बाँकेमा कोरोनाबाट ७० वर्षीया महिलाको मृत्यु

डिसी नेपाल
११ भदौ २०७७ १४:५६

राँझा। बाँकेमा कोरोना सङ्क्रमणबाट आज थप एक ७० वर्षीयाको मृत्यु भएको छ। दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएकी नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ निवासी महिलाको आज बिहान १०ः३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि यही भदौ ३ गते बिहान १० बजे नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जमा ती महिलालाई भर्ना गराइएको थियो। कोरोनाको लक्षण देखिएपछि स्वाब लिएर परीक्षण गर्दा भदौ ५ गते अपराह्न ३ बजे सङ्क्रमण देखिएको थियो।

उपचारकै क्रममा स्वास्थ्य अवस्था बिग्रेिँदै गएपछि भदौ ६ गते राति १० बजे शिक्षण अस्पताल नेपालगञ्जबाट भेन्टिलेटरसहित शिक्षण अस्पताल कोहलपुर सारेर उपचार गर्दागर्दै पनि बिरामीको अवस्थामा सुधार नआएपछि आज बिहान मृत्यु भएको बताइएको छ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले मृतकको घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए। यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुने ६ जना पुगेका छन् ।

यसअघि नरैनापुर गाउँपालिका– ५ निवासी २५ वर्षीय युवक, बैजनाथ गाउँपालिका –६ निवासी ४६ वर्षीया महिला, कोहलपुर नगरपालिका –२ निवासी ७० वर्षीया महिला, नेपालगञ्ज ५ निवासी ६२ वर्षीय पुरुष र नेपालगञ्ज –१ निवासी ३७ वर्षीय युवकको कोरोनाबाट मृत्यु भइसकेको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *