जापानमा नेपालीको घोर बेइज्जत, नियम पालना गर्दैनन् भन्दै सैलुनमा नेपालीलाई प्रवेश निषेध !

डिसी नेपाल
१० भदौ २०७७ १२:४३

काठमाडौं । जापानको एउटा शहरको सैलुनले नेपाली ग्राहकहरुलाई प्रतिबन्ध लगाएको छ । नेपालीमै सूचना टाँसेर सैलुनले नेपाली ग्राहकलाई प्रवेश निषेध गरेको हो । अहिले जापानको नेपाली समुदायमा उक्त तस्वीर भाइरल भएको छ । टाँसिएको सूचनामा लेखिएको छ– ‘निषेध प्रविष्टि, नेपालीको निकास, नेपालीहरुले नियम पालना गर्देनन् स्टोरमा कहिल्यै प्रवेश नगर्नुहोस् यहाँ नआउनुहोस् ।’

उक्त तस्वीर बुधवार ड्युटीमा जाँदै गर्दा नेपाली युवती अरुणा तामाङले खिचेकी थिइन् । तस्वीर जापानको इकेबुकुरो नजिकै रहेको एक कपाल काट्ने सैलुनको ढोकामा टाँसिएको अरुणाले डिसी नेपालसँग बताइन् । ‘आज बिहान काममा जाँदै थिएँ । बाटोमा एउटा कपाल काट्ने सैलुनको ढोकामा टाँसेको फोटोले नरमाइलो लाग्यो,’ जापानबाट सम्पर्कमा आएकी अरुणाले डिसी नेपालसँग भनिन्, ‘नराम्रो लागेर फोटो मात्रै लिएकी हुँ । आवश्यक भए भिडियो खिचेर पठाइदिउँला ।’

उनले किन यस्तो लेखियो भन्ने बारे आफूलाई केही थाहा नभएको समेत बताइन् । सैलुन सञ्चालकको बारेमा पनि आफू अनभिज्ञ रहेको उनले बताइन् । ‘मलाइ केही पनि थाहा छैन यसको मान्छे को हो, किन यस्तो लेखेर राख्यो भनेर,’ उनले भनिन् । नेपालीको बारेमा त्यस्तो लेखिएको देख्दा निकै नरमाइलो अनुभव भएको उनले सुनाइन् ।

अहिले अन्यत्र जस्तै जापानमा पनि कोरोना संक्रमणले उग्ररुप लिएको छ । त्यहाँको सरकारले पनि कोरोना नियन्त्रणका लागि विभिन्न कडा नियमहरु जारी गरेको छ । त्यसमा सैलुन क्षेत्र पनि एक हो । जहाँ सैलुन सञ्चालक तथा ग्राहकले तोकिएका निश्चित मापदण्ड अनिवार्य रुपमा पालना गर्नैपर्छ । नेपाली ग्राहकले तोकिएका नियमहरु पालना नगर्दा सैलुनले यस्तो लेख्नुपर्ने बाध्यता परेको हुनसक्ने अनुमान जापानमै बस्ने कतिपय नेपालीले गरेका छन् । जापानमै बस्ने कतिपय नेपालीहरु यो तस्वीर सार्वजानिक भएसँगै दुखित समेत बनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *