रोजगारी गुमाएका १४ हजारलाई माइतीको खाना

डिसी नेपाल
८ भदौ २०७७ १४:११

नेपालगञ्ज । कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएका बाँकेका १४ हजार नागरिकलाई माइती नेपालले खाना खुवाएको छ । कोरोना महामारीका कारण रोजगारी गुमाएका परिवार र व्यक्तिलाई लक्षित गरि खाना खुवाउने अभियान सञ्चालन गरिएको माइती नेपाल नेपालगञ्जका प्रमुख केशव कोइरालाले जानकारी दिए। उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका जमुनहा, गायत्रीनगर सुकुम्वासी बस्ती, कोहलपुर नगरपालिकाको शम्शेरगञ्ज, अकलघरुवालगायत स्थानका नागरिकलाई खाना खुवाइएको छ।

गत असार १६ गतेदेिख शुरु भएको खाना खुवाउने अभियानअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका–१२ का बेलासपुर, भेरी प्राविधिक शिक्षालय चोक र नयाँबस्ती, वडा नं १३ का घसियारनटोल, मसानघाट र बुलबुलिया, वडा नं १९ को आलानगर र मोहनपुर, वडा नं. २० का गायत्रीनगर तथा वडा नं. ९ का खट्कनपुर्वाका गरिब तथा निमुखा परिवारलाई खाना वितरण गरिएको प्रमुख कोइरालाले जानकारी दिए।

यस्तै नेपालगञ्ज क्वारेन्टिनमा बस्ने तथा नीलसागर वृद्धाश्रममा रहेका असहाय र अशक्त व्यक्तिलाई पनि अभियानमा समेटिएको उनले बताए। कोरोना महामारीका कारण दैनिक ज्यालादारी मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका व्यक्तिलाई थोरै भए पनि राहत प्रदान गर्न खाना खुवाउने अभियान थालिएको उनको भनाइ छ।

विद्यमान असहज परिस्थितिमा महिला तथा बालबालिकालाई पौष्टिकयुक्त खाना खुवाएर उनीहरुको दैनिक जीवनलाई थोरै भए पनि सहयोग पु¥याउने अभियानको प्रमुख उद्देश्य रहेको कोइरालाले बताए। “गाउँपालिका र नगरपालिकासँग समन्वय गरेर वडा कार्यालयको प्रत्यक्ष निगरानीमा आवश्यकताका आधारमा खाना खुवाउने कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, उनले भने, “वडा कार्यालयले उपलब्ध गराउने आधिकारिक तथ्याङ्कअनुसारका मानिस र वास्तविक पीडित परिवारलाई खाना खुवाउने गरिएको छ।”

कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले माइती नेपालले सञ्चालन गरेको खाना खुवाउने अभियान प्रशंसनीय रहेको बताए। काम गरी खाने मजदूरले काम गर्न नपाइरहेको अहिलेको विषम परिस्थितिमा घरघरमै पुगेर तयारी खाना वितरण हुँदा नागरिक खुशी भएको उनको भनाइ छ।

नेपालगञ्ज —२० का वडाध्यक्ष कृष्ण कार्कीले माइती नेपालले गायत्रीनगरस्थित सुकुम्बासी टोलमा पाँच दिनसम्म तयारी खाना खुवाएर उदाहरणीय काम गरेको बताए । कोरोना महामारीका कारण रोजगारी गुमाएका गायत्रीनगरका करीब तीन सय जनालाई पाँच दिनसम्म वडा कार्यालयसँगको समन्वयमा खाना खुवाउँदा स्थानीयवासी हर्षित भएको उनको भनाइ छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *