नेपालमा प्लाज्मा थेरापीबाट गरिएको कोभिड- १९ उपचारको उत्साहजनक नतिजा

डिसी नेपाल
१० भदौ २०७७ ८:३८

काठमाडौं। जुलाइको अन्त्यमा प्लाज्मा थेरापीबाट कोभिड–१९ को उपचार गर्नको लागि प्लाज्माको टन्सफ्युजन गरेको एक नेपाली अस्पतालले अहिलेसम्म यस विधिबाट ५ जना गम्भीर बिरामीको उपचार गरिसकेको छ । ‘ती सबै बिरामीको उपचारको नतिजा राम्रो आएको छ र उनीहरुमध्ये केही पूरै निको भइसकेका छन् र केही निको हुने क्रममा छन्’ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कोभिड १९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले मंगलबार समाचार एजेन्सी सिन्ह्वासँग भने

यो विधिबाट उपचार गरिएका पहिलो बिरामी ६० वर्ष उमेरका पुरुष हुन् । उनी निको भएर घर फर्किसकेको अस्पतालले जनाएको छ । ‘गम्भीर बिरामी भएका बीर अस्पतालका एक डाक्टर समेत सोमबार प्लाज्मा थेरापीबाट गरिएको उपचारबाट निको भएर फर्किएका छन्’ डा. दासले भने । डा. दासका अनुसार तेस्रो बिरामी पनि डिस्चार्ज हुने प्रक्रियामा छन् र उनको दोस्रो टेस्टको नतिजाको प्रतिक्षा भइरहेको छ । ‘यही विधिबाट उपचार गरिएपछि अन्य दुई जनाले पनि स्वास्थ्यलाभ गरिरहेका छन्’ डा. दासले भने ।

प्लाज्मा थेरापी कोभिड १९ उपचारको एक विधि हो जसमा यो भाइरसबाट संक्रमित भएर निको भइसकेका बिरामीको रगतमा पाइने प्लाज्मा नयाँ बिरामीको रगतमा स्थानान्तरण गरिन्छ । यो कोभिड १९ को उपचारको लागि विश्वव्यापी रुपमा स्वीकार गरिएको उपचार विधि भने होइन र कैयौं देशहरुमा यो विधि परीक्षणको रुपमा उपयोग गरिँदैछ । नेपालमा कोभिड १९ संक्रमणका केसहरु बढ्दै जाँदा नेपाल सरकारले १७ वटा अस्पताललाई कोभिड १९ का बिरामीलाई प्लाज्मा थेरापीबाट उपचार गर्न स्वीकृति दिएको छ ।

‘विभिन्न अस्पतालमा दुई दर्जनभन्दा बढी बिरामीहरुको प्लाज्मा थेरापीबाट उपचार गरिएको छ’ नेपालमा स्जास्थ्य अनुसन्धानका विषयमा नीति निर्माण गर्ने सरकारी निकाय नेपाल स्वास्थ्य अनुसन्धान परिषदका प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले मंगलबार सिन्ह्वासँग भने ‘यस विधिबाट उपचार गरिएका कैयौं बिरामीहरु या त उपचारपछि निको भइसकेका छन् र स्वास्थ्यलाभ गरिरहेका छन् । प्लाज्माको ट्रान्सफ्युजनका बावजुद निकै कम बिरामीहरु मात्रै मरेका छन् ।’ डा. धिमालका अनुसार कोभिड १९ को उपचारको लागि प्रयोग गरिएको प्लाज्मा थेरापीको नतिजा उत्साहजनक छ यद्यपि नतिजा शतप्रतिशत सफल भने छैन । ‘हामीले यो विधिबाट धेरै जीवन बचाउन सकेका छौं’ डा. धिमालले भने ।

काउन्सिलले बिरामीको उपचारमा आधारित रहेर प्लाज्मा थेरापीको मुल्यांकन गरिरहेको जनाएको छ । ‘हामीले यो विधिबाट उपचार गरिएका बिरामीको संख्या १०० पुगेपछि एक रिपोर्ट प्रकाशित गर्नेछौं’ डा धिमालले भने । पछिल्लो समय कोभिड १९ का गम्भीर बिरामीको संख्या बढिरहेको छ र भाइरस समुदाय स्तरमा फैलिन थालेको छ । सोमबारसम्म १५३ जना बिरामीलाई आइसीयूमा राखिएको छ र तीमध्ये केहीलाई भेन्टिलेटर सपोर्टमा राखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो महामारीबाट १६० भन्दा धेरैको ज्यान गइसकेको छ र मंगलबारसम्म ३३ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *