन नगरेको होला?

सशस्त्र द्वन्द्व आयो र गयो। भू.पु सैनिक संगठनलाई चुस्त सम्पर्क र समन्वयमा राखिएको हुन्थ्यो भने माओवादी द्वन्द्वमा नेपाली सेना सामेल हुनै पर्दैन थियो। अझ भू.पु.लाई अभिमुखीकरण तालिम दिएर सक्रिय राखिएको हुन्थ्यो भने द्वन्द्वको ह्याण्डेलिङ र व्यवस्थापन उनीहरु आफैं गर्न सक्ने थिए।

भू.पु.लाई हामीले नियमित सम्पर्क, सु–सम्बन्ध, समन्वय र सम्मान गरेर इण्टेलिजेन्स नेटवर्कको अंग बनाउन सकेको भए तत्कालीन आतंककारी नेताहरु ठाउँको ठाउँ पक्राउ पर्ने थिए। राज्यको त्यति धेरै जनशक्ति, स्रोत–साधन र बजेटको दरकार पर्ने थिएन। यी तीनवटा प्रतिनिधि दृश्य र परिदृश्य प्रस्तुत गर्दै भू.पु. सैनिकहरुको शक्ति सदुपयोगको खाका प्रस्ताव गर्ने उद्देश्यले यो लेख तयार पारेको छु।

लाजको पसारो
महामारीको उत्कर्षमा धेरै विद्वान, विज्ञ र बुद्धिजिवीहरुले नेपालमा प्रजातन्त्र जस्तै गणतन्त्र पनि असफल भएको र नयाँ शक्तिले राष्ट्रिय उद्धार गर्न आवश्यक भएको निश्कर्ष निकाले।  एकजना परम मित्रले जिज्ञाशा राखे–‘खोई भू.पु. सैनिकहरु, अन्य सुरक्षा निकायका भू.पु.हरु, भू.पु. निजामती कर्मचारीहरु, भू.पु. शिक्षक, कुटनीतिज्ञ, प्राविधिक, वकिल, डाक्टर, इन्जिनियरहरु?’

२ वर्षसम्म नदेखेको, नसुनेको, नभेटेको भू.पु. सैनिक संगठनको जानकारी लिन कर लाग्यो। जानकारी पाएर मित्रलाई सुनाउनै पिर लाग्यो। अन्य भू.पु.को लथालिङ अवस्था सुन्न समेत सकिएन। राजनीतिक विकृतिले सबै भू.पु. जनशक्तिलाई ऐंजेरुले जस्तै बेरेर प्राण आफ्ना हातमा राखेको दर्दनाक र खतरनाक परिदृश्य देखेर गहिरो चिन्ता लाग्यो।

भू.पु. सैनिक संगठनलाई पुनरसंरचना, नयाँ नेतृत्व र पुनर्ताजगी गर्न बिलम्ब भइसकेको छ। यसलाई तुरुन्त पुनरसंगठन गरी सुदृढ, सक्रिय र चुस्त बनाउनु पर्दछ। आर्थिक क्रान्तिको मियो बनाउनु पर्दछ। आवश्यक परे सीमा रक्षा र युद्धको लागि तयार पार्नु पर्दछ।

यो लेखमा भू.पु. सैनिकको उद्धार र सदुपयोग कसरी गर्न सकिन्छ? विश्लेषण गर्ने प्रयास गरेको छु। तर, मुलुकका बा“की सबै भू.पु. जनशक्तिलाई कसरी उद्धार र सदुपयोग गरी राष्ट्रिय मूलधारमा ल्याउने भन्ने खाका सम्बन्धित विज्ञहरुले ल्याउन आवश्यक देखेको छु।

भू.पु. जनशक्तिको महत्व
नेपाली सेनाको हकमा भू.पु.हरु शारीरिक रुपमा ज्यादै सुगठित, बलवान्, सहिष्णु, उर्जाशील र स्वस्थ जनशक्ति हुन्। मानसिक रुपमा साहसिक, सहनशील, अनुशासित, इमान्दार, परिश्रमी गर्छु, सक्छु भन्ने इच्छाशक्ति भएको फोर्स। साथै, चुनौती स्वीकार्ने साहस, जोखिमसँग निडर, तनाव र दबाबसँग भिड्न सक्ने खुबी, बाधा व्यवधानसँग नथाक्ने दरो मन, काम फत्ते गरेर छाड्ने अडान, भू.पु. सैनिकका मूल्यवान गुण हुन्।

नुनको सोझो, संस्थाको हित, हाकिमको सफलता, चेन अफ कमाण्डको अंगीकार, मातृभूमिको सेवा र राष्ट्रियताको मनोविज्ञान बोकेको तालिम प्राप्त सक्षम फोर्स।
उमेरले उर्जावान सिपाहीको स्वेच्छिक अवकाश ३८ वर्ष, जुुनियर अधिकृतहरुको ३८ वर्ष, अधिकृतहरुको ३८ वर्षदेखि माथि छ।

राज्यले लगानी गरिदिएको संगठनले अनुशासन, कर्तव्य, जिम्मेवारी, जवाफदेहिता भरेर पकाएको फल। एउटा कर्मठ, निर्भिक र परिपक्व जनशक्ति। पहाड फोर्ने, खोलो फर्काउने, जुन टिप्ने जुझारु शक्तिशाली पौरखी फोर्स।

जापानमा भू.पु.हरुले सानदार र सफलता पूर्वक उद्योग व्यवसाय सञ्चालन गरेर उन्नतिको बाटो समातेको नजिर सुन्न पाइन्छ। साउथ अफ्रिकामा भू.पु. ब्रिगेडियरले व्यवस्थापन गरेको राष्ट्रिय निकुञ्ज सबैले नमूना छ भनेर प्रशंसा गर्दछन्। अमेरिकामा भू.पु. सैनिक अधिकृतहरु धेरैले राष्ट्रपति भएर मुलुकलाई सफल नेतृत्व दिएको नजिर छ। भू.पु. सैनिकको सहभागिता र सक्रिय योगदानले जादू देखाएका अन्य देशका सफल र नमूना कथाहरु अनगिन्ती छन्।

पूर्व फरेष्टर र वर्तमान सफल उद्यमी कर्ण शाक्यले नेपाली सेनाको भू.पु.सैनिकहरु राष्ट्रको अद्भूत पूँजी हुन् यिनको सही ठाउँमा सही सदुपयोग हुनुपर्दछ भनेको १ दशक भयो पंक्तिकारलाई। राष्ट्रिय अर्थतन्त्र र राष्ट्र विकासलाई उठाउने, चम्काउने, यो हिरा समानको फोर्सलाई राज्यले सम्मान र सदुपयोग गर्न सक्नु मात्र पर्दछ।

शासकीय ग्रहण
सुन्दर देशलाई दोष दिऊँ पाप लाग्छ। देश हा“क्ने नेता एवं स“धै परीक्षण र असफल साबित भएका सबै पद्धतिले मुलुकका सर्वाङ्गीण अंग र संयन्त्रलाई धुलिसात् पारेकै छ।

तथापि, मुलुकमा गर्छौं, सक्छौं, उठाउछौं भन्ने सृजनशील र प्रतिभाशाली उद्यमी व्यावसायीहरुको कमी छैन। हिम्मतिलो र जुझारु त्यो जनशक्तिले शासकीय छेकबार, बाधा व्यवधान, चन्दा आतंकका बाबजुद पनि राष्ट्रिय अर्थतन्त्रलाई हुने खानेमा रुपान्तरण गर्न सकरात्मक योगदान पुर्याइ रहेका छन्।

भ्रष्टशासक र असफल पद्धतिबाट सुरक्षा निकायहरु, निजामती प्रशासन, न्यायिक क्षेत्र, संस्थान, प्राविधिक क्षेत्र सबै डामिएको अवस्था त छदै छ, त्यसमाथि चरम दलीयकरण र विचौलियाकरणले सर्वत्र ग्रहण लगाइ दिएको छ। त्यही अन्धकार र अन्यौलताको आ“धिबेहरीमा हाम्रा भू.पु. सैनिकहरु हराइरहेको अवस्था देखिन्छ।

माउ संगठनको अभिभारा

प्रार्थना गरौं, शासक छिटै सच्चिने छन् सुध्रिने छन् र सुशासनको प्रत्याभूति सुनिश्चित गर्ने छन्। माउ संगठन नेपाली सेना आफैं प्राचीन सोच शैली र विरासतबाट बाहिर निस्किएर भूपु भएको त्यो उर्जावान् जनशक्तिलाई सबल सक्षम बनाउन र राष्ट्र विकासको मूलधारमा योगदान पुर्याउने नागरिक बनाउन अझ धेरै मिहेनत गर्नुपर्दछ।

भू.पु. सैनिक संगठनलाई पुनरसंरचना, नयाँ नेतृत्व र पुनर्ताजगी गर्न बिलम्ब भइसकेको छ। यसलाई तुरुन्त पुनरसंगठन गरी सुदृढ, सक्रिय र चुस्त बनाउनु पर्दछ। आर्थिक क्रान्तिको मियो बनाउनु पर्दछ। आवश्यक परे सीमा रक्षा र युद्धको लागि तयार पार्नु पर्दछ ।

नेपाली सेनाले सिपाहीको अवकाश मिति पहिलाको १६ वर्ष कायम गर्नु पर्दछ। वर्तमान अर्थमन्त्रीले गुमाएको यो अवसर अव आउने नयाँ अर्थमन्त्रीले शीघ्र पास गरि दिनुपर्दछ। परमाधिपति र सरकार प्रमुखले हस्तक्षेपकारी भूमिका निभाएर भएपनि सिपाहीको यो मर्का छिटो फुकाइदिनु पर्दछ।

माउ संगठनले अवकाश पाउने आफ्नो फौजको समय तालिका निकालेर अन्तिम १ वर्षको समय काउन्सिलिङ, उत्प्रेरणा, योजना माग, सीप र क्षमता अभिवृद्धि, असरदार तालिम र अभ्यास, लगानीलाई चाहिने बजेटको व्यवस्था मिलाइ दिनु पर्दछ। सुरक्षागार्ड नेपालको प्रख्यात ट्रेड्मार्क हो। एउटा विश्वव्यापी उद्योग हो।

जसले यो पेशा अगाल्न खोज्दछ उनीहरुलाई कुटनीतिक नियोग, राजदूतावास, बैंक र वित्तीय संस्था, उद्योग कलकारखाना, विद्युत गृह, निर्माण व्यवसायीकोमा उपयुक्त अभिमुखीकरण तालिम दिएर सिधै पठाउने छोटो बाटो भू.पु. सैनिक संगठनले तय गर्न सक्दछ।

वैदेशिक रोजगारमा जानेहरुको हकमा पनि भर्ना, तालिम, अनुगमन, डकुमेण्टेसन सबै तदनुसार गर्ने व्यवस्था मिलाइ दिन सकिन्छ। बिना निश्चित सीप, तालिम, तयारी र गुणस्तरीय सेवाको यकीन नगरी आफ्नो फौजलाई बिचौलियाको हातमा परेर बिचल्नी हुने अवस्थामा छाड्नु हुँदैन। भू.पु.हरुको मन मस्तिष्क जित्ने, आफ्नो अद्यावधिक डाटाबेसमा राख्ने, अनुगमन गर्ने र प्रगति उन्नति गरेको यकीन गर्ने काम माउ संगठनको हो।

बिना निश्चित सीप, तालिम, तयारी र गुणस्तरीय सेवाको यकीन नगरी आफ्नो फौजलाई बिचौलियाको हातमा परेर बिचल्नी हुने अवस्थामा छाड्नु हुँदैन।

माउ संगठन जंगी अड्डाले कानुननः र व्यवहारतः यो काम आफैं गर्न सक्दैन। त्यसको लागि हो कल्याणकारी बोर्ड। यसको अर्जुनदृष्टि र ध्यान लगाव जंगी अड्डा तथा शहर केन्द्रित होइन बरु गाउँ र छरिएर कुना कन्दरामा रहेका भू.पु. सैनिक केन्द्रित हुन आवश्यक छ। सतही झारा टार्ने काम होइन, ब्यास क्षेत्र र सुस्तामा पुगेर किन नहोस्– भू.पु. का पीडा बुझ्न र उठाउन जरुरी छ। भूतपूर्व सैनिक संगठनलाई परालको खुट्टामा होइन फलामको दरो खुट्टामा उभ्याइ दिन विशेष ध्यान र त्याग गर्न अपरिहार्य छ।

भू.पु.को मनोविज्ञान
स्वतन्त्रताको लहड्, भुईंमा खुट्टा हुँदैन। जे पनि गर्न सक्छु र यो गरुम् कि त्यो गरुम् उकुसमुकुस् उर्जालाई कहा“ लगेर प्रष्फुटन गरुम् मनोवृत्तिले चञ्चले बनाएको हुन्छ। एक तिहाइ जीवनको बल र आत्मविश्वासले राम्रो रोजगारको अपेक्षा राख्नु स्वभाविक हो।

सुशासनको अपेक्षा, शान्ति सुरक्षाको चाहना, अनुशासन जवाफदेहिताको आकांक्षा र राष्ट्रियता र देशभक्तिको उत्कट् अभिलाषा बोकेको मनोविज्ञानले सरल रेखाबाट सिधा हिँड्न मात्र जानेको हुन्छ। बक्र रेखाको काइते छल हरकत गर्न आउँदैन उनीहरुलाई।

व्यक्तिगत अभिभारा

हामी भू.पु.को व्यक्तिगत कर्तव्य र स्वधर्म हुन्छ। संस्था प्रतिको सम्मान र दायित्व, परिवार समाज र राष्ट्रिय रक्षाको खातिर खन्याउन हामी हमेसा अग्रसर र तत्पर हुनुपर्दछ।

अवकाश, आराम विश्रामलाई पटक्कै होइन, बरु स्वतन्त्र, वृत्ति विकास र उन्नति प्रगतिलाई हो भन्ने आत्मविश्वास र सकरात्मक धारणा अंगालेर हामी अगाडि बढ्नु पर्दछ। जीवनको सुन्दर पाटो अवकाशपछि प्रारम्भ हुन्छ।

बिना सीपको मान्छे फगत् भेडा हो भन्ने सत्यलाई आत्मसात् गरी सैनिक सेवामा विविध सीपहरु लिने र एउटा सीपमा दखल हासिल गर्ने काम गरिसकेको हुनु पर्दछ।
सैनिक सेवामा घर परिवार त्यागेर २४ घण्टे ड्यूटी गरेर कमाएको सानो धनलाई एम्बुस बिछ्याउने र सिध्याउने टाठा बाठा र बिचौलियाका जालछलबाट बच्नु पर्दछ र त्यसलाई उपयुक्त सानो इलम, घरेलु उद्योग, कृषि, व्यापारमा लगानी गर्नु पर्दछ।

६० वर्ष नाघेका वृद्धवृद्धाले साथ र सेवाको आशा गर्नु उनीहरुको हक भएकोले आफ्नो पुरानो थाकथलोमा फर्केर त्यसलाई किसान भई सिंगार्नु, फलाउनु फुलाउनु सर्वाधिक हितकर विकल्प हुन सक्ला। छोराछोरीको शिक्षा दीक्षा र सुविधाको जीवन रोज्न शहरबजार तर्फको बसाँइ सराइको बाध्यता हो भने कुनै इलम र काम रोजेर जीवनयापन र प्रगतिको बाटो समाउनु श्रेयष्कर हुने छ।

वैदेशिक रोजगारको अवसर उपयोग गर्ने भित्री चाहना र जिद्दी छ भने फगत् श्रमिक वा गेटपाले बनेर जानुभन्दा कुनै एक दक्ष शिल्पकार प्राविधिक भएर जानु मनासिब हुने छ। मुलुक राजनीतिक विकृति र विसंगतिले दिशाहीन र दिग्भ्रमित भएको र त्यसको जुइनो वडावडासम्म पुगेकोले हामीले राजनीतिक षड्यन्त्र र जालझेलमा फसेर अमूल्य समय बर्वाद गर्नु हुँदैन।

झन् अहिले राजनीतिलाई दलाल र बिचौलियाहरुले निलिसकेको बदनामी र बेइज्जतिपूर्ण परिदृश्यमा बिचौलियाको पुच्छर वा नाइके बन्ने महसुर गल्ती झुक्किएर पनि गर्नु हुँदैन। राजनीतिक र सामाजिक विकृति र विसंगति निर्मलीकरण र शुद्धिकरण गर्ने कला र हैसियत हाम्रो होइन, तथापि त्यसलाई सुधार गरेर सहीलिगमा ल्याउन माग र योगदान गर्न सकिन्छ।

१९ घण्टा चलायमान रहरे मेसिन जस्तो काम गर्न र परिणाम निकाल्न सक्ने हाम्रो अनुशासन, सदाचार, सहयोग, मिलनसार भाव, उद्धार भाव, प्रकृति–रक्षा भाव, समाजसेवा र परोपकारी भाव हाम्रा हरेक गतिविधि र क्रियाकलापमा प्रतिबिम्ब भएको हुनु पर्दछ।

राष्ट्र विकास र राष्ट्रिय रक्षाको व्यापक सम्भाव्यता बोकेको जनशक्ति संगठित भएर राष्ट्र निर्माणमा जुट्नु हामी भू.पु. सैनिकहरुको परमकर्तव्य र स्वधर्म हो।
अन्त्यमा, जाने श्रीखण्ड भने जस्तै राष्ट्रिय इन्टेलिजेन्सको रुद्राक्षको माला, राष्ट्रिय सुरक्षाको जग, राष्ट्रिय अर्थतन्त्रको रक्षा कवच र पौरखी हात प्रकृति रक्षाको लागि उपयोगी ग्रीनफोर्स र नजानेमा सामाजिक बोझहो भूपु सैनिक शक्ति।

चौतर्फी आक्रमणमा परेर अस्तित्व रक्षाको लागि गुहार मागिरहेकी ममतामयी मातृ भूमिको जोडदार पुकार पनि यही हो कि देश हितमा यी योग्यतम् शक्तिको उचित प्रयोग गरियोस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *