जनताको ज्यानको रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता

डिसी नेपाल
११ भदौ २०७७ २२:०४

जनकपुर । मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको यस सङ्कटका घडीमा जनताको ज्यानको रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । कोरोना महामारीको वर्तमान अवस्था, प्रदेश सरकारले चालेका कदम र आगामी दिनमा प्रदेश सरकारले चाल्नुपर्ने कदमबारे सरोकार पक्षसँग सृुझाव प्राप्त गर्न सर्लाहीको हरिवनमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले जनताको ज्यानको रक्षाबाहेक अन्य सोच्ने बेला अहिले नरहेको स्पष्ट पारे ।

उनले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले पटक पटक जिल्लामा रकमका साथै अन्य स्वास्थ्य उपकरण तथा सामग्री पठाए पनि जिल्लास्थित जिम्मेवार व्यक्तिले सदुपयोग गर्न नसकेको गुनासो गरे । उनले प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय, अस्पताललगायतलाई रकम उपलब्ध गराए पनि खर्च गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको बताए ।

उनले जनअपेक्षानुरुप आठै जिल्लामा पिसिआर टेष्टका लागि प्रक्रिया शुरु भइसकेको जानकारी दिँदै रौतहटमा जडान प्रक्रिया शुरु भइसकेको र बाँकी जिल्लामा १५ दिनभित्र पिसिआर मेशिन सञ्चालनमा आउने बताए । कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साहले स्वास्थ्य सामग्रीको कुनै अभाव हुन नदिइने प्रतिबद्धता व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *