साउदीमा ४ महिनादेखि नेपालीको शव अलपत्र, अझै भेटिएनन् आफन्त

डिसी नेपाल
१२ भदौ २०७७ १४:०२

काठमाडौं । साउदी अरबमा एक नेपालीको शव विगत ४ महिनादेखि अलपत्र परेको छ । गएको १ मेमा रियादमा आत्महत्या गरेका कुमार थापा नाम गरेका एक नेपालीको शव अलपत्र परेको प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) की कार्यक्रम अधिकृत शान्ति सिंहले डिसी नेपाललाई जानकारी दिएकी छिन् ।

उनका अनुसार मृतक थापाको नेपालको ठेगाना तथा परिवारको पहिचान नहुँदा शव अलपत्र अवस्थामा परेको हो । आत्महत्या गरेका थापाको बारेमा रियादको नासिम प्रहरीले दूतावासलाई दुई हप्तापछि मात्रै जानकारी गराएको थियो । ‘गएको १ मेमा आत्महत्या गरेका कुमार थापाको बारेमा त्यहाँको प्रहरीले १४ मेमा नेपाली दूतावासलाई जानकारी गराएको रहेछ,’ कार्यक्रम अधिकृत सिंहले भनिन्, ‘उनको ठेगाना र परिवार खोजी गर्दा पत्ता नलागेपछि हामीलाई केहीदिन अघि दूतावासले जानकारी गराएको हो ।’

प्रहरीले दूतावासलाई गराएको जानकारी अनुसार मृतक थापा त्यहाँ अवैधानिक हैसियतमा थिए । उनको मेसिन रिडेवल नभइ हस्तलिखित राहदानी भएकाले उनको नामबाहेक अन्य कुनै पनि विवरण पत्ता लगाउन नसकिएको दूतावासले जनाएको छ । उक्त हस्तलिखित राहदानीमा उनको पासपोर्ट नम्बर ४००७०४९ लेखिएको बुझिन्छ । पीएनसीसीले उक्त नम्बरको राहदानी बाहकको विवरण बारे जानकारी गराइदिन राहदानी विभागमा अनुरोध गरेको थियो । तर, राहदानी विभागले पनि उक्त नम्बर रहेको राहदानी जारी नभएको जानकारी दिएको सिंहले बताइन् ।

‘पासपोर्ट पुरानो रहेछ । त्यसमा हेन्डराइटिङले लेखिएको छ । नाम बाहेक अरु केही पनि प्रस्टसँग बुझिँदैन,’ सिंहले भनिन्, ‘त्यहाँ लेखिएको पासपोर्ट नम्बरको विवरण पत्ता लगाउन हामीले राहदानी विभागमा अनुरोध गरेका थियौँ । तर, पत्ता लाग्न सकेन ।’

अहिले साउदी प्रहरीले दूतावासलाई बारम्बार आफ्नो नागरिकको शव जिम्मा लिन दवाव दिइरहेको उनको भनाइ छ । तर, नेपालको ठेगाना र परिवारको टुंगो नलाग्दा दूतावासले शव बुझ्न सकिरहेको छैन । मृतकका परिवार तथा आफन्त खोज्न अहिले दूतावासले पीएनसीसीको सहयोग मागेको छ । मृतकको आफन्त खोजी गर्न पीएनसीसी प्रयासरत रहेको सिंहले बताइन् ।

मृतक थापाको परिवारको पहिचान नभएपछि दूतावासको सल्लाहबमोजिम पीएनसीसीले अहिले फोटो सार्वजनिक गरेको छ । परिवार तथा आफन्तको खोजीमा सहयोग पुग्ने अपेक्षाका साथ तस्वीर सार्वजनिक गरिएको पीएनसीसीले जनाएको छ ।

तस्वीरमा रहेका व्यक्ति तथा उनको परिवारको बारेमा केही जानकारी भएमा तुरुन्तै साउदीस्थित नेपाली दूतावासकाे ०५५९३८९६००, ०११४६१११०८ नम्बरमा वा पीएनसीसी ०१५७०६१०२, ९८५११७४९९९ नम्बरमा खबर गर्न समेत कार्यक्रम अधिकृत सिंहले आग्रह गरेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *